दाङ, १२ साउन । घोराही उपमहानगरपालिकाका सरोकारवालाले कोभिड खोप व्यवस्थित र प्रभावकारी नभएको गुनासो गरेका छन् ।
घोराही उपमहानगरपालिकाको आयोजना तथा ग्रामीण उत्थान केन्द्रको सहयोगमा आर्थिक वर्ष २०७७÷ ०७८ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले दिनभर लाइनमा बस्दासमेत खोप पाउन नसकेको गुनासो गरेका थिए । उनीहरुले अबका दिनमा खोपलाई व्यवस्थित बनाउन सुझावसमेत दिए । कार्यक्रममा बोल्दै घोराही–१५ का बेचन वलीले खोप लगाउँदा अव्यवस्थित भएको बताए । लक्षित समूहको खोप अन्यलाई प्रदान गरिँदा लक्षित समूहले पाउन नसकेको उनको गुनासो थियो ।
‘जुन समूहलाई आएको त्यसैलाई प्रदान गर्नुपर्ने हो । तर त्यसो भएन उनले भने– ‘खोप लगाउन हामी नेताको पछि लाग्नुपर्ने बाध्यतासमेत भयो यो राम्रो काम भएन ।’ नागरिकलाई सहजरुपमा खोप लगाउने व्यवस्था उपमहानगरपालिकाले गर्नुपर्ने उनले बताए ।
‘मान्छे हेरेर नभई प्रक्रियाबाट काम गर्नुपर्दछ’, उनले भने । सबै नगरवासीलाई समान व्यवहार गर्नुपर्ने उनले बताए । टोलले उठाएका विषय पनि उप महानगरपालिकाले सुनुवाई नगरेको बताए । ‘टोल विकास संस्थालाई मान्यता दिएको छ कि छैन दिएको भए टोलले उठाएको कुरा किन सुनिँदैन ?’ उनको प्रश्न थियो । विकास निर्माणका कार्यका लागि समयमा नै बजेट पठाउनुपर्ने उनको भनाइ छ ।
घोराही–१४ का अनिलकुमार विश्वकर्माले खोप पठाउँदा उपमहानगरपालिकाले जनसंख्याको आधारमा खोप पठाउनुपर्ने बताए । धेरै जनसंख्या भएको स्थानमा खोप थोरै पठाउँदा धेरै समस्या हुने उनको भनाइ थियो । उपमहानगरपालिकाले केही दिनअघि कोभिडको खोप कम पठाउँदा शहरी क्षेत्रमा समस्या भएको बताए । घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले खोपको मात्रा थोरै र लगाउन चाहनेहरुको संख्या धेरै हँुदा समस्या भएको बताए ।
आउँदा दिनमा भएका कमजोरीलाई सच्चाएर अगाडि बढ्ने उनले बताए । केही स्थानमा कमजोरी भएको हुनसक्ने उनले बताए । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नै आफूहरु अगाडि बढेको उनले बताए । ‘सबैले आ– आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ । सबैको सहयोग रहेमा व्यवस्थित गर्न सहज हुनेछ’, प्रमुख घर्तीले भने ।
कार्यक्रममा सहभागीहरुले उपमहानगरपालिकाले विकास निर्माणको कार्यलाई समयमा नै अगाडि बढाउनुपर्ने, विकासको दृष्टिले पछाडि पारिएको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, सबै नगरवासीलाई समान व्यवहार गर्नुपर्ने, संघीय सरकार तथा प्रदेश सरकारले गर्ने विकासको काममा पनि स्थानीय सरकारले निगरानी गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले नगर क्षेत्रमा गरिने विकासको काममा उपमहानगरपालिकाले ध्यान दिने बताएका थिए । ‘हामी हाम्रो क्षेत्रमा हुने विकासको बारेमा जानकारी लिन्छौँ’, प्रमुख चौधरीले भने– ‘समस्याका बारेमा जानकारी गराएर सहयोग गर्ने काम तपाईहरुको हो ।’
सहभागीले राखेको जिज्ञासाको जवाफ घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शक्तिराम डाँगी प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, डिई युवराज पौडेलले दिएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिकाले गरेका कार्यका बारेमा सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी गराएका थिए ।
नागरिक प्रतिवेदन केन्द्रका कार्यक्रम संयोजक एचबी थापाले जानकारी गराएका थिए । उप प्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका नवीन चौधरीले गरेका थिए ।