कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार उमादेवी वादीलाई

  •   
  •  

सुशील बस्नेत

दाङ,२८ असार । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७७ उमादेवी वादीलाई प्रदान गरिने भएको छ ।

हाल सुदुरपश्चिम प्रदेश सभा सांसद रहेकी वादीले मानव अधिकार÷सामाजिक न्यायका लागि उल्लेखनीय योगदान गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले बादीलाई पुरस्कृत गर्ने निर्णय गरेको समाजका केन्द्रिय सभापति गोबिन्द खनालले जानकारी दिएका छन् । सभापति खनालका अनुसार २०७८ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने छ ।

२०१८ साल फागुन ४ गते जन्मिएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन । सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो ।

विपन्न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम विविसिले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सुचिमा १० आंैै स्थानमा राखेको थियो ।