घोराही उपमहानगरको नीति कार्यक्रम  : कोभिडले मृत्यु भएको परिवारलाई ५० हजार र सार्वजनिक ‘गाईमुक्त नगर’

अमरराज आचार्य

दाङ, ७ असार । घोराही उपमहानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७८÷०७९ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नगर क्षेत्रमा स्थायी वसोवास गर्ने कोभिडको कारण मृत्यु भएमा व्यक्तिको परिवारलाई ५० हजार रुपैयाँ दिने नीति ल्याएको छ । घोराही उपमहानगरपालिकाको ९औँ नगर सभामा नीति कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरुलाल चौधरीले यस्तो जानकारी दिएका हुन् । यो सहयोगले परिवारलाई केही भए पनि सहयोग पुग्ने उपमहानगरपालिकाको विश्वास छ ।

उपमहानगरपालिकाले नयाँ योजनाभन्दा पनि पुराना योजनालाई निरन्तरता दिएको छ । उपमहानगरपालिकाले दीर्घकालीन योजनाभन्दा पनि पुराना योजनालाई प्राथमिकता दिएको नगर प्रमुख चौधरीले बताए । नीति कार्यक्रममा कोभिड–१९ संक्रमण तथा नियन्त्रणमा सफलता हासिल गर्न आवश्यक पूर्वाधार, अत्यावश्यक औषधी, स्वास्थ्य उपकरण तथा पर्याप्त जनशक्तिको व्यवस्था गरिने, न्यूनतम सेवा मापदण्ड राष्ट्रिय चिकित्सा मापदण्ड र प्रादेशिक मापदण्डको आधारमा नगरको स्वास्थ्य सेवा मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने, नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउन सुरक्षित सुत्केरी गराउन सुरक्षित सुत्केरी अभियान सञ्चालन गरिनुका साथै सुरक्षित सुत्केरी अभियानलाई प्रोत्साहन गर्न उपप्रमुख खुत्रके बचत कार्यक्रममार्फत प्रसुति अवस्थामा १ हजार उपलब्ध गराउने नीतिमा उल्लेख छ ।

उच्च रक्तचाप, मधुमेह, दम, मृगौला कलेजो र महिलाको पाठेघरसम्बन्धी रोगको रोगको रोकथाम, पहिचान, परीक्षण र उपचारका कार्यक्रमलाई प्रभावकारी बनाइँदै लगिने, फोक्सोको दीर्घ रोगीहरुलाई सुघने औषधी निःशुल्क वितरण गरिने, महामारी रोग तथा विपद् व्यवस्थापनको पूर्व तयारी टिपलाई थप सशक्त बनाइने, जनजात बिकलाग न्यूनीकरण गर्न नगर क्षेत्रमा बसोवास गर्ने गर्भवती आमाहरुलाई नियमित निःशुल्क भिडियो एक्सरे गर्ने व्यवस्था गरिने, सुत्केरी पश्चात पहिलो हप्तामा स्वास्थ्यकर्मीसहित सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य अवस्था परिक्षण गर्न पोषण कोसेली सहितको भेटघाट कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा राखिएको छ ।

कृषकहरुलाई समयमै मूल बीउ उपलब्ध गराउने व्यवस्था मिलाइने, कृषि विमा, प्राङ्गारिक खेतीलाइ प्रोत्साहन गरिने, कृषि प्रविधिको विकास प्रसार तथा उपयोगबाट कृषि उत्पादन एवं उत्पादकत्व बढाइने, कृषिको व्यावसायिकीकरणमा जोड दिई आयआर्जन तथा रोजगारीका अवसरहरु सिर्जना गरिने, बैज्ञानिक भूउपयोगी प्रणालीको उपयोग गरी उर्वरा कृषि भूमिलाई गैर कृषि प्रयोगमा ल्याउन निरुत्साहित गरिने, पहाडमा भिरालो जमिन व्यवस्थापनको उपयुक्त प्रविधि र समतर उपत्यकामा कृषि भूमि विकासको उपयुक्त प्रविधि प्रयोग गरी बैज्ञानिक प्रयोगलाई प्रोत्साहन गरिने, कृषिमा महिलाको सहभागिता अभिबृद्धि गर्न घुम्ती तालिमको प्रवन्ध मिलाई गाउँघरको नजिक तालिमको व्यवस्था गरिने नीति कार्यक्रममा राखिएको छ ।

