खेमराज रिजाल
दाङ, १६ असार । सरुवा भएर दाङ आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाको फस्ट एक्सन पत्रेखोलाबाट सुरु भएको छ । विभिन्न सञ्चार माध्यमहरुमा समयमा पुल नबनेका कारण भाइरल भएको निर्माणाधीन पत्रेखोला पुल र यातायातको बैकल्पिक व्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारी कुरुङ्वा मंगलवार दिउँसो पत्रेखोला पुगेका हुन् । कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक सकेलगत्तै उनी पत्रेखोला पुलको अनुगमन गर्न पुगे ।
प्रमुख जिल्ला अधिकारी कुरुङबासँगै डिभिजन सडक कार्यालय घोराहीका डिई निरज शाक्य, जिल्ला प्रहरी प्रमुख श्यामप्रसाद काफ्ले, अनुसन्धानका प्रमुख एसपी अर्जुन भण्डारी तथा नेपाली सेनाका अधिकारीको पनि उपस्थिति रहेको थियो । ‘म त विपद् व्यवस्थापन समितिको संयोजकको हैसियतमा आएको हुँ, काम यहाँहरुले गर्ने हो, सायद एक दुई दिनमै यातायात सहज हुन्छ’, प्रमुख जिल्ला अधिकारी कुरुङ्वाले पत्रकारहरुलाई भने ।
उनले चाँडोभन्दा चाँडो यातायात सहज बनाउन विषयगत कार्यालयहरुलाई निर्देशन दिइसकेको बताउँदै आवश्यक परे नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको जनशक्ति प्रयोग गरेर पनि यातायात सहज बनाउने उनको अभिव्यक्ति थियो । विकास निर्माणका काममा ढिलासुस्ती हुनुहुँदैन भन्ने आफ्नो पनि मान्यता रहेको बताउँदै उनले बैकल्पिक डाइभर्सनका लागि ढुक्क हुन पनि आम जिल्लाबासीलाई आग्रह गरे ।
चार दिनभित्र चारपाटे व्लक
प्रमुख जिल्ला अधिकारीसँगै पत्रेखोला आएका डिभिजन सडक कार्यालय घोराहीका डिई निरज शाक्यले अबको चार दिनभित्र पत्रेखोलामा सडक यातायात सहज बनाउने पत्रकारहरुलाई बताएका छन् । निर्माण कम्पनीलाई सक्दो चाँडो टेकोसा हटाउन उनले आग्रह गरे । टेकोसा हटाइ खोलाको पानीलाई पुलमुनि डाइभर्ट गर्ने र पश्चिमपट्टि कच्वेमा परेको खाल्टोलाई चारपाटे व्लकले पुर्ने तथा ढलान गर्ने योजना रहेको पनि सडक प्रमुख शाक्यले बताए । ‘कम्तीमा ३÷४ दिन फोरह्वील गाडीलाई रोकेर भए पनि कच्वे ढलानको काम सम्पन्न गरेर सहज यातायात चल्ने बनाउने छौं’, सडक प्रमुख शाक्यले भने ।
अब घोराही—तुलसीपुर सडकको मर्मत सम्भारको सम्पूर्ण दायित्व चारलेन सडक परियोजनामा गइसकेको छ । तर चारलेन सडक परियोजनाले यसमा कुनै चासो देखाउन थालेको छैन । तर पक्की पुलको एप्रोच सडक भएकाले पत्रेखोला कच्वेसँगै सक्रामखोला पुल, गुर्जेखोला पुल र कुइरेपानी पुल आसपासको सडक पनि मर्मत सम्भार डिभिजन सडकले नै गर्ने पनि उनले अभिव्यक्ति दिए । अन्य स्थानको मर्मत सम्भार भने अब डिभिजन सडक कार्यालयको दायित्व बाहिर गएको बताए ।
सडकका छेउछाउ माटोले पुर्ने कामका लागि सडक विभागमार्फत खटिने श्रमिकहरु पनि अहिले चारलेन सडक परियोजनामा गाभिएका छन् । तर परियोजनाले उनीहरुलाई काम लगाएको अवस्था भने छैन । पत्रेखोलाको कचवे पनि चारलेन सडक परियोजनाको दायित्व भएको भन्दै डिभिजन सडकले काममा विशेष चासो नदेखाएको हो । निर्माण कम्पनीको ठेक्कामा कचवे मर्मतको कुनै हिस्सा समावेश नभएको निर्माण कम्पनीका प्रतिनिधि पदमप्रसाद शर्माले बताएका छन् ।
निर्माण कम्पनी र काम लगाउने सडक कार्यालय दुवैको ढिलासुस्तीका कारण पत्रेखोलामा निर्माण सुरु भएको ६ बर्षसम्म पनि पुल सम्पन्न हुन सकेको छैन । कचवे पनि भत्केर क्षतविक्षत भएको छ । कचवेको पश्चिम किनारामा खाल्डो परेको तीन बर्ष बितिसक्यो । यसबीचमा दुईवटा हिउँदहरु पार भैसके तर कचवे मर्मत सम्भारमा सम्बन्धित कार्यालयले कुनै चासो देखाएको छैन । कचवेलगायत निर्माणाधीन पुलको वल्लो र पल्लो सडकखण्ड पनि क्षतविक्षत भएको छ ।
पुल ढलाइका क्रममा खोलाको सबै पानीलाई एकतृत गर्दा बहाव एकै स्थानमा केन्द्रित भएको छ । जुन खाल्डो परेकै स्थानमा बहाव केन्द्रित हुनेगरी पानी पठाइएको छ ।
सो पक्की पुल निर्माणको ठेक्का शंकर माली जेभीले लिएको थियो । वि.सं. २०७३ सालमा निर्माण सुरु भएको सो पुल निर्माण दुई बर्षमै सम्पन्न गर्नुपर्ने थियो । करिब साढे ३ करोड रुपैयाँमा निर्माण सम्झौता भएको सो पुलका पिल्लर उठाइसकेपछि सडक विभागले पुलको सुपरइस्ट्रक्चर नमिलेको भन्दै पुल निर्माण रोकेको थियो ।
‘हामी पुल निर्माणको काम गर्दागर्दै हामीले बनाएको डिजाइनलाई सडक विभागले स्वीकृत गरेन, अनि आफैले डिजाइन बनाएर पनि दिएन, त्यसैले काममा ढिलाइ भयो’, स्थानीय प्रतिनिधि शर्माले भने । सडक विभागले ५ महिनाअघि मात्र पुलको अन्तिम डिजाइन स्वीकृत गरेर काम सुरु भएको निर्माण कम्पनीले बताएको छ । सुरु गरेको ४ महिना ढलाइको काम भएको र अहिले वायर तान्ने काम भइरहेको कम्पनीले बताएको छ तर भत्केको कचवे र खोलाको वल्लो–पल्लो साइडको मर्मत गर्ने काम सडक विभागको भएको निर्माण कम्पनीले जनाएको छ ।
दुई पिल्लर उठाएर बेवारिसे बनेको पुल निर्माण प्रक्रिया चार बर्षसम्म पनि अन्योलमा रहँदा यहाँका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरु मौन रहे । जब पुल ढलाइको काम सुरु भयो, तब मात्र पुलका विषयमा विभिन्न टिका–टिप्पणीहरु हुन थालेका हुन् । जानकारका अनुसार हालका सडक डिभिजन प्रमुख शाक्यको विशेष पहलमा मात्र सडक विभागमा पेन्डिङमा रहेको पुलको सुपरस्ट्रक्चर डिजाइन स्वीकृत भएको हो ।