राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन

दाङ, ११ साउन । घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा संघीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख बजेटबाट प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना भएसँगै दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लागि समेत अक्सिजन आवश्यकपर्ने भएकाले प्रतिष्ठानले अक्सिजन प्लान्ट स्थापना गरेको प्रतिष्ठानकी उपकुलपति डा.संगीता भण्डारीले जानकारी दिएकी छिन् ।

कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्ने भएकाले पनि प्रतिष्ठानमा दीर्घकालका लागि अक्सिजन प्लान्ट निर्माण गरिएको उपकुलपति भण्डारीले बताइन । ‘प्रतिष्ठानमा अक्सिजन प्लान्ट नहुँदा कोरोनाको दोश्रो लहरका क्रममा धेरै दुःख भोग्नु परेको छ’–उपकुलपति भण्डारीले भनिन्–‘अव प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना भएको छ, यसले जनतालाई धेरै राहत दिनेछ ।’

अस्पतालको पछिल्लो प्रगतिका बारेमा जानकारी लिँदै उपकुलपति भण्डारीले कोरोनाको नयाँ भेरियन्टको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर प्रतिष्ठानले सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याएको जानकारी दिए ।

दाङमा दाङ अक्सिजन उद्योग प्रालि भिङनीले अक्सिजन उत्पादन गर्दै आएको छ । उक्त उद्योगले दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गदै आएको छ । उद्योगले पनि एक सय उत्पादन क्षमता रहेको उद्योगको क्षमताअभिवृद्धको काम भैरहेको उद्योगले जनाएको छ ।

तेस्रो लहरको संक्रमणको उपचारका लागि पूर्व तयारीका लागि २० शैयाको सघन उपचार कक्ष, ५० शैयाको हाई डिपेन्डेन्सी युनिट(एचडीयू) र ३० शैयाको आइसोलेशन गरेर एक सय शैया प्रतिष्ठानमा कोरोना संक्रमितका लागि व्यवस्थापन गरिएको समेत प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै अस्पतालमा बिरामी ओसारपसारका लागि र्याम्प र लिफ्टको निर्माण कार्य चलिरहेको र थप ३ करोड बजेट सुनिश्चित गरेर नया अक्सिजन प्लान्टको निर्माण कार्य पनि सुरु भएको उपकुलपति भण्डारीले बताएकी छिन ।

उनले अस्पतालमा ट्रान्समिटर जडान र फिडरलाइन जोड्नका लागि सम्बन्धित निकायमा पहल गरिदिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई आग्रह गरेकी छिन् । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले प्रतिष्ठानको विकास र विस्तारमा आफ्नो पूर्णरुपमा सहयोग रहने बताएका छन् । उनले जिल्लामा तेश्रो चरणको कोरोना संक्रमणको रोकथामको पूर्वतयारी अनुसार प्रतिष्ठानमा एक सय उत्पादन रहेको अक्सिजन प्लान्ट स्थापना गरिएको बताएका छन् ।