गोरक्ष समाचारदाता
तुलसीपुर, १२ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक गिरीले इतिहास बोकेको दाङको एकमात्रै टरिगाउँ एयरपोर्टलाई नेपालकै ‘ए’ क्लासको डोमेस्टिक एयरपोर्ट बनाउन पहल गर्ने बताएका छन् ।
आइतबार रिपोर्टस् क्लब दाङले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य गिरीले इतिहास बोकेको एयरपोर्टलाई कम्युनिष्ट सरकारले छायाँमा पार्ने खोजेको आरोप लगाए । खै बजेटले एयरपोर्ट र दाङलाई कहाँनेर चित्त बुझ्दो सम्बोधन गरेको छ ?’ उनले प्रश्न गरे– ‘इतिहास बोकेको टरिगाउँ एयरपोर्टलाई देशकै ‘ए’ क्लासको डोमेस्टिक एयरपोर्ट बनाउन पहल गर्नेछु ।’ उनले आफू अहिले पराजित भएको र कुनै दिन आफूलाई नागरिकले म्यान्डेट दिएर माथि पठाए टरिगाउँ एयरपोर्टको विकासको लागि सबैभन्दा पहिला ध्यान दिने बताए ।
रिपोर्टस् क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले आफू पराजित भएको हुँदा संविधानले पनि मन्त्री बन्ने अवस्था नरहेको भन्दै तर पनि कतिपयले दीपक गिरी ६ महिनाका लागि भए पनि मन्त्री बन्छन् भन्ने गरेको बताए । ‘म पराजित मान्छे मन्त्री हुने कुरै आउँदैन,’ उनले भने– ‘यो हल्लामात्रै हो र त्यसमा कुनै सत्यता छैन ।’
त्यस्तै नेता गिरीले तुलसीपुर–घोराही फोरलेन सडक विस्तार कार्यमा तुलसीपुर उपमहानगरपालिकाको साधन स्रोत र सवारी साधनहरु दुरुपयोग भएको भन्दै बिरोध गरे । ‘मैले सुनेको छु, मलाई धेरैले साथीहरुले तुलसीपुरका स्रोतसाधन दुरुपयोग गरेको कुरा गर्नु भएको छ’, गिरीले भने– ‘सडकको काममा नगरपालिकाका गाडी–घोडाको लाइन किन लगाउने ?’ नेपाली कांग्रेसले अहिलै सत्तामा जान कुनै सोच नबनाएको भए पनि कम्युनिष्टको आपसी कलहका कारण देश बर्बाद हुन थालेपछि कांग्रेसलाई समयले सत्तामा पु¥याएको उनले बताए ।
त्यस्तै नेता गिरीले १४औं महाधिवेशन लोकतान्त्रिक विधि–पद्धतिमा शान्तिपूर्ण रुपमा सम्पन्न हुने आशा ब्यक्त गरे । रिपोर्टस् क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य शंकर गिरीले लुम्बिनी प्रदेश सरकार अहिलेको अवैधानिक र अल्पमतमा रहेको बताए । उनले लुम्बिनी सरकारले अब छिट्टै वैधानिक सरकार पाउने विश्वास व्यक्त गर्दै कांग्रेसको पनि प्रदेश सरकारमा सहभागिता रहने बताए ।