अमरराज आचार्य
दाङ, १५ असार ।
‘रोप न रोप रोपारै रानी म पँज्याई दिउँला बीउ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ
असार मास छिपछिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनी भुरुल्ली काटेँ ओइलायो आलीमा’
हलगोरुले खोक लगाइरहँदा रोपाराहरु खेतमा लडिबडी खेल्ने । ठिगारेले हिलो छ्याप्ने, अनि रोपाइँकै क्रममा यसरी भावनाका भाकाहरुमा बग्ने रोपाइँ महोत्सव अहिले धान दिवसका रुपमा मनाइन थालिएको छ । हलगोरु हराइसकेपछि भाका पनि त हराउने भए नि ! नेपालमा धान रोप्दा गाइने गीतलाई असारे गीत भनिन्छ ।
नेपालमा खासगरी असार महिनामा धान रोप्ने गरिन्छ । रोपाइँका बेला कृषकहरूलाई कामको भ्याइँ–नभ्याइँ हुन्छ । तैपनि रोपाइँमा दिनभर थाकेका बाउसे र रोपारहरू एकअर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाई बिर्सन खोज्छन् । जसले थकाई, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ । खेतका गह्रा, खोला–नाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका खुल्दछ ।
‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला,
बनाइ कुलो लगाइ पानी, आएर गोडौंला’
पहिला–पहिला गाइने यो असारे गीत अचेल सुनिन छाडेका छन् । मानो रोपेर मुरी फलाउने समयका रुपमा लिने यो समयमा गाइने असारे गीत हराउँदै गएको छ । आधुनिकतासँगै हाम्रो अमूल्य संस्कृति हराउँदै जाँदा संस्कृति क्षेत्र नासिँदै गएको यसका जानकारहरु बताउँछन् । पछिल्लो समयमा असारे गीत पनि लोप हुन थालेको छ । धान रोप्ने समयमा गाइने असारे गीत लोप हुँदै गएको हो ।
पछिल्लो समयमा असारे गीत लोप हुन थालेको लोक संस्कृतिविद् डा. गोविन्द आचार्यले बताए । नयाँ पुस्तालाई यसको बारेमा जानकारी नहुँदा पनि लोप हुन थालेको उनको भनाइ रहेको छ । ‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुन थालेको हो’, उनले भने । ग्रामीण क्षेत्रमा अझै पनि यो प्रचलन रहे पनि शहरीकरण हुँदै गएका स्थानमा हराउँदै जान थालेको लोक संस्कृतिविद् आचार्य बताउँछन् । ‘नयाँ पुस्तामा हस्तान्तरण हुन जरुरी रहेको छ’, उनले भने । युवा पुस्तासम्म हस्तान्तरण हुन सकेमा संस्कार–संस्कृति संरक्षण हुनसक्ने उनको भनाइ छ ।
नयाँ पुस्ताले पनि यस प्रकारको संस्कार–संस्कृति सिक्नुपर्ने उनी बताउँछन् । पहिले जसरी खेती गर्ने चलनसमेत हराउँदै गएकाले पनि यसको महत्व घट्दै गएको उनले बताए । ‘पहिले पेशा भनेको कृषि मात्रै थियो अहिले धेरै स्थानमा पेशा भएका छन्’, लोक संस्कृतिविद् आचार्यले भने । ‘गोरु र हलो प्रयोग गरेर जोत्न छाडिसकिएको छ’, उनले भने । प्रविधिको प्रयोग गरेर खेती गर्न थालिएपछि मानिससमेत काम गर्न छाडिसकेका छन् ।