विघटन, पदस्थापन, शीतल निवास र सपथग्रहण

शुभाष न्यौपाने

संसद पुनःस्थानासँगै विघटन भो सरकार
नयाँ सरकार गठन गर्ने अदालतको दरकार
शीतल निवास सपथग्रहण नयाँ खेल खेल्यो
शब्दजालको बुट्टा भर्दै लाज पचाउनुप¥यो

दोस्रोपटक संसद पुनःस्थापना गरेर प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भन्ने परमादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति त गरिन् तर नियुक्तिपश्चात्को सपथग्रहण समारोहले भने त्यति शोभा दिन सकेन, जुन दिन निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथग्रहण गर्दाको रोमान्टिक अवस्था थियो ।

त्यतिमात्र होइन, समय पनि पावन्दीका साथ उपयोग गरिएको पाइएन, जसको कारण सपथग्रहण समारोहका सहभागी हुनको लागि शीतल निवासतिर प्रस्थान गरेको कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवा बीच बाटोमै हराउनुपर्ने अवस्था आयो । यो के राम्रो अवस्था हो त ? मुलुकको सर्वोच्च तथा सम्मानित पदमा आसीन व्यक्तिलाई व्यक्तिगतरुपमा चित्त बुझोस्–नबुझोस् न्यायको आदेश र कानुनसम्मत कार्य गर्दा शिष्ट र मर्यादित हुनैपर्छ । त्यस्ता निकायमा रहेका व्यक्तिको गतिविधि हरेक राष्ट्रमा सन्देशमूलक रहन्छन् ।

प्रधानमन्त्री नियुक्ति गर्दाका बखत सर्वोच्चको आदेशअनुसार नियुक्ति गरिएको भन्ने राष्ट्रपति कार्यालयले शब्द प्रयोग गरेको छ भने विश्वासको मत माग्दा र दिँदाका बखत प्रधानमन्त्री शेरबहादुर देउवा तथा विश्वासको मत प्रदान गर्न सहभागी सांसदहरुले संविधानको धारा ७६ को ५ अनुसार विश्वासको मत प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदान गरेको बताउँछन् । तर राष्ट्रपति कार्यालयले के त्यति कुरा पनि बुझेन त ? सर्वोच्च अदालतको संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा संसद पुनःस्थापनाका साथ प्रधानमन्त्रीमा नियुक्ति गर्नको लागि भन्दै गरिएको परमादेशमा संविधानका कुनै धारालाई सम्बोधन गरेको छैन र ?

शीतल निवासले परमादेशको आधारमा प्रधानमन्त्री नियुक्ति गरिएको बताएको हो ? शब्दावलीमा प्रयोग गरिएको अस्पष्टतामाथि प्रश्न उठ्नु स्वभाविकै हो । सम्बद्ध पक्षले त्यसको जवाफ पनि दिनैपर्छ । चाहे जतिपटक सपथ र विश्वासको मत लिएको भए पनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोटबाट बालुवाटार जाँदा पक्कै पनि जे–जस्ता भए पनि उद्देश्य र आकांक्षा त पक्कै बोकेका थिए, सोही अनुसार उनले आफ्नो कार्यनीति र रणनैतिक चाल पनि चले । कति कुरामा सफल भए, कति कुरामा असफल पनि ।

सर्वोच्चको पछिल्लो परमादेश अनुसार बालुवाटार छोडेर बालकोट पुगेपछि बालकोटको बार्दलीबाट पोखिएका उद्दारहरु त्यही रणनैतिक असफलताको आक्रोश हुन् । जे सुकै होस् आजको दिनमा मुलुकको नेतृत्व गर्न पुनः शेरबहादुरको उदय हुनुको पछाडि अरु जेसुकै कारणहरु भए पनि विशेषगरी नेकपा र नेकपा एमालेभित्रको आन्तरिक किचलो नै हो । नेकपा हुँदै सुरु भएको पार्टीका नेताहरु अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध जसरी प्रचण्ड–नेपाल समूह ओली नीतिको विरुद्धमा उत्रिएपछि अदालतको फैसलाबाट पुनः एमाले र माओवादी केन्द्रको रुपमा फिर्ता भैसक्दा पनि झगडा भने भुसको आगोको रुपमा सल्किरह्यो ।

