बालाराम खड्का
तुलसीपुर, १८ साउन । तुलसीपुर उपमहानगरपालिका–५ की शर्मिला (नाम परिवर्तन)को तीन महिने शिशुले घटघटी बोतलको दूध चुसिरहेको छ । शर्मिलालाई तीन महिने शिशुलाई दुध चुसाउन समय नभएर होइन, दूध नआएर पनि होइन । तर उनी आफ्नो बच्चालाई ल्याक्टोजिन खुवाउँछिन् । महिनामा कम्तीमा २÷३ हजारभन्दा बढी मूल्य ल्याक्टोजिनलाई तिर्नुपरेको छ, शर्मिलालाई । ‘सुरुमा त दूध नै आएन, खुवाउँदा खुवाउँदै बोतलमै बानी पर्यो’, शर्मिलाले छोटोमा जवाफ दिइन् । तर उनको अन्र्तमनमा भने दूध चुसाउँदा शारीरिक सौन्दर्यता बिग्रन्छ भन्ने छ । यो उनका साथीहरुले बताएका छन् ।
घोराहीको एउटा सरकारी कार्यालयमा काम गर्ने नविनाको शिशु ६ महिना पुगेको छ । उनले बच्चा जन्मिएको दुई महिना मात्र उसलाई नियमित स्तनपान गराइन् । सुत्केरी विदा सकिएलगत्तै उनलाई कार्यालय जानुपर्यो । बच्चालाई बोतलकै दूधमा बानी पर्न थालिन् । अहिले उनको शिशुले पनि आमाको दूध चुस्नै छाडेको छ । कारण उसलाई बोतलकै दूधमा बानी परिसकेको छ । शर्मिला र नविना त प्रतिनिधिपात्र मात्रै हुन् । सुन्दर बनिरहने सपना र आधुनिकताको होडबाजीमा आफूलाई आधुनिक भनाउँदा महिलाहरुले स्तनपानलाई महत्वै दिन छाडेका छन् । जसका कारण नवजात शिशुहरुको रोग प्रतिरोधात्मक क्षमतामै प्रत्यक्ष असर पर्न थालेको छ ।
शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । आमासँग पटक–पटक टाँसेर राख्ने गरेमा स्नेहपूर्ण सम्बन्ध हुन्छ । तर सबै आमाहरुले आफ्नो शिशुलाई आमाको दूधभन्दा पनि कृतिम दूध खुवाउने गरेका छन् । जन्मेको आधा घण्टामा स्तनपाल सुरु गर्नुपर्ने भए पनि त्यसमा महिलाहरुले झनै वास्ता नगर्ने गरेको समेत पाइएको छ ।
त्यस्तै विभिन्न कार्यव्यस्तताका कारण होस् वा पछिल्लो समयमा शारीरिक सौन्दर्य बिग्रने डरले शिशुलाई स्तनपान नगराई वैकल्पिक दूध खुवाउने क्रम बढ्दो छ । तर यसरी वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढिरहेको बालरोग विशेषज्ञले बताउँदै आएका छन् । यस बर्ष पनि विश्व स्तनपान सप्ताह सुरु भएको छ । यसवर्ष ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ । हरेक वर्ष अगष्ट १ लाई विश्व स्तनपान दिवसको रुपमा मनाउने गरिन्छ ।
शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा हरेक वर्ष अगष्ट १ तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले आइतवारदेखि एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन् । सुत्केरी हुनेबित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोसिलो र स्वस्थकर हुने बालरोग विशेषज्ञ डा. किशोर खत्री बताउँछन् । ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउन डाक्टरको सुझाव छ । त्यस्तै आमाले बच्चालाई कृतिम दूधको प्र्रयोग गर्न नहुने डा. खत्रीको भनाइ छ ।
‘आमाको दूध नै शिशुलाई अमृत समान हुन्छ, कृत्रिम दूध होइन् आमाकै दूध स्वास्थ्यका लागि फाइदाजनक छ’, डा. खत्रीले भने । उनले विभिन्न कारणले गर्दा पछिल्लो समयमा आमाको दूधको सट्टामा अन्य कृत्रिम दूध दिने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे । डाक्टरका अनुसार शिशुलाई ६ महिनासम्म निरन्तर २ वर्षसम्म आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुने र बच्चा स्वस्थ हुने उनको भनाइ छ ।
त्यस्तै बच्चालाई बिभिन्न रोगबाट बचाउन, बच्चाको शारीरिक र मानसिक विकास राम्ररी गराउन, आमालाई स्तन क्यान्सर हुनबाट बचन र आमाको दूधले बच्चाको दिमागको पूर्ण विकासका साथै आमाको अनावश्यक तौल हुनबाट रोक्न शिशुलाई दूध खुवाउँदा फाइदाजनक हुने विशेषज्ञको सुझाव छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा झण्डै ३५ प्रतिशत शिशुले मात्र पर्याप्त मात्रामा स्तनपान गर्न पाउँछन् ।
विश्व स्वास्थ्य सङ्गठनले दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण आमाले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको रोक तथा नियन्त्रणमा जोड दिएको छ । सरकारले नवजात शिशु, मातृ शिशु स्वास्थ्य, प्रचुर मात्रामा स्तनपानलाई प्रोत्साहन गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुमा प्रतिबन्ध लगाउने कानुन बनाए पनि कार्यान्वयन हुन सकेको छैन ।
पछिल्लो समयमा आधुनिकताको नाममा महिलाहरुले बच्चालाई स्तनपान गराउने दरमा कमी आएको छ । ‘जुन आमाले शिशुलाई दूध खुवाउँछ त्यो आमा धेरै स्मार्ट बन्छ सौन्दर्यता घट्ने होइन’, डा. खत्रीले भने । उनले यस विषयमा सबैले सबैलाई बुझाउनुपर्ने बताए । खत्रीले सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना (अन्न, गेडागुडी, हरिया सागपात, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य खानेकुरा) खानुपर्ने भन्दै केहिले सुत्केरीलाई खराव गर्छ भनेर धेरै कुराहरु मुख बार्ने गरेको बताए ।
‘सुत्केरीले गाह्रो काम गर्नु हुँदैन र धुम्रपान तथा मद्यपान गर्नु हुँदैन अरु खाने कुरा केही बार्नु पर्दैन’, उनले भने । त्यस्तै तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओमपी न्यौपानेले तुलसीपुर क्षेत्रमा करिब ९० प्रतिशत आमाहरुले स्तनपान गराउने गरेको दाबी थियो । उनले पछिल्लो समयमा मातृशिशु मृत्युदर शून्य रहेको दावी गर्दै उपमहानगरपालिकाका विभिन्न स्वास्थ्य केन्द्रमा पोषण र स्तनपानसम्बन्धी सचेतना कार्यक्रमहरु दिँदै आएको बताए ।
उनले यस बर्षको स्तनपान सप्ताहमा विभिन्न सार्वजनिक स्थानहरुमा सचेतनामूलक पोष्टर व्यानरहरु राख्ने कार्यक्रम रहेको बताए । ‘यस बर्ष औपचारिक कुनै कार्यक्रम छैन, तर सचेतना दिने काम भने हुनेछ’, न्यौपानेले भने । त्यस्तै पछिल्लो समयमा धेरैजसो कार्यालयहरुमा स्तनपान कक्षहरु पनि निर्माण गरिएको छ । यसले गर्दा धेरै सेवा लिने र दिन आउने आमाहरुलाई सहज भएको छ ।