बिजौरीमा सरसफाई र एम्बुलेन्स कचहरी

  •   
  •  

देवराज भण्डारी

बिजौरी, ३१ असार । बिजौरीमा बुधवार सरसफाई तथा एम्बुलेन्स सञ्चालनका सन्दर्भमा सर्वदलीय÷सर्वपक्षीय कचहरी सम्पन्न भएको छ । बिजौरी उद्योग वाणिज्य संघले आयोजना गरेको सो कचहरीमा तुलसीपुर उपमहानगरपालिकाका १७, १८ र १९ का वडाध्यक्ष तथा उद्योगी व्यवसायी तथा प्रादेशिक आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष समेतको सहभागिता रहेको थियो ।

बिजौरी उवासंघको सभाहलमा आयोजित सर्वपक्षीय कचहरीका सहभागीले बिजौरी क्षेत्रको फोहर व्यवस्थापनमा चुनौती देखिएको भन्दै मानव स्वास्थ्यलाइ प्रत्यक्ष प्रभाव पार्ने फोहर व्यवस्थापनमा अआफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता तथा प्रादेशिक आयुर्वेद अस्पताल विकास समितिका अध्यक्ष कृष्णबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा सातामा तीन पटकसम्म फोहर उठाउने व्यवस्था मिलाउने, बिजौरी क्षेत्रमा भरपर्दो रूपमा एम्बुलेन्स सञ्चालन गर्नुपर्ने र एम्बुलेन्स यही क्षेत्रमा रहनुपर्ने, बिजौरी बजार क्षेत्रमा सार्वजनिक शौचालयको निर्माणमा पहल गर्ने व्यवस्थित बसोबास, फोहरको वैज्ञानिक व्यवस्थापनलगायतका विषयमा पनि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

बिजौरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बालकृष्ण रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थापक उपाध्यक्ष पुष्पा डाँगी, नेकपा एमाले जिल्ला सदस्य शेरबहादुर खड्का, नेकपा एमाले प्रदेश कमिटी सदस्य टोपेन्द्र केसी, नेका १८ सभापति हिमबहादुर डाँगी, नेकपा माओवादी केन्द्र अध्यक्ष दलबहादुर महतारा, तुलसीपुर उपमहानगरपालिका १९ का वडाध्यक्ष रामबहादुर योगी, तुलसीपुर उपमहानगरपालिका १७ का अध्यक्ष थलराज पुरी, १८ का अध्यक्ष माधव वलीलगायतले तुलसीपुरको फोहर व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकासँग आग्रह गर्ने बताएका थिए ।

साथै तुलसीपुर उपमहानगरपालिकाका १६, १७, १८ र १९ वडाका स्थानीयबासीका लागि आवश्यक पर्ने एम्बुलेन्स उपलब्ध गराउन तुलसीपुर उपमहानगरपालिकालाई अनुरोध गर्ने र सञ्चालन बिजौरी उद्योग वाणिज्य संघको मातहतमा हुने पनि छलफलमा प्रतिबद्धता जनाइएको छ । छलफल कार्यक्रमको सहजीकरण महासचिव विदुर गौतमले गरेका थिए ।