जसको कारण मुलुकमा राजनैतिक, सामाजिक तथा संवैधानिक परिघटनाहरु भएपछि अर्को रुपमा घट्दै गए । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भैसकेपछि महान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता सम्बध्वज खातीलाई नियुक्ति गरिसकेपछि उनको सपथग्रहणको समारोहमा विशिष्ट अतिथिको रुपमा उपस्थित हुनको लागि सम्माननीय राष्ट्रपतिसमक्ष निमन्त्रणा आइपुगको छैन भन्ने जवाफ राष्ट्रपति कार्यालयको सञ्चार विभागले स्पष्टरुपमा सार्वजनिक गरिसकेको छ । के सर्वोच्चले राष्ट्रपतिलाई निमन्त्रणा नगरेकै हो त ? यसरी कसैले, कसैलाई अपमानित र अमर्यादित गर्ने काम कुनै निकायले गर्नु हुँदैन ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने अवसर नेकपाले नै दिएको हो । महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३९औँ स्मृति दिवसको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः पाँचौपटक मुलुकको राज्यसत्ता सम्हाल्ने सुवर्ण अवसर पाएका छन् । यो अवसरलाई उपयोग गर्न उनले विपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको नीतिलाई अवलम्बन गर्दै देश र जनताको हित हुने गरी काम गरे भने महामानव विश्वेश्वरप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जली प्रकट गरेको ठहर्नेछ ।

यसको निमित्त सरकारले वर्तमानमा कोरोनाको कारण अस्तव्यस्त भएको स्वास्थ्य र जनजीविकाको सन्दर्भमा सरकार अत्यन्त क्रियाशील नागरिक स्वास्थ्यको रक्षामा सरकार अत्यन्त सकारात्मकताको साथ क्रियाशील भएर अगाडि बढेको सन्देश दिनुपर्नेछ । अनिमाित्र जनताको आशा र भरोसाको केन्द्र बन्न सक्नेछ । देउवा नेतृत्वको नेपाल सरकार यसै अवस्थामा नेपाली कांग्रेस आफ्नो चौधौँ महाधिवेशनमा अगाडि बढिरहेको छ, उक्त अवसरमा पनि जनताको स्वास्थ्य, शिक्षा र जनजीविकाको सन्दर्भमा नेपाली कांग्रेसले सन्देशमूलक नीति पारित गर्न सक्यो भने महामानव विपी कोइरालाप्रतिको सच्चा श्रद्धाञ्जली ठहर्न सक्छ ।

अन्यथा विपीको नाममा जनताप्रति गरिएको अपमानले उनीहरुलाई सराप्न सक्छ । सोही अवसरको सन्दर्भमा नेपाली कांग्रेसको चौधौँ महाधिवेशन सम्पन्न हुन गइरहेको छ । यसलाई नेपाली जनताले उच्च श्रद्धा, सम्मान तथा व्यग्रताका साथ नियालिरहेका छन् । यसको आशय हो कि विपी स्मृति दिवसकै अवसर पारेर सम्पन्न हुन लागेको महाधिवेशनले जनतालाई कति र कसरी सम्बोधन गर्छ ? यो महत्वपूर्ण पक्ष हो । उनीहरुको यौटामात्र भनाइ छ, नेपाली कांग्रेसले विपीको इच्छाअनुसार किसान, मजदुरको समस्यालाई सम्बोधन गर्दछ कि गर्दैन ?

