कुसुम पुन
दाङ, २७ जेठ । राधिका नेपालीको घर बंगलाचुली गाउँपालिका वडा नं. १ स्यूजा हार्जामा पर्छ । उनको त्यो बस्तीमा ३० घर रहेकोमा दलितहरुको बाहुल्यता छ । पहिले महिलाहरुले घरमा जाँड–रक्सी बनाउने, खाने, बस्तुभाउ पाल्ने, घाँसदाउरा काट्दैमा दिन बिताउने गरेका थिए । परिवार पाल्नका लागि पुरुष भने अरुको घरमा मजदुरी गर्ने वा रोजगारीको लागि भारत जाने गरेका थिए ।
उनकाअुनसार गाउँमा पढेलेखेको मान्छे पाउन कठिन थियो । दलित परिवारमा जन्मेकाले पढ्नु हुँदैन भन्थे । पल्लो गाउँका साथीहरु चिटिक्क परेर स्कूल गएको देख्दा उनलाई पनि जान रहर थियो । तर पूरा भने भएन ।अशिक्षाको कारण गाउँका मानिसहरु ६–७ वटा बच्चा जन्माउने कुरा सामान्य नै थियो । बच्चाको पालनपोषण र सरसफाईमा कुनै वास्ता थिएन ।
मज्दुरीबाट कमाएको पैसा पुरुषहरुले जाँड–रक्सीमा सिध्याइदिने र हिंसाका घटना घट्ने गरेको थियो । ‘मिहिनेत नगरेपछि उत्पादन कसरी बढोस् ? आफै गर्नुभन्दा अर्को गाउँबाट तरकारी मागेर खाने बानी बसेको थियो’–उनले भनिन् ‘छोरीलाई सानैमा विहे गर्दिने र छोरालाई भारततिर पठाउने समाजमा थियो ।’ २०७० मा सहकर्मी समाज भन्ने संस्था गाउँमा आएपछि त्यो गाउँमा पनि समूह गठन गरेको उनले बताइन् । त्यतिबेला हामी महिनाको ४ पटक बैठक बस्ने गथ्यौँ ।
बैठकमा विभिन्न छलफल, अन्तत्र्रिmयाहरु हुन्थे । आफ्नो गाउँको समस्याको समाधान आफूबाटै हुनु पर्दछ भन्ने पाठ समूहबाट सिकियो’–उनले भनिन् ‘पहिला हामीले आफ्नै कमजोरी पत्ता लगायौँ, गाउँका समस्याहरुको कारण खोज्यौँ, त्यसपछि एक–एक गर्दै बैठकमा योजना बनाएर काम गर्न थाल्यौँ, हामीले बचत संकलन सुरु ग¥यौँ, हाम्रा बच्चाहरुलाई स्कूल पठाउन थाल्यौ र हामी समूहमा एकजुट भयौँ ।’
समूहकै कारण अहिले हामी गाउँका महिलाहरु बैठक गोष्ठीमा सहभागी हुन थालेका छन्, आफ्ना कुराहरु निर्धक्क राख्न सक्ने भएको उनको अनुभव छ । आफ्नो घरआँगन, पानी पँधेरो, बाटो मर्मत र सरसफाईमा समेत जुटेको उनले बताइन् । ‘हामी आयमुलक काम थालेका छौँ, बाख्रा पालन, बङ्गुर पालन, तरकारी खेती, कुखुरा पालन, यसले हाम्रो जीविकोपार्जनमा सुधार आउँदै गरेको छ, म स्वयं तरकारी खेतीमा लागेकी छु’ उनले भनिन् ‘समाज विकास सञ्जालले बिउ र तालिम सहयोग गरेको छ, आफ्नै तरकारी बारीमा काम गर्दा आनन्द लाग्छ, उत्पादन भएको तरकारी स्थानीय बजार बोजपोखरामा बेचेर घर खर्च र छोराहरुको पढाई खर्च चलाउने गरेको छु ।’
सुरु–सुरुमा उनको शिव समूहको सभामा गैरदलित उपस्थित नहुने गरेको थियो । अहिले त्यो विभेदपूर्ण व्यवहारमा धेरै कमी आएको छ । पछि–पछि दलित र गैरदलित बराबर सहभागी हुने कुरामा सुधार आएको छ ।उनकाअनुसार यो सामाजिक सुधार सहकर्मी समाज नेपालको प्रशिक्षणले गर्दा आएको हो । सभा, पिक्निक, तालिम, पूजा र विहेमा परिकार सँगै पकाउने, सँगै खाने भइरहेको छ ।
सदस्यहरुबीच आपसमा सम्बन्ध बढेको छ । सम्झना बंगलाचुली गाउँपालिका वडा नं १ को दलित सदस्य समेत हुन् । समूहको कारणले मलाई वडाको नेतृत्वमा उम्मेद्वारी दिने आँट आएको हो, समूहका सदस्यहरुको विश्वासको मतले प्रत्यक्ष निर्वाचित समेत भएँ’–उनले भनिन् ‘आँटेपछि सबै गर्न सकिन्छ ।’