लकडाउनले देखाएको बाटो

युवराज शर्मा
कोभिड–१९ ले नेपालीलाई धरै सतायो । धेरै नागरिकले अक्सिन ग्यासको अभावमा मृत्युवरण गरे । एकै दिनमा देशभर २ सय ३९ जनाको ज्यान गएको समाचार बाहिरियो । डाक्टरहरु पनि आत्तिएका थिए । उनीहरुले भन्थे – अक्सिजन ग्यासको अभावमा कोरोनाका बिरामीहरुको उपचार कसरी गर्ने ? नेपालमा अक्सिजन रिफिलिङ सेण्टर अस्पतालहरुमा थिएन । प्राइभेट संस्थाहरुबाट ल्याउनुपर्ने थियो । नागरिकको पहुँच भएन ।

सरकार उदासीन बन्यो । राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री पदको कुर्सीका लागि अन्तरकलह, सभा, जुलुस र छलफलमा व्यस्त थिए । उनीहरुले कोरोना रोगभन्दा ठूलो समस्या कुर्सीलाई ठानेका थिए । नागरिकलाई सरकार र दलीय व्यवस्थाको लोकतन्त्रात्मक गणतन्त्र देशमा भएको अनुभूति भएन । तीन तहका सरकार भए पनि स्थानीय सरकारका जनप्रतिनिधिहरु गुट र उपगुटमा विभाजित थिए । उनीहरुले नागरिकको जनप्रतिनिधि हौँ हामीहरु भन्ने आत्मज्ञान गर्न सकेका थिएनन् । त्यसैले होला पीडितहरुलाई हेरका थिएनन् ।

प्रदेश सरकारमा भएका जनप्रतिनिधिहरु पनि गुट र उपगुटमा थिए । उनीहरु पनि सरकार ढाल्ने खेलमा थिए । संघीय सरकारका मन्त्रीहरु पनि अधिकारविहीन जस्ता देखिएका थिए । जब पत्रपत्रिकाहरुमा छ्यापछ्याप्ती समस्या कोरोना रोगको फैलावट बाहिरियो तब मात्र संघीय सरकारले विभिन्न राष्ट्रहरुलाई सहयोगको माग गरेको थियो । अन्त्यमा नेपाल माग्ने देशमा गनियो ।

नेपालमा राजनीतिक परिवर्तन भए पनि नागरिकको जीवनचर्यामा कुनै परिवर्तन भएको छैन । कोरोना भाइरसको फैलावट र त्यसबाट नागरिकले भोगेका समस्याहरु बाहिरिएपछि मात्र नेताहरुले ज्ञान गर्न अग्रसर भएको पाइयो । यसबाट के देखियो भने नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्र धेरै कमजोर छ । वर्तमान समयका बालबालिकामा चेतनाको स्तर कमजोर बनेको छ । उनीहरुको स्वास्थ्य पनि कमजोर छ । यसको समाधानतर्फ सरकारी ध्यान गएको पाइन्न ।

नयाँ भेरियन्टको कोरोना भाइरसको प्रभाव बालबालिकामा पर्ने संकेत स्वास्थ्यकर्मीहरुको भनाई छ । तर स्वास्थ्य मन्त्रालयको ध्यान यसतर्फ मोडिएको पाइन्न । जब प¥यो राती तब बूढी ताती भन्ने उदाहरण बनेको छ – सरकारका जिम्मेवार पदाधिकारीहरु । राजनीतिक दलका नेता र कार्यकर्ताहरु सत्ताको प्रधानमन्त्री बदल्ने खेलमा रमाइरहेका छन् । भीडभाड गराएर स्वास्थ्य मन्त्रालयको निर्देशन पालन नगरेर नागरिकले कोरोना भाइरस बाउने गरे । सरकारका जनप्रतिनिधिहरुले पनि कोरोनाबाट बच्ने उपायहरु अपनाएनन् ।

सभा, जुलुस, उद्घाटन, भ्रमण र छलफलजस्ता कार्यक्रम गरेर मानिसहरुको जमघट बढाए । यस्तै कारणले गर्दा निर्मुल नभएको कोरोना भाइरस नागरिकमा फैलियो । यसलाई रोकथामका उपायहरुमध्ये लकडाउन अथवा निषेधाज्ञा नै प्रयोगमा ल्याउने साधन थियो । त्यसैलाई स्थानीय प्रशासनले लागू गरेको थियो तर यसलाई पालना नगर्नेहरु जनप्रतिनिधि नै धेरै संख्यामा छन् ।

देशमा छाडापन, अनुशासनहीन व्यवहार र आफूलाई अहंकारी भावना गाउँघरमा देखाउनेहरु जनप्रतिनिधि भएका व्यक्तिहरु नै छन् । उनीहरुले मास्क लगाउँदैनन्, भीडभाड गराउँछन् र बैठक भन्दै मानिसहरुलाई भेला गराउँछन् । नागरिकहरुलाई कोरोनाको रोग सम्बन्धमा ज्ञान पनि गराउँदैनन । कोरोना रोगलाई फैलाउने काम मात्र गरे ।

