समयलाई चिनौँ, विवेकी बनौँ

नारायणप्रसाद श्रेष्ठ
जीवन समयको गतिसँगै बगिरहने माया, मोह र आशक्तिभित्र लुकेको कहानी रहेछ । जो प्रेम र असीमित चाहनाको प्रतिमूर्ति भएर प्रकृतिमा उदाएको स्थिति रहेछ । यो रोग, शोक र भोकले छट्पटिएको चेतनाले सिर्जना गर्ने संघर्ष, कथा र व्यथाको सफल आरोहण रहेछ । यो कुन बेला अस्ताउँछ ऊ स्वयम्लाई थाहा हुँदैन । ऊ केवल भौतिक आशक्तिभित्र आफूलाई मनोरञ्जन प्रधान गराउन चाहँदोरहेछ ।

सुख, सयल र प्राप्तिभित्र रुमलिरहने तथा इच्छा तृप्ति नै जीवनको उद्देश्य हो भन्ने गरी गतिशील रहने भौतिक शरीर रहेछ, जीवन । यति हुँदाहुँदै पनि दुःख, कष्ट, रोग, भोक र शोकमा जिउन बाध्य हुने जीवतत्वले जतिसुकै मिहिनेत र पसिना बगाउँदा पनि वाध्यताको शिकार हुनुपर्ने अवस्था रहेछ, जीवन । जन्मनु पनि एक्लै, मर्नु पनि एक्लै यही जीवनको सत्य रहेछ । यस्तै अवस्थाको बोध अहिलेको वर्तमानले प्रत्येक व्यक्तिलाई सचेत गराउँदै सन्देश प्रवाह गर्न खोजेको देखिन्छ । समय र परिस्थितिको मूल्यांकन गर्ने क्षमताको अभावले जीवनले कतिसम्म एक्लोपनको महशुस गर्ने रहेछ ? वर्तमान समयले मानिसलाई सिकाइरहेछ ।

चहराइरहेको घाउमा मल्हमपट्टी लगाई भर्खर तङ्ग्रिन लागेको मानव जीवनमा पुनः कोरोना रोगले निकै त्रासदीपूर्ण अवस्थामा ल्याएको छ । जीवन अस्तव्यस्त भएको छ । समयमै औषधीको उचित व्यवस्था नभएको कारण मानिसको अकालमै ज्यान गइरहेको छ । मानव–मानवबीचको सम्बन्धमा दूरी बढेको छ । दूरी बढाउने नाममा एकअर्काबीचको सहयोग र सद्भाव कुण्ठित हुन पुगेको छ । रोगको कारणले सबै नेपाली घरआँगनभित्र बस्न वाध्य भएका छन् । कोरोना विरुद्धको खोप कहिलेसम्म व्यवस्थापन भइसक्ने हो ? थाहा छैन । इष्टमित्र, नाता, कूलकुटुम्बलाई सहयोग दिनु लिनुपर्ने अवस्थामा समस्यामा परेका व्यक्तिलाई टुलुटुलु हेर्नुपर्ने परिस्थिति जन्मिएको छ ।

समयको गति र परिस्थितिको मूल्यांकन गर्न नसक्नुको कारण प्रत्येक नेपालीको मन त्रसित भएको छ । हालै ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ । निरन्तर बगिरहने समयको प्रवाह नगरी केवल राजनीतिक निहित स्वार्थ र अहंकारको कारण राष्ट्र अहिले (स्वास्थ्य तथा राजनीतिक क्षेत्र) अस्तव्यस्त भएको छ । यसको निराकरण कुनबेला कसरी हुने हो ? यो सर्वत्र चासोको विषय बनेको छ । यदि यसरी नै समय र परिस्थितिको आँकलन नगरी केवल अहंकार र स्वार्थले परिपोषित विचार प्रवल हुँदै जाने हो भने आउँदो दिनहरु अझ कति भयानक हुने हो ? भन्न नसकिने अवस्था छ ।

तसर्थ, समयले यस अवस्थामा दिएको चुनौतीलाई स्वीकार गरी अवसरको सदुपयोग गर्दै अब प्रत्येक आत्माले आफूलाई स्वस्थ, सफा, सुन्दर र ऊर्जावान् शक्तिको रुपमा प्रस्तुत गर्नुपर्ने अवस्था सिर्जना भएको छ । जीवनमा संघर्ष गर्नुपर्ने यथार्थलाई मनन् गरी परिस्थिति जतिसुकै कठिन भए पनि सुरक्षा उपाय अवलम्बन गर्दै, एकअर्काबीच गर्न सकिने सहयोग र सद्भाव बढाउनु वर्तमानको आवश्यकता भएको छ । विगतमा भएका कमीकमजोरीलाई हटाउँदै सिर्जनात्मक कर्म र व्यवहार गर्न समयले हामीलाई प्रोत्साहित गरिरहेको छ ।