शिक्षा, स्वास्थ्यको सन्दर्भमा नागरिकको पक्षमा कस्तो निर्णय गर्छ ? नागरिकको जनजीविकाको सवालमा कस्तो भूमिका खेल्छ ? यी नेपाली कांग्रेसप्रति जनताले तेस्र्याएका अहम् प्रश्नहरु हुन् । संसदमा २ सय ८ मतसहित सत्तारोहणमा पुगेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको हविगति भोग्नुपर्ला त कहिले भन्ने कुरा कहिले पनि सोचेका थिएनन् । शीतल निवास पनि उनको सहयोगीको रुपमा रहेकोले उनले आफ्नो सरकारको नेतृत्वकालमा कुनै पनि अड्चनको बारेमा सोच्ने कुरै भएन ।

त्यसैले पनि ओलीजी आफ्नै सहकर्मी साथीहरुलाई लात हान्दै नेपाली कांग्रेसमाथि आक्रमण गर्न थाले । उनले विपक्षीलाई तह लगाउन साइबर स्याल तथा अरिंगालहरुको समूहलाई छाडा छोडेका थिए । यसरी ओलीजी अधिनायकवादी शैलीमा लोकतान्त्रिक पद्धतिको संवाहकको रुपमा आफूलाई चिनाउन थाले । अरिंगाल र स्यालहरु पनि विनालगाममा आजाद भएर चिथोर्न र टोक्न थाले ।

सरकारको नेतृत्व गरेर बसेको कुनै पनि व्यक्तिले अर्कालाई दोष लगाएर तथानाम गालीगलौजमा उत्रेर सार्वजनिक हुनु भनेको सत्ता सञ्चालकको विक्षिप्तता हो भन्ने बुझ्नलाई कत्ति पनि बेर लाग्दैन । पछिल्लो समयमा आएर ओलीजी भन्दैछन् औँला ठडाएर शेरबहादुर र प्रचण्डलाई चुनौतीका साथ राष्ट्रपतिलाई छोएर हेरमात्र । तर उनको यो अभिव्यक्तिमा त्यतिबेलासम्म दम छ, जतिबेलासम्म शेरबहादुर र प्रचण्डले राष्ट्रपतिका विरुद्धमा दुई तिहाई मत जुटाउन सक्दैनन् ।

उनीहरुलाई राष्ट्रपतिलाई महाअभियोग लगाउने भूत सवार भयो र दुई तिहाई मत पनि जुटाउन सफल भए भने त ओलीजीले औँला ठड्याउँदैमा डराउने, रोकिने हुन्छ र ? सबैले कानुनको राम्रोसँग पालना गर्ने र सबैले सबैको सम्मान गर्ने परिपाटीको विकास गर्ने हो भने कोही पनि अमर्यादित बन्नुपर्दैन । सबै सधै सम्मानित हुने वातावरणको सबैले सिर्जना गरौँ । यदि राष्ट्रपतिमाथि महाअभियोग लगाउने इच्छा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने सांसदहरु र त्योभन्दा बाहेक १ सय अठहत्तर भन्दा माथिको संख्याका सांसदमा भए जसले जे भने पनि त्यो अभियान रोकिँदैन ।

होइन भने त कहिलेकाहीँ आवेगमा आएर पनि त बोल्छन् नि ? ओलीजीले नेता माधव नेपालप्रति गरेको कटाक्षजस्तो । सबै जनाले आ–आफ्नो स्थानबाट मर्यादित गतिविधि सञ्चालन गर्ने कोशिस ग¥यौँ भने हामी सबैजना सधै सम्मानित हुन्छौं । त्यसकारण सबैजनाले नीति र विधिको पालना गर्नुप¥यो न कि विधिलाई मुठ्ठीमा राखेर होइन । सबैजना संवैधानिक नीति र विधिको पालकको रुपमा जनतासामु उपस्थित हुन खोजौँ । त्यसमा पनि नेतृत्व पंक्तिका व्यक्तिहरु नेतृत्वमा रहेकाहरुले विशेषरुपमा नीति र विधिको पालना गर्नुपर्छ ।

नेकपा एमालेका नेताहरुको आपसी खिचातानी र आन्तरिक द्वन्द्वका कारण फेरिएकको राजनैतिक परिवेश, सर्वोच्चको परमादेशबाट नवगठित सरकार, सदनसमा देखिएको अस्थिरता जसले गर्दा मुलुकको सरकार प्रमुख र राष्ट्रप्रमुखबीच स्वउत्पन्न त्रास, रिस र आवेग यी उच्च ओहदामा रहेका व्यक्तिहरुको लागि प्रमुख सत्रु हुन् । जसको कारणले एकले अर्कालाई सोझो आँखाले नहेर्ने अवस्था आएको छ । के यिनीहरु सधैका लागि दुश्मन हुन् ? होइन भने नेतृत्वका निमित्त भएको होडबाजी नेतृत्वमा पुगेपछि अन्त गर, जीवनभर दुश्मन बन्ने कोशिस गर ।