नेपाल र भारतको सीमारेखाहरु पूर्व–पश्चिम र दक्षिण भारतसँग जोडिएको छ । सीमाहर खुला छन् । आउजाउ गर्न मानिसलाई खुला छ । दुवै देशमा नागरिक आउजाउ गरेर व्यापार व्यवसाय गर्दै आएका छन् । भारतमा कोभिड–१९ बढ्दै गएपछि व्यापार, व्यवसाय, नोकरी समेतबाट हात धुनुप¥यो र धेरै नेपाली नेपाल फर्के । कतिपय कोरोना भाइरसका बिरामीहरु पनि थिए । उनीहरुको स्वास्थ्य परीक्षण नेपाल सरकारले गरेन । उनीहरु गाउँघरमा पुगे । भेटघाट, ढोगभेट पनि गरे । यसबाट कोरोना गाउँघरमा फैलियो । अझै पनि फैलिरहेको छ ।

सरकारको ध्यान गाउँतर्फ गएको छैन । सहरबजार केन्द्रित मात्र छ । गाउँ अहिले सरकारबाट उपेक्षित छ । उनीहरुलाई लकडाउन र निषेधाज्ञाले एउटै बाटो देखाएको छ कि नेपाली माटोमा उब्जेको अनाज खाद्यवस्तुका रुपमा प्रयोग गरियो भने झट्ट कोरोना लाग्दैन । तर कृषि व्यवसायमा सरकारी सुविधा साधारण किसानहरुलाई छैन । सरकारी पहुँच त्यस्ता किसानहरुको हुन्न । खेतीपातीका समयमा मल–बिउ पैसा तिर्दा पनि पाउँदैनन् । उनीहरुको जीवनचर्यामा सरकारविहीन छ । सामान्य उपचार पनि घरेलु वन औषधीमा निर्भर छन् ।

कोरोना भाइरसलाई त्यस्ता औषधीहरुका जडिबुटी प्रयोगबाट कोरोना हटाएका छन् । उनीहरु खाद्यमा आत्मनिर्भर हुनसकेका छैनन् । उनीहरु भन्छन्– कोरोना भाइरस बढ्नुमा भीडभाड र मानिसहरुको जमघट नै आधार हो । मानिसहरु इमानदार, मितव्ययी, विश्वासी बन्नुपर्छ । त्यस्तालाई कोरोना भाइरसले हुँदैन भन्ने बाटो देखाएको छ ।
कोरोनाको दोस्रो लहर नेपालमा बढ्यो । लकडाउन र निषेधाज्ञाले नियन्त्रण भएको होइन तर बढ्न सकेको छैन । लकडाउनले नागरिकलाई देखाएको बाटो एउटै हो – नेपाली वनजंगलमा भएका जडिबुटीले कोरोना भाइरसबाट बच्न सकिने बलियो आधार छ भनेर गाउँलेहरुले बुझेका छन् । आयुर्वेद शिक्षालाई अनुसन्धानात्मक विधि प्रयोग गरियो भने कोरोना भाइरसको अचुक औषधी बन्नसक्ने आशा गाउँलेहरुको छ ।

यस सम्बन्धमा स्थानीय, प्रदेश र संघीय सकारले शिक्षा र स्वास्थ्यमा सुधार गर्नुपर्छ । अन्यथा कोरोना भाइरस पनि नेपालबाट हट्ने छैन । नयाँ–नयाँ रुपहरु देखाउनेछ भन्छन्– कोरोना विशेषज्ञहरु । लकडाउनले देखाएको बाटो जडिबुटीमा आत्मनिर्भर बन, खेतीपातीमा आत्मनिर्भर बन्नु पर्छ । आफ्नो व्यवसायलाई आदर्श बनाउनु पर्छ । देशको अवस्था अनुसार आफूलाई सम्यमित बनाउ । सादा जीवन स्वच्छ भावना बनाउने र आफूलाई शान्त, सहनशील, धैर्यवान् बनाउनु नै कोरोनाबाट बच्ने उपायहरु हुन् ।

लकडाउनले नागरिकलाई मास्क लगाउनुपर्ने, साबुनपानीले हात धुनुपर्ने ज्ञान गराएको छ । एकआपसमा फरक पार्नुपर्ने गरी बस्नुपर्ने, भीडभाड गर्न नहुने भन्ने ज्ञान सिकिसकेका थिए । अबको समयमा शान्त हुनुपर्ने र सन्तोष मनमा हुनुपर्छ भन्ने ज्ञान लकडाउनले सबै नागरिकलाई बाटो देखाएको छ । त्यसकारण राजनीतिक, पारिवारिक, सामाजिक भावनाले कटुतापूर्ण व्यवहार गर्नु हुन्न । मानिसहरुले सजगता अपनाउनु पर्छ । राजनीतिज्ञहरुले पनि शान्तिको वातावरण बनाउनु पर्छ ।

शिक्षा र स्वास्थ्यको विकास गर्न सरकारलाई बाटो देखाएको छ । लकडाउन र निषेधाज्ञाले सदैव कोरोना नियन्त्रणका उपायहरु बन्नसक्ने अवस्था छैन । नागरिकलाइृ भोकले धेरै सताइरहेको वातावरण छ । समयमा ध्यान पुग्नुपर्छ । अन्यथा कोरोनाको प्रभाव बढ्ने छ । स्थानीय प्रशासन र प्रहरीहरुको मात्र प्रयासले नागरिकलाई बाटो देखाउन सक्दैनन् । जबसम्म जनप्रतिनिधिहरु सक्रय बन्दैनन् तबसम्म कोरोना नियन्त्रणका प्रयासहरु व्यर्थ हुने छ । यसतर्फ सबै तहका सरकारमा भएका जनप्रतिनिधिहरु क्रियाशील बन्नुपर्छ । स्वास्थ्यको मापदण्डहरु पालन गर्ने र गराउने दायित्व वहन गर्नुपर्छ ।