गोरक्ष समाचारदाता
दाङ, २४ असार । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यकाबाट ग्रामीण तथा सहरी विकास मन्त्रालयले काम शुभाराम्भ गरेको छ । प्रदेशको स्थायी राजधानी स्थापना भएको झण्डै १० महिनापछि स्थायी मुकामबाट काम शुभाराम्भ गरेको हो । प्रदेश सरकार स्थापनाको २ वर्ष ८ महिना २ दिनपछि गत असोज २१ मा लुम्बिने प्रदेशको स्थायी मुकाम दाङको देउखुरीलाई घोषणा गरिएको थियो । स्थायी मुकामबाट काम शुभाराम्भ गर्ने यो पहिलो मन्त्रालय हो ।
बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले भर्चुवल माध्यमबाट मन्त्रालयको शुभाराम्भको घोषणा गरेका हुन् । मन्त्रालयको विधिवत शुभाराम्भ गर्दै मुख्यमन्त्री पोख्रेलले राजधानी कार्यान्वनको लागि महत्वपूर्ण क्षण भएको बताए । ‘यो महत्वपूर्ण क्षण हो । यसले राजधानी कार्यान्वनमा अब विशेष भूमिका खेल्नेछ’ मुख्यमन्त्री पोख्रेलले भने । उनले अब क्रमशः अन्य मन्त्रालयले पनि स्थायी राजधानीबाट काम थाल्ने बताए । ‘स्थायी राजधानीको लागि अब पूर्वाधारको काम हुन्छ’ मुख्यमन्त्री पोख्रेलले भने, ‘आउँदो वर्षदेखि प्रदेशसभाको अधिवेशन पनि स्थायी मुकामै हुन्छ ।’
यसैगरेर आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले यो ऐतिहासिक क्षण भएको भन्दै अब अन्य मन्त्रालयले पनि स्थायी मुकामबाट काम थाल्ने बताए । उनले लुम्बिनी प्रदेश सबै दृष्टिकोणले अन्य प्रदेशभन्दा अब्बल भएको समेत बताए । ‘राजधानी कार्यान्वयनको लागि नयाँ संरचना निर्माणको काम भइराखेको छ । प्रदेशसभाको भवन पनि बन्दैछ’ मन्त्री चौधरीले भने ‘छिट्टै काम सकेर सबै मन्त्रालय अब स्थायी मुकाममा आउनेछन् ।’ ग्रामीण तथा सहरी विकासमन्त्री हरि रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । मन्त्रालयले खानेपानी तथा स्वच्छता, भवन र पर्यटनको क्षेत्रको विकासमा काम गर्नेछ ।
मन्त्रालय अन्तर्गत् ३ वटा महाशाखा रहनेछन् । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा मन्त्रालयका सचिव महेशचन्द्र न्यौपाने मन्त्रालयको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।