विद्युत डायरी : राइस कुकरको भात…

खेमराज रिजाल
दाङ, १४ असार । ‘सबैभन्दा बढी नालायक सरकारी सेवा छ भने त्यो विद्युत सेवा होला, नो लाइटमा नो रिसिभ, आज पनि भात पाकेन राइस कुकरमा’, समृद्धि राइस कुकरबाट आधा पाकेको चामल भनौँ कि भात प्रेसर कुकरमा खन्याउँदै थिई । एकातिर भात नपाकेको समस्या, अर्कोतिर दुवै कुकर माझ्नुपर्ने समस्या । कतै काँचो थियो भात, कतै गिलो थियो, कतै आधा पाकेको…।

परारसाल किनेको यसुडा कम्पनीको राइस कुकरमा लगातार एक साताभरी भात कहिल्यै पाकेको छैन । ‘पौने घण्टासम्म पनि लगातार बत्ती आएर भात पाकेको मैले अड्कल नै गर्न सकेकी छैन’, समृद्धि गुन्गुनाइरहेकी थिई । मम्मीको फोन नं. उसलाई मोबाइलमा हेर्नुपर्छ तर नो लाइटको फोन नं. कन्ठै छ तर भएर के गर्नु नो लाइटको फोन उड्ने भा पो !’

परारसाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले दाङमै आएर अब नेपालमा विद्युतको समस्या छैन, लोडसेडिङको समस्या टरेको छ, विद्युत खपत कसरी बढाउने भन्ने मात्रै चिन्ता हो भनेपछि समृद्धिकै जोडबलमा एसुडा कम्पनीको राइस कुकर किनेको थिएँ । तर राइस कुकर खुवै टिकेको छ, कारण विद्युतकै अनियमितताका कारण त्यसलाई धेरै प्रयोग गर्नुपरेको छैन । नखाउ ंभने दिनभरीको शिकार, खाऊँ भने कान्छा बावुको अनुहारजस्तै भएको छ, एसुडा प्रेसर कुकर ।

बल्ल–तल्ल जोडेको वाइफाइ चलेन । बत्ती गएपछि माथिल्लो तलामा अनलाइन क्लास लिँदै गरेको छोरा सक्षमले भन्यो– ‘बावा, बत्ती गयो, डाटा चलाउनका लागि पैसा । हो, अनलाइन पनि नियमित भएको छैन । एक महिना भो वाइफाइ जोडेको, तर एक साता पनि दिनभर सेवा पाएको छैन, छोरोले । कारण बत्तीकै । सक्षमजस्ता कतिलाई अक्षम बनाइदिएको होला, विद्युतको अभावमा अनलाइन कक्षा नचलेर ।

विद्युतको अभावमा विद्यार्थी मात्र अनलाइन कक्षाबाट सम्पर्क विहीन हुँदैनन्, पटक–पटक शिक्षकहरु समेत यही समस्याले कक्षा चलाउँदा चलाउँदै सम्पर्कविहीन हुने अवस्था छ । के सरकारले सबैलाई ल्यापटप र फ्रि–डाटा प्याकेज उपलव्ध गराउने हैसियत राख्न सक्छ ? सरकारले अनलाइन कक्षा चलाउनका लागि यो आर्थिक बर्ष पनि थुप्रै बजेट विनियोजन गरेको छ । सामुदायिक विद्यालयमा समेत अनिवार्य रुपमा अनलाइन कक्षा चलाउने सरकारको योजना छ ।

