गोरक्ष समाचारदाता
दाङ, ६ असार । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले आर्थिक विकासको लागि लगानी मैत्री बातावरण आवश्यक भएको बताएका छन् । उनले लगानी गरेर उत्पादन बढाएर आर्थिक विकास गर्नसकिने बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले जुममार्फत् गरेको लुम्बिनी प्रदेश स्तरी आर्थिक पत्रकारितासम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
लगानीमैत्री वातावरण निर्माण लुम्बिनी सरकारले बनाएको मन्त्री चौधरीले दाबी समेत गरे । ‘हामीले प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गरेका छौँ’ मन्त्री चौधरीले भने ‘प्रदेश सरकारले प्रदेशमा १ अर्बभन्दा बढी लगानी गर्नेलाई उद्योगसम्म बाटो तथा विद्युत पु¥याइदिने योजना ल्याएका छौँ ।’ उनले यस प्रकारको नीति ल्याएपछि लगानी गर्नका लागि धेरैले लगानी गर्न इच्छुक भएर आएको समेत बताए । उत्पादन भएका वस्तु वाह्य बजारमा पु¥याउन समेत सहज रहेको मन्त्री चौधरीले बताए ।
प्रदेशमा लगानी भित्राउन छिट्टै नै लगानी सम्मेलनको आयोजना गरिने बताए । चालु आर्थिक वर्षमा लगानी सम्मेलन गरिने भनिए पनि कोभिड–१९ को कारण लगानी गर्न नसकिएको मन्त्री चौधरीले बताए । आर्थिक विकासका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । ‘निजी क्षेत्रको लगानी विकास आर्थिक विकास सम्भावना हुँदैन’ मन्त्री चौधरीले भने ‘लगानी आकर्षण गरेर रोजगार सिर्जना गर्न प्रदेश सरकारले काम थालेको छ । यसले बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्न सहयोग पु¥याउने र आर्थिक विकास गर्न सहयोग मिल्नेछ ।’
प्रदेश सरकार आत्म निर्भर बन्नका लागि प्रदेश सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र सहकार्य गरेर अगाडि बढ्ने उनी बताउँछन् । प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएर बढेको उनले बताए । ‘युवाहरुलाई कृषिमा जोड र बेरोजगारलाई स्वरोजगार बनाउन सकिनेछ’–मन्त्री चौधरीले भने । कृषिमा उत्पादनमा आधारित अनुदान प्रदान गरिने र अनुदान दुरुप्रयोग हुन नदिनका लागि प्रदेश सरकारले ध्यान दिएको समेत मन्त्री चौधरीले बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा विशिष्टीकरणको हुन आवश्यक रहेको बताए । यस प्रकारका तालिमले विशिष्टीकरण गर्न सहयोग पुग्ने अध्यक्ष पोख्रेलले बताए । आफूले विज्ञता हालिस गरेमा पोलिसी निर्माणमा सहयोग गर्नसकिने र विकासमा सहयोग पु¥याउने उनले बताए । अहिले पनि मोफसलमा बिट पत्रकारिता हुन नसकेको भन्दै विषय पत्रकारिता आवश्यक रहेको अध्यक्ष पोख्रेलले बताए ।
पत्रकारिताको माध्यमबाट नागरिकलाई सचेत बनाउन लाग्नुपर्ने उनको भनाइ रहेको छ । जिल्लामा औद्योगिक विकासको लागि सम्भावना रहे पनि कार्यान्वयन हुन नसकेको बताए । पत्रकारिताको माध्यमबाट लगानीमैत्री वातावरण निर्माण भूमिका खेल्न सक्नुपर्ने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले आर्थिक विकासका लागि सञ्चार माध्यमले भूमिका खेल्ने बताए । सञ्चार माध्यमहरुले नेपाली उद्यमशीलताको विकासमा सहयोग गर्नुपर्ने उनको भनाइ छ । निजी क्षेत्र र सञ्चार माध्यमहरु भिन्न नभई एक भएर अगाडि बढ्नुपर्ने बताए ।
‘नेपाली उत्पादनलाई बजारी करणमा सञ्चारमाध्यमले ठूलो सहयोग गर्ने गरेका छन्’ अध्यक्ष शर्माले भने ‘निजी क्षेत्र सञ्चार माध्यमसँग पहिलेदेखि नै सहकार्य गरेर अगाडि बढेको र आउँदा दिनमा पनि सहकार्य हुँदै जानेछ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष भीम गौतमको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको सहजीकरण सेजनका महासचिव सुजन ओलीले गरेका थिए । तालिममा अर्थतन्त्र र वित्तीय संघीयता विषयमा कृष्ण आचार्य, बैंक वित्तीय, शेयर, बिमा विषयमा शिव सत्याल, पूर्वाधार, लगानी, ढाँचा र सार्वजनिक खरिदका बारेमा सुदील पोखरेल, उद्योग वाणिज्य, निजी लगानी र उपभोक्ता संरक्षणका विषयमा दिवाकर पन्त, आर्थिक पत्रकारिता र आचारसंहिताका विषयमा हरि लामिछानेले सहजीकरण गरेका थिए । तालिममा लुम्बिनी प्रदेशका पत्रकारहरुको सहभागिता थियो ।