बाढीपहिरोको महाविपतको चेतावनी, फितलो व्यवस्थापन

  •   
  •  

बालाराम÷अमरराज

दाङ, ३० जेठ । मुलुक अहिले कोरोना भाइरसको संक्रमणका कारण आहत भइरहेका बेला मौसमविज्ञहरुले आउँदो मनसुनी वर्षात अघिल्ला वर्षहरुमा अत्यधिक बढी हुने चेतावनी दिएका छन् । तर, बाढी तथा पहिरोको सम्भावित विपतको जोखिम न्यूनीकरण र प्रकोप उद्धारको व्यवस्थापनमा स्थानीय पालिकाहरुको भने अर्थपूर्ण प्रयास हुनसकेको छैन । विपत व्यवस्थापनको पूर्व सूचना प्रणाली, प्रकोपमा परेकाहरुको सहज रुपमा व्यवस्थापनका तयारीलगायत जोखिममा रहेका बस्तीलाई सम्भावित क्षेत्रबाट स्थानान्तरण गर्ने प्रयासहरु स्थानीय पालिकाहरुले गर्नसकेका छैनन् ।

मौसमविज्ञहरुको चेतावनीसँगै राष्ट्रिय विपत प्राधिकरणले मुलुकका सबै पालिकाहरुलाई अविरल वर्षातका कारण विभिन्न क्षेत्रमा भिषण बाढी र पहिरोको सम्भावन रहेको भन्दै त्यसमा उच्च सतर्कता अपनाउन तथा क्षति न्यूनीकरणका अधिक्तम प्रयासहरु थाल्न निर्देशन दिए पनि स्थानीय पालिकाहरु भने यसतर्फ गम्भीर बन्नसकेका छैनन् । बाढी पहिरोको विपतको पूर्व सूचना प्रणाली तथा उद्धार र राहतको पूर्व तयारी गर्न नसके मुलुकले सम्भावित प्रकोपबाट ठूलो क्षति व्यहोर्नुपर्ने छ । कुनै पनि प्राकृतिक विपत बाजा बजाएर नआउने भए पनि पूर्व सूचना प्रणालीलाई आधुनिकीकरण गर्न र प्रकोप उद्धार र राहत व्यवस्थापनमा भने स्थानीय पालिकाको अहम भूमिका हुने नागरिक अगुवाहरुले बताउँदै आएका छन् ।

वि.सं २०७१ सालको बाढीका कारण डुबानमा परेका बस्तीहरुलाई अन्यत्र सुरक्षित स्थानमा व्यवस्थापन गर्नुको साटो नदी कटानको उच्च जोखिममा रहेका क्षेत्रमा बसोबास गर्ने क्रमले अझै तीव्रता पाएको छ । सरकारी ऐलानी जग्गा खोजी–खोजी नदी तटीय क्षेत्रमा बसोबास गर्ने परम्परालाई समेत स्थानीय सरकारहरुले अन्त्य गर्नुको साटो प्रश्रय दिइरहेको समेत पाइएको छ । जसका कारण बाढीको क्षतिको जोखिम वर्षेनी बढ्दै गएको छ ।

यहाँका पालिकाहरुमा विपद् व्यवस्थापनका लागि पूर्व तयारीको अवस्था फितलो देखिएको छ । जनु बेला विपद् आइलाग्छ त्यति नै बेला तयारी थाल्ने परम्परा नै बसिसकेको छ । यसले गर्दा कुनै ठूलो विपद् आइपरेमा ठूलो धनजनको क्षति हुने सम्भावना बढेको छ ।

तुलसीपुर उपमहानगरपालिकामा निर्देशन आएसँगै अब एक÷दुई दिनमै समन्वयात्मक बैठक बसेर तयारी गर्ने उपमहानगरपालिकाले जानकारी दिएको छ । सुरक्षा निकाय, सम्बन्धित सरोकारवालाहरुसँग बैठक बसेर विपद् व्यवस्थापनको तयारी थाल्ने उपमहानगरपालिकाले बताएको छ । आइपर्ने विपद्लाई कसरी व्यवस्थाापन गर्ने र त्यसमा कसको भूमिका के भन्ने विषयमा छलफल पछि टुङ्गोमा पुग्ने विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले जानकारी दिएका छन् ।