यस अवस्थामा सेवा र सद्भाव नै मानव जीवनको दायित्व रहेको बुझी आफू र आफ्नो परिवेशको ख्याल गर्न जरुरी छ । पछि आउने समस्याको पूर्वसचेतना बढाई समय घर्किनुपूर्व परिस्थितिले दिएको चुनौतीलाई अवसरको रुपमा प्रयोग गरी मन, वचन र कर्ममा एकरुपता ल्याउनु परेको छ । प्रत्येक व्यक्तिले आफूलाई विवेकशील मानव अस्तित्वको पहिचानसँगै कर्तव्य पनि गर्नु परेको छ ।

अहिले जीवन र जगतलाई नाटकको पात्र बनाई समयले हामीलाई पछाडि पार्दै अघि बढिरहेको छ । जतिसुकै कठिन अवस्थाको सामना गर्नुपरे पनि तथा विविध चुनौतीहरु आए पनि समयले आफ्नो गति रोक्ने छैन । दिनपछि रात र रातपछि दिन गर्दै महिना, वर्ष घुमिरहने छ । प्राकृतिक सत्यले निरन्तरता पाई नै रहने छ । यसले बाल, युवा र बृद्ध कसैलाई पनि पर्खने छैन । कसैको अनुनयविनय पनि सुन्ने छैन । सृष्टि गर्दै विनाश गर्दै अघि बढिरहने छ । विभिन्न रोग र भोकको सामना गर्दै समयसँगै जीवन पनि अघि बढिरहने छ ।

जसरी ०७७ साल हामीसँग बिदा लिएर गएको छ, होसियारपूर्वक जिउन र आफूसँग रहेको क्षमतालाई पहिचान गर्न तथा दायित्व निर्वाह गर्न जसरी ०७७ साल गएको छ त्यसरी नै ०७८ सालले पनि सुरुदेखि हामीलाई घचघच्याइरहेको छ र अगाडि बढिरहेको छ । त्यसैले हामी भन्छौँ, समयले कसैलाई पर्खने छैन । जतिसुकै घमण्ड र अहंकारले परिपोषित भई हैकम चलाए पनि यसको पनि अन्त्य हुने छ । यो निरन्तर बगिरहने साश्वत सत्य पनि हो । त्यसैले निराकार स्वरुप भएर गतिशील भइरहेको समयको पहिचान गरी जीवन र जगतको रक्षा गर्दै अघि बढ्नु प्रत्येक जिवात्माको कर्तव्य पनि हो ।

यही सत्यलाई स्वीकार गरी विगत वर्ष हामीले आफ्नो सुरक्षाको लागि तथा समाज रुपान्तरको लागि के–कति योगदान दिन सफल भयौँ ? मानव जीवनको रक्षा गर्ने कार्यमा हामी के–कति विवेकशील बन्यौँ ? हामी हाम्रो दायित्वप्रति कति जिम्मेवार भएर प्रस्तुत भयौँ ? नीति र नैतिक आचरणयुक्त जीवनशैलीभित्र कति आदर्श भएर प्रस्तुत हुन सक्षम भयौँ ? अनुशासित र मर्यादित जीवनशैलीलाई संस्थागत गर्न तथा नयाँ पिढीलाई नयाँ दर्शन दिन के–कति सफल भयौँ ? अथवा राजनीतिलाई निश्चित गोरेटोमा लैजान सफल भयौँ या भएनौँ ? कतै हामी राजनीतिक तरलताभित्र मात्र तैरि त रहेनौँ ? यसको गहिरो अध्ययन र विश्लेषण गर्न वर्तमानले हामीलाई सचेत र सजग बनाएको छ । भोलि होइन आजैलाई महत्व दिई अनुशासित कर्म र व्यवहार गर्न उत्साहित गर्न खोजेको छ ।

हुन त मानव जीवन कहिल्यै पूर्ण हुँदैन । एकपछि अर्को समस्यासँग उल्झिरहेको हुन्छ । जीवन सधैँ अधुरो नै रहन्छ । मिहिनेत र पसिना बगाउँदाबगाउँदै पनि संसारबाट बिदा लिएको अवस्था पनि देखिन्छ र सुनिन्छ । यदि हुँदाहुँदै पनि मानव जीवन विचलित भएको छैन । साथै मानव स्वयम् विवेकशील भएर अगाडि बढेको छ । तर पनि कर्म र व्यवहारमा तथा अनुशासनमा कता–कता चुकेको अवस्था विद्यमान छ । काम, क्रोध, लोभ, मोह र अहंकार रुपी मायाको जालमा फसी गलत कार्यतर्फ उत्साहित भएको देखिन्छ ।

