कोरोना रियुमर : स्कूलदेखि मेडिकलसम्म मास्कमा कालोबजारी, ह्याण्ड सेनिटाइजरको अभाव
सुलोचना गौतम
दाङ, २३ फागुन । चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका ७३ मुलुकमा फैलिएसँगै नेपालको राजधानीलगायत दाङ जिल्लामा पनि कोरोना भाइरसको संक्रमणको रियुमर फैलिन शुरु गरेको छ । यसले मेडिकल स्टोरहरुमा मेडिकल मास्कमा व्यापक कालोबजारी भएको छ भने संक्रमणबाट जोगिन हातमा लगाउने ह्याण्ड सेनिटाइजरको अभाव देखिएको छ ।
स्कुले विद्यार्थीहरुमा परीक्षा अघि सर्ने निर्णयले त्रासमय बनाएको छ । स्थानीय सरकारहरुले पनि संक्रमण फैलनसक्ने विषयमा सचेत रहन कुनै पनि सभा सम्मेलन नगर्न सबैलाइ निर्देशन दिएका छन् । यद्यपि नेपालमा अहिलेसम्म कोरोना भाइरसका संक्रमितहरु पाइएका छैनन् ।
यससँगै छिमेकी भारत सरकारले पनि ज्वरो कम गर्ने सिटामोललगायत २६ प्रकारका औषधिहरु निर्यातमा रोक लगाएपछि औषधिको समेत अभाव सिर्जना भएको छ । तर मास्कको कालोबजारी र सेनिटाइजरको अभावका विषयमा भने जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समितिलगायतका स्थानीय सरकारहरु गम्भीर देखिएका छैनन् । यद्यपि घोराही उपमहानगरपालिकाको एउटा वडाले भने आफ्ना सबै वडाबासीहरुलाई हालै निःशुल्क मास्क वितरण गरेको छ । कालोबजारी रोक्न स्थानीय प्रशासन क्रियाशील देखिएको छैन । जसका कारण चर्को मूल्यमा मास्क बिक्री भइरहेको छ । अधिकांश मेडिकल स्टोरहरुमा मास्क सर्टेजसमेत भएको छ ।
पचास पिस मास्क भएको एउटा प्याकेटलाई घोराहीको एउटा मेडिकलबाट १ हजार रुपैयाँमा किनें, जुन यसअघि २ सय ५० रुपैयाँमा पाइन्थ्यो’, घोराही उपमहानगरपालिका–१८ का विशाल पोख्रेलले भने । यही प्याकेटलाई अन्य मेडिकलहरुले १ हजार ८ सय रुपैयाँसम्ममा बिक्री वितरण गर्दै आएका छन् । सामान्यतया एक पिस मास्कको खुद्रा मूल्य ५ देखि १० रुपैयाँमात्रै हो । तर अहिले बजारमा यो मास्क प्रतिपिस २० रुपैयाँभन्दा पनि बढी मूल्यमा बिक्री हुन थालेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ का रामकुमार रिजालले पनि तुलसीपुर बजारभरी मास्क खोज्दा पाएनन् । ‘एउटा मेडिकलमा बल्ल–बल्ल ५ पिस पाइयो, प्रतिपिस २० रुपैयाँमा’, रामकुमारले भने । उनीहरुजस्तै धेरै नागरिकहरुको भीड अहिले मेडिकल स्टोरहरुमा लाग्ने गरेको छ ।
कोरोना संक्रमणको हल्लासँगै पूर्व सावधानीका लागि मास्क र ह्याण्ड सेनिटाइजर खरिदकै लागि । कतिपयले त राजधानी काठमाडौंमा रहेका आफन्तलाई पठाइदिन पनि मास्क खरिद गरेको बताएका छन् । मास्कमा कालोबजारी भए पनि ह्याण्ड सेनिटाइजरको भने चरम अभाव देखिन थालेको छ । भारतले औषधि निर्यातमा रोक लगाएसँगै बजारमा अभाव शुरु भइसकेको औषधि व्यवसायीहरुले बताएका छन् ।
औषधि व्यवसायीहरुले पनि दिनप्रतिदिन मास्कको मूल्य बढ्दै गएको बताउँछन् । उतैबाट महंगो भएर आएको उनीहरुको अभिव्यक्ति रहेको छ । ‘एक महिना अघिसम्म पचास पिस मास्कको २ सय ५० मा बेचेकै हो, तर अहिले यहाँ आउँदा नै महंगो भएर आएको छ, त्यसैले पन्ध्र रुपैयाँसम्ममा प्रति पिस बेच्ने गरेका छौं’, नाम उल्लेख नगर्ने शर्तमा तुलसीपुरका एक औषधि व्यवसायीले भने । कोरोना भाइरसको संक्रमण कोभिड–१९ बाट जोगिन दाङ जिल्लामा पनि मास्क लगाउने प्रबृत्ति ह्वात्तै बढेको छ । सरकारी कार्यालयका कर्मचारी हुन् वा बैंकिङ क्षेत्रदेखि विद्यालयका विद्यार्थीहरुसम्म पनि मास्क लगाउन थालेका छन् । जसका कारण जिल्लाका विभिन्न सप्लायर्स स्टोरमा स्टक रहेका मास्कहरु एक साता नबित्दै सकिएको एकजना बिक्रेताले बताए । उनले आफूले भने चर्को मूल्यमा बिक्री नगरेको बताए । तर अब भने आउनै छाडेको उनको अभिव्यक्ति थियो ।
मेडिकल मास्क खासमा छिमेकी चीनबाट आयात हुँदै आएको थियो । चीनमा नै कोरोना भाइरस संक्रमण व्यापक भएपछि मास्कलगायत धेरै उपभोग्य सामग्रीहरु चीनबाट आयात हुन छो डेको छ । यसकै कारण मास्कको आयात पनि रोकिएको हो । मास्क केही मात्र भारतबाट आउने गरेको छ । तर भारतबाट आउने मास्कको मूल्य यसअघि नै भारतमा प्रतिपिस नेपाली २० रुपैयाँ पर्छ । त्यसैले पनि मास्कको अधिकांश बजार चाइनामा निर्भर थियो । औषधि तथा सर्जिकल सप्लायर्सहरुले अब सरकारले यो विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन् । यस्तै अभावको अवस्था रहे केही दिनमै निजी स्वास्थ्य संस्थालगायत सरकारी अस्पतालमा समेत मास्कको चरम अभाव हुने अवस्था देखिएको छ ।
औषधिको अभाव हुँँदैनः प्रजिअ
यसैबीच प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले मास्कको बजारमा अभाव भइसकेको स्वीकारेका छन् । केही व्यापारीले मूल्य बढाउन पनि अभाव भएको हल्ला फिजाउन थालेको पनि हुनसक्ने बताउँदै यसको शूक्ष्म छानबिन भइरहेको बताए । ‘तत्कालै मास्कको अभाव भयो भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन, अत्यावश्यक आपूर्तिका लागि यही नै मास्क सिलाउन पनि शुरु गरिएको मैले बुझेको छु, प्रजिअ रिजालले भने– ‘औषधिको अभाव भने रहेको छैन ।’ औषधिको अभाव हुन नदिन स्थानीय प्रशासन गम्भीर रहेको पनि उनको अभिव्यक्ति थियो ।