उनले पूर्व सूचना प्रणाली अन्तर्गत वेवसाइटमा जानकारी दिने, लिने, यस अघि पूर्व अभ्यासहरु गरिएको र त्यसका लागि टिम गठन गर्ने र मोबाइल एसएमएसमार्फत् तत्काल जानकारी दिने बताए । त्यस्तै तयार नेपालले उद्धार सामग्रीहरु समेत गत वर्ष उपलब्ध गराएको र उमहानगरपालिका पनि सामग्रीहरु रहेको डाँगीले जानकारी दिए ।

विपद पीडितहरुलाई व्यवस्थापन गर्न विपद् प्रकोप उद्धार कोषको व्यवस्थापनका लागि बजेटको व्यस्थापन गरेको र त्यसका लागि कति रकम छुट्याउने भने विषयमा छलफल हुने डाँगीले जानकारी दिए । सम्भावित जोखिममा रहेका नागरिकलाई तत्काल स्थानान्तरणको सम्भावना नरहे पनि व्यवस्थापनका लागि आ–आप्mना वडालाई संरक्षित क्षेत्र एकिनका लागि पत्राचार गर्ने तयारी गरेको डाँगीले जानकारी दिए । स्थान छनोट र व्यवस्थापनका लागि विपद् व्यवस्थापन समिति प्रत्येक वडामा पुग्ने समेत बताए ।

न्यूनतम उद्धार सामग्री र उद्धार टिमको व्यवस्थापनका विषयमा सुरक्षा निकायहरुसँग समन्वय गरी अगाडि बढ्ने उनले बताए । ‘हामी एक्लैले केही गर्न सक्ने अवस्था छैन्, हामीले सबै व्यवस्थापन मिलाउने हो, यसका लागि सुरक्षा निकायकै सुहयोग माग्नुपर्ने हुन्छ’ उनले भने । उनले उद्धार टिम गठन गर्ने, उद्धारका लागि आवश्यक पर्ने सामग्रीहरु जस्तै जेसिबी, टिप्पर, र गाडीहरु तयारी अवस्थामा राखेको बताए । प्रमुख डाँगी सचेतनाका लागि सार्वजनिक सूचना तयार गरी प्रचारप्रसारको लागि तयारी गरेका बताए । उनले पेपर रेडियोबाट विभिन्न भाषामा प्रचारप्रसार गर्ने बताए ।

त्यस्तै विपद् व्यवस्थापन शाखा दंगीशरण गाउँपालिकाले भने छुट्टै परिपत्र नआएको र वेवसाइटमा राखेको जनाएको छ । गाउँपालिकाले पूर्व सूचना प्रणालीहरुका अभ्यासहरु खासै नभएको जनाएको छ । विपद् शाखा प्रमुख बालकृष्ण भण्डारीले विपद् प्रकोप उद्धार कोष भने व्यवस्थापन पहिलेदेखि नै रहेको जानकारी दिए । उनले विपद्मा परेकालाई तत्कालका लागि खाद्यानदेखि विभिन्न सहयोग र पीडितलाई व्यवस्थाको लागि सबै तयारी रहेको बताए । उनले उद्धार सामग्री स्टक रहेको अन्य सामग्रीहरु किन्ने तयारीमा गाउँपालिका रहेको जानकारी दिए । भण्डारीले जिल्ला प्रशासन कार्यालयले भने विपद्का लागि आवश्यक सामग्री तयारी गर्न भने परिपत्र गरेको बताए ।

त्यससँगै पालिकाले एम्बुलेन्स, डोजरलगायत उद्धारका सामग्रीहरु तयारी अवस्थामा राखेको जानकारी दिए । सम्भावित जोखिममा रहेका नागरिकलाई अस्थायी रुपमा विद्यालयमा स्थानान्तरण गर्ने उनको भनाई छ । भण्डारीले जनप्रतिनिधि, सुरक्षा निकायहरुबीच समन्वय गरी विपद्को व्यवस्थापन गर्ने बताए । उनले पूर्व सूचना प्रणाली अन्तर्गत फोनको माध्यमबाट सूचना आदान–प्रदान गर्दै आएको सुनाए । ‘विपद् व्यवस्थापनका लागि छुट्टै टिम गठन भएको छैन, जनप्रतिनिधि, सुरक्षा निकायले नै यसको व्यवस्थापन गर्ने काम यस अघि भएका थिए’ प्रमुख भण्डारीले भने ।