वन तथा प्रयोगमा नआएका सार्वजनिक जमिनलाई लक्षित समुदायमा स्थायी रुख विरुवा हुने खालका नगदेबाली एवं फलफूल बगैचा विकामा उपयोग गराइ वन अन्य जमिनको हैसियत सुधारका साथै गरिबी न्यूनीकरण गरिने, सरकारको मध्यस्थतामा खेती गर्न चाहने कृषि उद्यमी तथा विदेशबाट फर्केका युवा युवतीहरुलाई मध्यनजर गरी भूमि बैंक स्थापनामार्फत करार खेती गर्न जग्गा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाई कार्यान्वयनमा ल्याउने, प्रत्येक वडाको सम्भाव्यता अध्येताको आधारमा पकेट क्षेत्रको पहिचान गरी कृषिलाई एकीकृत रुपमा सेवा सुविधा उपलब्ध गराइने, नगरभित्रका उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने व्यवस्था गरिने भएको छ ।

सामुदायिक गाईहरुवाट सडक दुर्घटना बढ्ने र कृषकको नगदे बाली नष्ट भइरहेको अवस्थामा यस्ता गाईहरुको समुदायसँग सहकार्य गरी उचित संरक्षण गरिने, यसका लागि सोही स्थानमा ट्यागिंग र सडकमा आएका गाईहरुलाई उचित स्थानमा व्यवस्थापन गरी सार्वजनिक ‘गाई मुक्त नगर’ घोषणा गरिने कार्यक्रम छ । घोराहीमा आउँदो वर्षदेखि थारु भाषाको पाठ्यक्रम ऐच्छिक विषयको रुपमा पठन–पाठनको व्यवस्था मिलाइने, प्रारम्भिक कक्षामा पढाइ सीप विकास कार्यक्रम र मातृभाषामा शिक्षण अंग्रेजी माध्यमबाट सिकाइ कार्यक्रम सञ्चालन गरिने, माध्यमिक शिक्षामा पहुँच तथा टिकाइदर बढाउन कार्यक्रम ल्याइने, संघीय सरकारको सहकार्यमा प्रत्येक माध्यमिक विद्यालयमा एकएक जना स्वास्थ्यकर्मीको दरबन्दी मिलान गरी उपलब्ध गराइने उपमहानगरपालिकाको नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

पूर्वाधार विकासमा सार्वजनिक निजी र सहकारी ढाँचामा अगाडि बढिने, नगरको मुख्य बजार क्षेत्रमा बढ्दै गएको ध्वनि, वायु, प्रदूषण कम गर्न, सडक दुर्घटना न्यूनीकरण तथा यात्रु आवागमनलाई व्यवस्थित गर्न ठूला सवारीका साधनहरुलाई आवागमनका लागि बैकल्पिक मार्गको सम्भाव्यता अध्ययन गरिने, संघीय सरकारको समेत सहकार्यमा औद्योगिक ग्राम तथा औद्योगिक क्षेत्र स्थापनाको लागि कार्य अगाडि बढाइने, उपमहानगरको केन्द्रबाट वडा केन्द्रलाई जोड्ने एक एक सडक छनोट गरी कालोपत्रे गरिने, कृतिम जलाशयलाई बहुउद्देश्यगत क्षेत्रमा प्रयोग गरी रोजगारीको सृजनामार्फत आन्तरिक आयको अभिबृद्धि गरिने, संघीय सरकारको सहयोगमा घोराही–१० नारायणपुरमा निर्माण हुने आन्तरिक विमानस्थल निर्माण कार्यमा आवश्यक समन्वय गरिने, घोराही–१७ मा रहेको क्रिक्रेट मैदानलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाइने, उपमहानगरपालिकाभित्र बन्ने नयाँ घरहरु नक्सापास गरेर मात्र बनाउने नीतिलाई कडाइका साथ लागू गरिने, घर नक्सापास घर निर्माण बनाउने घरधनीलाई उपमहानगरपालिकाबाट उपलब्ध गराउने सबै खालका सिफारिसहरु रोक लगाइने उपमहानगरपालिकाले ल्याएको नीति कार्यक्रममा राखिएको छ ।

उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, पर्यटन, सञ्चार, सुशासन, राजश्वलगायतका विषयहरु समेटिएर नीति कार्यक्रम ल्याएको छ ।