गाउँको बिजुली बत्ती

युवराज शर्मा

बिजुली बत्तीको उज्यालोले मनै प्रफुल्ल हुन्छ । मनमा उत्साह र उमंग जाग्छ । यो मानवीय गुण र प्रवृत्ति हो । त्यसैले होला नेपालमा बिजुली बत्ती बाल्ने प्रधानमन्त्री चन्द्रशमशेर राणा थिए । उनले फर्पिङ खोलाको पानीबाट नुवाकोट जिल्लामा बिजुली बत्ती निकालेका थिए । त्यो बत्ती काठमाडौंमा ल्याएर बालेका थिए । त्यस बत्तीको नाम चन्द्रज्योति भन्थे ।

नेपालको पहिलो बिजुलीबत्ती हो । यसलाई मरम्मत, सम्हार, रेखदेख गर्ने कार्यालयलाई बिजुली अड्डा भन्थे । पछि प्राधिकरण भएपछि स.स्थान अन्तर्गत राखियो । पछि विद्युत प्राधिकरण नामाकरण गरियो । यसको महत्व कुलेखानी जलविद्युत उत्पादन भएपछि मेचीदेखि महाकालीसम्म फैलियो । विद्युतको उत्पादन बढेपछि उद्योग, व्यवसाय जस्ता कार्यहरु बढ्दै गएका छन् । राष्ट्रि महत्वको विषय विद्युत उत्पादन बनेको छ । यसले कालीगण्डकी योजना, उपल्लो तामाकोशी, अरुण तेस्रो मस्र्याङ्दी योजनाजस्ता विद्युत उत्पादन योजनाहरुले बिजुली बत्ती दिएका छन् ।

विद्युतमा आत्मनिर्भरको बाटोतर्फ नेपाल जान लागेको देखिन्छ । यदि विद्युतमा आत्मनिर्भर भएर उत्पादित विद्युत बाहिरी मुलुकहरुमा विक्री वितरण गर्न सकेमा राष्ट्रको राजश्व बढ्ने थियो । नागरिक करको भारबाट मुक्त हुने आशा गर्छन् । तर नेपाली राजनीतिलाई हेर्ने हो भने बिना पेदीको लोटा देखिन्छ र नागरिकलाई जिम्मेवार वर्गले देखाएको अवस्था छ । यसले राजनीतिक वृत्तमा धमिलो पानीमा माछा मार्नेहरुको बाहुल्यताले योजनाहरु निर्धारित समयमा ठेकेदारहरुबाट सम्पन्न हुँदैनन् । यसले के देखाउँछ भने राजनीतिज्ञहरुले राज्य सञ्चालन गर्नसकेका छैनन् ।

उनीहरु ठेकेदारहरुबाट परिचालित छन् । भूपरिवेष्ठित देशको अवस्था यस्तै हुन्छ ।
विद्युत प्राधीकरणले ग्रामीण विद्युत प्रशारण लाइन वितरण गरेको छ । साथै उद्योगका लागि उच्च विद्युत प्रवाह लाइन पनि छ । त्यसमध्ये घोराही उपमहानगरपालिका वडा नं. १ अदुवाबारी गाउँमा दुवै किसिमका लाइनहरु छन् । उद्योगको विद्युत लाइन त्यहाँका नागरिकका लागि आकाशको फल आँखा तरी मर बनेको छ । त्यस गाउँमा कुखुरा पालन उद्योग स्थापना भन्दा अगाडि नै बिजुली बत्ती बलेको थियो । उद्योगको स्थापनापछि उक्त गाउँ प्रायः अँध्यारो हुन्छ ।

ट्रान्सफरमरबाट नै लाइन काटिन्छ । नियमित विद्युतको समस्याले गर्दा विद्यार्थीहरुका लागि पढ्ने समस्या छ । खेतीपातीमा किसानहरु सबेरै उठेर काम गर्न समस्या छ । गोरुहरुलाई घसाएर दाना खुवाउन अँध्यारोमा सर्पको डर छ । पैदल हिड्दा पनि सर्पले टोक्ला भन्ने आशंकामा झस्कनु पर्छ । मोवाइल चार्ज नहुँदा कुराकानी, सम्वाद र अराउँदा समस्या बढेको छ । विद्युतका कर्मचारीहरुलाई खेलवाड छ । नागरिक समस्यामा जकडिएका छन् । राजनीतिज्ञहरुलाई निर्वाचनमा भोटको आशामा मात्र नागरिकका घरमा पुग्छन् ।

जनप्रतिनिधि बनेका स्थानीय, प्रदेश र संघीय सरकारका व्यक्तिहरु गाउँलेदेखि टाढा छन् । उनीहरुले सहरबजारका नागरिकको सेवामा आफूहरु जनप्रतिनिधि भएको देखाउँछन् । कसैले पनि अदुवाबारीको विद्युत नियमित बनाउने सन्दर्भमा ध्यान दिएको पाइन्न । अदुवाबारी गाउँको दक्षिणतर्फ पर्ने गाउँ पनि सुर्केडाँगी हो । घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी हुन् भने वडाध्यक्ष राममणि पाण्डे हुन् । यी दुवैबाट गाउँको सडक ग्राभेल गरिदिन गाउँलेहरु वडा कार्यालय पुगे र वडाध्यक्ष राममणि पाण्डेलाई भेटेर ग्राभेल समस्या टार्न भनेका थिए ।