यसैगरी लमही नगरपालिकाले बाढीजन्य विपतको तयारीमा रहेको जनाएको छ । लमही नगरपालिकाको राप्ती नदी क्षेत्रमा बाढीको जोखिम रहेको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिए । ‘हामी हाम्रो तर्फबाट तयारी गरिराखेका छौँ’–प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने । बाढी आइहालेमा उद्धार सामग्री रहेको र यसलाई थप गर्ने योजना समेत रहेको उनको भनाई छ ।

पूर्व सूचना प्रणाली समेत रहेको प्रमुख शासकीय अधिकृत डाँगी बताउँछन् । नदीमा बाढीको मात्रा मापन गरेर जानकारी गराउने काम हुने उनी बताउँछन् । ‘यस सूचना प्रणालीले नागरिकलाई सुरक्षित राख्न सहयोग पु¥याउने छ’ प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने । नगरपालिकाले छिट्टै बैठक बसेर थप कार्य अगाडि बढाउने लमही नगरपालिकाले जनाएको छ ।

गढवा गाउपालिकामा बाढी उच्च खोजिम नरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा केही स्थानमा डुबानको समस्या भए पनि बाढीले बगाउने समस्या नभएको गाउँपालिकाका अध्यक्ष सहजराम अहिरले बताए । बाढीजन्य विपतको बारेमा आफूहरु तयारी अवस्थामा रहेको बताए । गाउँपालिकाको केही दिनमा बैठकले थप योजना निर्माण गरेर अगाडि बढ्ने अध्यक्ष अहिरले बताए ।

राजपुर गाउँपालिका पनि बाढीजन्य विपतको जोखिम क्षेत्र रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आप्mनो तर्फबाट तयारी गरिराखेको गाउँपालिकाका सूचना अधिकारी महेश थापा ठेडीले जानकारी दिए । गाउँपालिकासँग उद्धार सामग्रीहरु समेत तयारी अवस्थामा रहेको उनले बताए । गाउँपालिकाका खोज उद्धार समिति वडासम्म गठन भएको र त्यसलाई सक्रिय बनाइने उनको भनाई छ । विभिन्न सामाजिक संघसंस्थाहरुले सामग्री तथा सहयोग गदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको छिट्टै बस्ने बैठकले निर्णय गरेर अगाडि बढ्ने सूचना अधिकारी थापाले बताए ।

यद्यपि बाढीको पूर्व सूचना प्रणालीका विषयमा के–कसरी जानकारी स्थानीयबासीलाई गराउने भन्ने सन्दर्भमा स्थानीय पालिकाको कुनै अभ्यास छैन । यस अघि राप्तीमा बाढीको बहाव उच्च भए तत्कालै भालुवाङमा साइरन बज्ने र त्यसको जानकारी राजपुर र बेलासम्मका स्थानीयलाई पुग्ने संयन्त्र भए पनि यो वर्ष हातहातमा मोवाइल रहेको भन्दै खतराको साइरन बज्ने प्रविधि समेत निरन्तर रहनसकेको छैन ।

त्यस्तै बबई गाउँपालिकाले पूर्व सूचना प्रणाली अन्तर्गत तालिमहरु दिनेदेखि विभिन्न समूहहरु तयार पारिएको अध्यक्ष भूवनेश्वर पौडेलले जानकारी दिएका छन् । नेपाल रेडक्रससँगको सहकार्यमा आवश्यक उद्धार सामग्रीहरुको समेत व्यवस्थापन गरिएको विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका पौडेलले जानकारी दिए । उनले बाढी आउनसाथ जानकारी हुने र एमएस जडान गरेकाले साइरन बजने र सतर्कता अपनाउन सूचना दिने बताए ।

उनले २०७१ सालमा आएको बाढीले धेरैको धनजन र ७ जनाको मृत्यु भएको भन्दै त्यससँगै आफूहरु जहिले पनि तयारी अवस्थामा रहने गरेको बताए । उनले स्थानतरण गर्ने अवस्था नभएको भन्दै सचेत भने गराएको बताए । ‘अव वर्षात सुरु हुन लाग्यो, बाढीपहिरोले धनजनको क्षति नहोस् भनेर हामी तयारी अवस्थमा हुन्छौँ, हाम्रो तयारी अहिले पनि छ’ अध्यक्ष पौडेलले बताए ।