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जोड्ने र कम्प्युटर उपलव्ध गराउने सरकारको योजना छ । करोडौँ रुपैयाँ यसमा विनियोजन गरेर के गर्ने ? विद्युत सेवा अनियमित छ भनेर बत्ती बाल्नेले मात्रै जानकारी पाएको हुन्छ, इन्भर्टर र जेनेरेटरको विकल्पमुनीका सरकारी अधिकारीहरुलाई दूरदराजमा विद्युत कथा कस्तो छ भनेर । विद्युत खपत बढाएर इन्धन खपत घटाउन सके मुलुकको धेरै रुपैयाँ विदेश जानुपर्ने थिएन । व्यापार घाटाको सन्तुलनमा सुधार हुन सक्थ्यो, तर विद्युत सेवाले सरकारको आर्थिक समृद्धिको यो लक्ष्यलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सकेन । कमिशनको चक्करमा लाग्दा तामाको तार भनेर खरिद गरिएका विद्युतका तार आल्मुनियमका हुन्छन्, अनि अख्तियारको कारबाही सुरु…।

अबिरल बर्षात, अनियमित विद्युत, गड्याङगुडुङ, झ्याप्प झ्याप्प, चट्याङ परे पनि झ्याप्प, पोल ढले त दुई दिनसम्मै कुर्नपर्छ बत्तीका लागि । झिगटका हागा काट्नैका लागि दिनभर बत्ती काटिन्छ, । बत्ती कहिले आउँछ भनेर सोध्यो भने कहिल्यै विद्युतका रिसेप्सनिष्टले जिम्मेवारीपूर्वक जवाफ दिँदैनन । वनावटी अर्थात रेकर्डेड जवाफजस्तै, ‘बनेपछि आउछ…’ । कहाँ के समस्या भएर बत्ती गएको हो, कति समयपछि आउँछ भनेर कहिल्यै विद्युत प्राधिकरणले जवाफ दिएको छैन, यो म आफैले अनुभूति गरेको विषय हो । नियमित सेवा कहिले ? योजनाविहीन छ विद्युत कार्यालय ।

नयाँ बोतलमा पुरानै रक्सीजस्तै छ, विद्युत सेवा । जिल्ला विकास समितिको बार्षिक समीक्षा कार्यक्रममा होस् वा जिल्ला समन्वय समितिले आयोजना गरेका बार्षिक समीक्षा कार्यक्रममा बार्षिक कार्यसम्पादन र योजनासहित उपस्थिति नजनाउने विषयगत कार्यालय भनेकै विद्युत कार्यालय हो । तर यसको कारण कहिल्यै खोजिएन । सडकको राइटअफ वेमै विद्युत पोल गाडिन्छन्, टिप्पर र यात्रुवाहक बस पोलमै ठोक्किँदा विद्युत सेवा अवरुद्ध हुन्छ ।

झिंगटको रुखमाथिबाट तानिएका विद्युत तारलाई हरेक बर्ष हागाले छोइदिन्छ, विद्युत सेवा दिनभर अवरुद्ध । बगरको बालुवामा एक मिटर भन्दा पनि कम गहिराइमा गाडिएका विद्युत पोल सिमसिमे झरीले ढलिदिन्छन्, विद्युत सेवा अवरुद्ध, अर्थात बेलगामको कार्यालय, अनुत्तरदायी काम, दण्डको त्यहाँ परिकल्पना नै हुँदैन, त्यसैले विद्युत क्षेत्रमा काम गर्ने ठेकेदारहरु पनि त्यस्तै प्रबृत्तिका ।

जहाँ जसको जग्गा परे पनि भो, जसको घरको छतमाथि हाइटेन्सनको तार पुगे पनि पुगोस्, तर काम सकेर सम्पर्कविहीन भैदिन्छन् विद्युतका ठेकेदार, कार्यालयको सोझो जवाफ हुन्छ, त्यो त ठेकेदारले बिगारेको । यस्तै प्रबृत्तिबीच चलेको विद्युत सेवाबाट सेवाग्राही लाभान्वित हुन नसकेको नागरिक अगुवाहरुको बुझाइ छ । नागरिक समाजका निवर्तमान संयोजक चन्द्रराज पन्त भन्छन्– ‘नियमित विद्युत सेवाका विषयमा अझैसम्म पनि ढुक्क हुने अवस्था रहेन, यो राज्यकै लागि दुर्भाग्यको विषय हो ।’ झ्याप्प बत्ती गयो, लेख्दा–लेख्दै…।