जसका निमित्त तिम्रा सत्कर्महरुको साक्षी त जनता जनार्दन नै छन् नि ? आफ्नो धृष्टता पूरा गर्ने नाममा मनपरि कानुनको व्याख्या गर्ने, मनपरि मन लागेकोलाई नियुक्ति गर्ने, आफ्ना आसेपासेलाई मात्र सेवा–सुविधाले सम्पन्न गर्ने अराजक सोचलाई छोडेर सबैले न्याय र सत्र्कको बाटो अंगालेर अघि बढ्न खोज्यो भने न त ईष्र्या बढ्छ न त द्वैष नै । विघटन र पदस्थापनमा कसैको पनि हार र जितको रुपमा नलिएर सत्य र न्यायका लागि सबैको जित भएको महसुस हामी सबैले गर्ने वातावरण अब सरकारले तयार पार्नुपर्छ ।

सबैले त्यसलाई आत्मसात् गर्न सिक्नु पनिपर्छ । हिजोको तेरो त्यति सिट र मेरो यति सिट भनेर सधैभरि द्वन्द्वको मानसिकतालाई बोकेर बस्ने हो भने नत अन्तर्राष्ट्रमा सम्मान र प्रतिष्ठा पाउन सक्छन् नत जनताबाट विश्वास आर्जन गर्न सक्छन् । उनीहरुलाई हिजोको राष्ट्रप्रमुख र सरकार प्रमुख भनेर आम नागरिकले सम्झने र सम्मान गर्ने वातावरण बनाऊ होइन भने तिम्रा स्याल र कुकुरहरु त तिम्ले खान दिउञ्जेल पछि लाग्ने हुन्, खान नपाए तिमीलाई नै चिथोर्न आउँछन् । देख्यौँ तिम्रा मन्त्री आले र किसान श्रेष्ठ हिजो सांसद अपहरणमा त्यत्रो उपाधि पाएको किसान । त्यस्तै हो भने महेशको पनि भर छैन ।

भीम रावल देख्यौ त केर ? त्यसैले यस्ता स्यालहरुलाई कसैलाई पनि आफ्ना बनाएर हुने भनेको त मीठो खान पाउञ्जेलमात्र हो, महामहिमज्यूहरु । यो चाला हेर्दै जानुस्, पदस्थापन भएकाले पनि ब्यहोर्ने छन् । मन्त्रीमण्डल विस्तार गर्न देऊ । त्यसपछि शेरबहादुरलाई पनि नाकमा पानी हाल्ने समूह उनैसँग छ, त्यसैले कोही पनि सत्ता स्वार्थ र छिनाझप्टीमा लागेर स्याललाई मोटाएर बाघ बन्न पनि सक्दैन । त्यसैले ¥याले, सिंगाने, लोभीपापीहरुलाई बोकेर इमान्दार कार्यकर्ताहरुलाई पाखा लगाउने र स्वाभिमान नेपाली नागरिकको आत्मसम्मानमा ठेस् पुग्ने कार्य कसैले पनि नगर्नु ।

यदि त्यसो भएमा कसैको पनि भलो र सम्मान हुने छैन । जो जसरी पदमा पुगे, पुगे अब त्यो पदअनुरुप आचरण भएन भने उनीहरु स्याल, कुकुरहरुबाट त मान्य होलान् तर नागरिकको तर्फबाट भने सम्मानित हुने छैनन् । अब विघटन र पदस्थापनलाई महाभारत बनाएर भुइँको धुलो उडाएर आफ्नो ज्यूमा धुलो हाल्ने काम कसैले नगर्दा उपयुक्त होला । जसले गर्दा शीतल निवास र सपथग्रहणका घटनाहरु पनि घट्ने छैनन् ।