तर असारको आधाआधी पार हुँदासम्म सुनुवाईको काम भएन । सडक हिलाम्मे छ । विद्युत पनि नियमित छैन । यो अवस्थामा कसरी विद्यार्थीको पठनपाठन चल्ने हो ? रेडियोबाट दिइने शिक्षा पनि विद्युत कटौतीले समस्या भोगका छन् । स्थानीय सरकारको अदुवाबारी गाउँमा विद्युत आपूर्ति व्यवस्थित गर्न लगाइदिन माग गर्छन् । विद्युत प्राधिकरण दाङ घोराही शाखाले राजनीतिज्ञहरुको भनाई मात्र सुन्छ । गाउँले किसानहरुका र विद्यार्थीहरुका समस्या सुन्दैन । विद्युतको महत्व देखाउन्न । जनप्रतिनिधिहरु पनि स्वार्थी भएकाले आफ्नो स्वार्थ पूरा गर्न तल्लीन छन् ।

अदुवाबारी गाउँलाई वितरण गर्ने विद्युत अलग लाइन हो । जो ट्रान्सफरमरबाट कटौती गरिन्छ । जहाँ विद्युत ट्रान्सफरमर छ त्यहाँबाट दक्षिणको गाउँलाई मात्र दिइन्छ । उद्योगमा उच्च विद्युत लाइनबाट विद्युत प्रवाह गर्दा बिजुलीको पावर कम भएमा लाइन काट्ने र गाउँलाई अँध्यारो पार्ने नीति हो भने यो गाउँमारा नीति हो । यो नितान्त प्राविधिक विधि भएकोले विद्युत प्राधिकरण घोराही शाखाले यसमा के भएको हो ? हेरेर बुझेर, जाँचेर विधिसम्मत कार्यशैली अपनाएर गाउँमा बत्ती बल्ने व्यवस्था मिलाइदिनु पर्छ ।

गाउँको विकास नभएसम्म देशको विकास हुन्न र सहरबजारहरुमा पनि आपूर्ति घट्छ । खास गरी खाद्य उत्पादन, माछामासुको विक्री व्यवस्था, दुग्ध व्यवसायका डेरी सञ्चालनजस्ता आपूर्तिहरु गाउँबाटै सहरबजार पुग्ने हुन् । विद्युतको अभावमा यी सबै क्षेत्रहरु धेरै प्रभावित भएका छन् । नेपालमा लोडसेडिङ मुक्त गराएर विद्युत प्रवाह नियमित गर्ने व्यक्ति कुलमान घिसिङ हुन् । उनले घाटामा गएको विद्युत प्राधिकरणलाई उठाएको इतिहास छ । उनी विद्युत प्राधिकरणको कार्यकारिणी अध्यक्ष रहँदासम्म विद्युतमा कुनै सिकायत भएन । सबै व्यवस्थित थिए । प्रणाली, नीति र व्यवस्थापनमा समस्या थिएन ।

अहिले ग्रामीण विद्युत वितरण प्रणालीमा नियमितता छैन । नीतिगत कार्यशैली विरोधाभाष राजनीतिमा छ । व्यवस्थापन पक्षलाई हेर्ने हो भने ज्यादै लापरवाही र अनुशासनहीनताको वातावरण बनेको छ । ग्राहकहरुसँग कस्तो प्रकृतिको व्यवहार गर्ने ज्ञान काम गर्नेहरुमा छैन । देश गणतन्त्र भने पनि हैकमवाद हाबी भएको छ । यस्तो वातावरणले गर्दा ग्रामीण विद्युत ठिक तरिकाबाट प्रशारण हुनसकेको छैन । त्यसमध्येको अदुवाबारी गाउँको विद्युत प्रसारण पनि एउटा हो । यस गाउँका बाल, युवा र बृद्धहरुले विद्युतको अवरोधका कारण बिजुली बत्ती झ्याप–झ्याप गएको देख्दा कुलमान घिसिङलाई सम्झन्छन् । उनी नेपालको बिजुली नै बनेका थिए । त्यस्तो व्यक्ति बन्न कठिन छ ।

अदुवाबारी एउटा सानो गाउँ हो । जहाँ मगरहरु धेरै छन् ।बाहुन, क्षत्रीहरुकम छन् । अन्य जनजातिहरुको संख्या न्यून छ । मगर जातिहरुमा पढेका व्यक्ति प्रायः छैनन् । बाहुन, क्षत्रीहरु अधिकांश पढेलेखेका र सरकारी जागिरे पनि छन् । तर बसाइको संख्या न्यून छ । मगरहरुले भारतमा नोकरी गर्छन् र नोकरीमै छोराछोरीहरु अगाडि बढ्न खोज्छन् ।

उनीहरुलाई विद्युत सम्बन्धमा कहाँ भन्ने, के गर्ने ? प्रायः ज्ञान छैन । त्यस कारण यस गाउँको विद्युत समस्या दर्शाउन पछि परेको जनजीवन छ । यसतर्फ विद्युत प्राधिकरणको ध्यान जान्न । जता बलियो उतै ढलियो नीति विद्युत प्राधिकरणमा देखिएको अवस्था छ । त्यसैले अदुवाबारी गाउँमा बिजुलीबत्ती झ्याप–झ्याप बल्छ । निभ्दै बल्दै गर्छ । भन्छन् केटाकेटीहरु – बिजुली बत्ती झ्याप ! झ्याप !! झ्याप !!!