निःस्वार्थरुपी मानव सोच र ज्ञानभित्र अतिरञ्जित कुरा र कर्म गरी स्वार्थले मानव सोच विचलित बनेको छ । संस्कृति र संस्कार हाम्रो जीवन पद्धति हो भन्ने बुझ्दाबुभ्mदै पनि हामी विवेकहीन भएर हराइरहेका छौँ । ज्ञानको ज्योति फैलाउने हाम्रो वैदिक संस्कृति र मान्यता हुँदाहुँदै पनि थाहा नपाएजस्तै गरी क्षणिक स्वार्थमा लुटपुटिएर हामी विचलित भएका छौँ । विगतको महत्वपूर्ण अनुभव र परिवेश, हाम्रो आचरण सुधार्ने उत्तम विकल्प हो भनी पथप्रर्दशन गरेको हाम्रो दिव्यदृष्टिले हाम्रो परम्परागत संस्कृति, संस्कार र मान्यता तथा अनुशासित जीवन शैली, हाम्रो जीवनयापनको उत्तम मार्ग हो भनी जान्दाजान्दै हामी किन विचलित भइरहेका छौँ ? बुद्धि र विवेकमा हामी स्वयम्ले किन ताला लगाइरहेका छौँ ?

तसर्थ, दिन पछि रात र रातपछि दिन भनेझैँ सुरुवातपछि अन्त्य हुने यो प्रकृतिक सत्य हो भनी बुझी आफूलाई नयाँ सोच र चिन्तनका साथ परिस्कृत गरौँ । सेवा र समर्पणमा आधारित जीवनशैली अबको आवश्यकता हो भनी बुझौँ । समयले हामीलाई सचेत गराइरहेको छ । त्यसैले स्वार्थरहित जीवनशैली मानव जीवनलाई सफल र सार्थक बनाउने उत्तम विकल्प हो भनी जानी घमण्डरहित निःस्वार्थ सेवामा रमाउने गरौँ । अहंकाररहित व्यक्ति नै सफल हुन सक्छ भनी मन, वचन र कर्ममा एकरुपता ल्याऔँ र आचरण प्रदर्शन गरौँ ।

वर्तमानले हामीलाई यही निर्देश गरिरहेको छ । विवेकलाई क्षणिक आवेग र स्वार्थमा परिपोषित नगरी प्रकृतिको नियमानुसार चलिरहने सत्यमा आधारित कर्ममा गतिशील बनिरहौँ । विवेकशील भएर समयानुकुल आफूलाई प्रदर्शन गरौँ । तसर्थ आशा र विश्वास बढाई हाम्रो सामू आएको समस्यालाई धैर्य र नैतिकवान् बनी अगाडि बढौँ । मानव जीवनमा आउने जति पनि उतारचढाव छन् ती सबै मानव स्वार्थ चिन्तनले उब्जाएको परिस्थिति हुन् भनी बुझी वर्ग, स्वार्थको कल्पनाभन्दा पर रही निःस्वार्थ सेवा, सोच र आचरणबाट मानव चाहना र आकांक्षाले खोजेको सत्यको धरातललाई पहिचान गर्न सिकौँ ।

मै खाउँ, मैलाउँ मै मोजमजा गरुँ भन्ने अहंकारी सोच त्याग गरी स्वच्छ, स्वस्थ र पवित्रतामा आधारित सुसंस्कृतिले सजिएको आचरणतर्फ हाम्रो ध्यान बढाऔँ । आफूभित्रको नयाँ ऊर्जा र विवेकलाई उजागर गरी वर्तमान समयमा देखापरेको समस्यालाई निराकरण गरौँ । प्रत्येक विहानीले ल्याउने नयाँ अवसर र चुनौतीलाई यो मेरो जिम्मेवारी हो भनी म अरुको कसरी सहाय बन्नसक्नु भन्ने धारण विकसित गरी आफ्नो दायित्व निर्वाह गरौँ । समय र परिस्थितिको मूल्यांकन गर्न नसक्नुको कारणले उत्पन्न भएको परिस्थितिलाई आफूभित्रको विवेक प्रयोग गरी रोग निदान गर्दै स्पष्ट दिशानिर्देशतर्फ हामी सबैको सोच बृद्धि गरौँ । समयले यही खोजिरहेको छ ।