दाङ, १५ असार । समयसँगै कृषि व्यवसायमा पनि परिवर्तन हुँदै आइरहेको छ । केही अघिसम्म परम्परागतरुपमा हुँदै आएको कृषि क्षेत्रमा पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै गएको छ ।
गोरुले जोत्ने र मानिसहरुले धान रोपेर हुँदै आएको कृषि व्यवसाय पछिल्लो समय खेत जोत्ने, धान रोप्नेदेखि काट्नेसम्म प्रविधिको प्रयोग हुने थालेको छ । प्रविधिको प्रयोगले कृषि व्यवसायमा सहजता समेत ल्याइदिएको छ । प्रविधिबिना धान खेती गर्न महिनौँ लाग्ने किसानहरुलाई प्रविधिको प्रयोगले एकै दिनमै खेती सक्ने समेत सुविधा ल्याएको छ । प्रविधिकै प्रयोगका कारण कृषि व्यवसायमा सहजता भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्रमणि पौडेलले जानकारी दिएका छन् ।
प्रविधिले कृषिमा सहजतासँगै समयमै खेती हुने भएकाले उत्पादनमा समेत वृद्धि ल्याउन सहयोग पु¥याउने उनले बताए । उनले कृषि व्यवसायबाट मानिसहरु पलायन भइरहेको समयमा बढ्दै गएको प्रविधिको प्रयोगले आकर्षित समेत भएको बताए । ‘अहिले समय बदलिएको छ । कृषि जमिन घट्दो छ ।
कृषिमा आश्रितहरु पनि कम हुँदैं गएका छन्’, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पौडेलले भने– ‘कामदार नपाएर खेत बाँझो रहने अवस्थामा प्रविधिको प्रयोगले एकै व्यक्तिले पनि धेरै खेती गर्न सक्ने भएको छ ।’ उनले किसानलाई प्रविधिमा लैजाने उद्देश्यले नै कार्यालयले पहिलेदेखि नै किसानहरुलाई अनुदानमा जोत्नलाई टे«क्टर, पावरटेलर, धान काट्ने मेसिनसँगै यसबर्ष धान रोप्ने मेसिनसमेत उपलव्ध गराएको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रमअन्तर्गत कार्यालयले देउखुरीको राजपुर गाउँपालिकामा रहेको सूर्योदाय कृषि सहकारी संस्था, लमही नगरपालिकामा रहेको हरितक्रान्ति कृषि सहकारी संस्था र गढवा गाउँपालिकामा रहेको निलकमल कृषि समूहलाई अनुदानमा सहयोग गरेको बताए ।
‘मेसिनबाटै धान रोप्ने हामी जिल्लामा परीक्षणका रुपमा अहिले दुईवटा सहकारी र एउटा कृषि समूहलाई मेसिन उपलव्ध गराएका छौँ’, सूचना अधिकारी पौडेलले भने–‘मेसिनबाटै राजपुर गाउँपालिकाको बेलामा धान रोप्ने काम भइरहेको छ, भोलि लमहीमा हुँदैछ ।’ उनले लकडाउनका कारण देउखुरीको गढवामा रहेको कृषि समूहले ल्याउन ढिलाइ गरेको बताए ।
उनले आगामी बर्ष जिल्लाका अन्य पालिकाहरुमा रहेका सहकारी संस्था वा कृषि समूहलाई समेत दिने बताए । ‘कृषिलाई प्रविधिमैत्री बनाउँदै परम्परागत कृषि प्रणालीको अन्त्य गर्ने उद्देश्य हो’, उनले भने– ‘त्यही अनुसार किसानलाई प्रविधिमा सहयोग गरिरहेका छौँ ।’ पछिल्लो समय जिल्लामा धेरै किसानहरु प्रविधिमैत्री बन्दै गएको समेत बताए ।
कृषि ज्ञान केन्द्रसँगै पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढाउने उद्देश्यले जिल्लाका स्थानीय तहहरुले समेत किसानलाई खेत जोत्नका लागि पावर टेलर टे«क्टर सहयोग गर्दै आएका छन् । जसले गर्दा धेरै किसानहरुलाई सहजता भएको छ । उनका अनुसार दाङमा हाल ३९ हजार ६ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।
त्यसमध्ये हालसम्म करिब ६५ प्रतिशत जमिनमा धान रोपाई सकिएको समेत उनले बताए । ‘अहिले जेठमै राम्रो बर्षात् भएकाले किसानलाई पानीको समस्या भएन । जसले गर्दा देउखुरी क्षेत्रमा धेरै किसानले रोपाइँ सक्नुभएको छ’, उनले भने– ‘दाङ उपत्यकामा भने ढिला व्याड राखेका कारण रोपाइँ अहिले पनि भइरहेको छ ।’ उनले देउखुरीका ८० प्रतिशत किसानले धान रोपाइँ सकेको र दाङतिर ५० प्रतिशत किसानले रोपाइँ सकेको समेत बताए ।