Goraksha

National Daily

तृष्णाहरुलाई खोइ खोप ?

खेमराज रिजाल

दाङ, २६ जेठ । तुलसीपुर उपमहानगरपालिका–५ नामीनगरकी ज्येष्ठ नागरिक तृष्णा योगीले मंगलवार खोप लगाउन पाइनन् । गत फागुनमा पहिलो चरणमा सरकारले ज्येष्ठ नागरिकलाई खोप लगाउँदा उमेर नपुगेर खोप लगाउन नपाएकी तृष्णाले अहिले भने उमेर बढी भएको भन्दै खोप केन्द्रबाट फर्कनु पर्यो ।

‘मेरो जन्ममिति वि.सं. २०१३ सालको असार महिना हो, फागुनमा खोप लगाउन जाँदा ६५ बर्ष उमेर नपुगेको भनेर फर्काइयो, अहिले खोप लगाउन जाँदा ६४ बर्ष नाघिसकेको भनेर फर्काइयो’, तृष्णाले भनिन्– हामीलाई खोप कहिले दिइने छ ?’ तृष्णा त्यो उमेर समूहकी एक्ली नागरिक होइनन्, अर्का ज्येष्ठ नागरिक पनि त्यसरी नै फर्काइए । यो समस्या सामान्य भए पनि खोपमा सहभागी स्वास्थ्यकर्मीले त्यसलाई सुल्झाउन नसकेपछि जिल्लाका विभिन्न पालिकाहरुमा गरी कम्तीमा एक सयभन्दा बढी यस्ता नागरिकहरु खोप लिनबाट बञ्चित भएका छन् ।

‘सामान्य विवेकले समाधान हुने यो विषयमा सरोकारवाला पक्षले कानुनी र नीतिगत अड्चन देखाएर यो समूहका ज्येष्ठ नागरिकलाई खोपबाट बन्चित गराउनु दुर्भाग्यको अवस्था हो’, ज्येष्ठ नागरिक सरोकार केन्द्र तुलसीपुरका एक अधिकारीले भने । यसलाई स्थानीय जनप्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयले तत्काल समन्वयकारी भूमिका खेलेर समस्या समाधान गर्नुपर्ने तर्क उनको थियो । सरकारले गत फागुन महिनामा ज्येष्ठ नागरिकहरुलाई खोप लगाउँदा ६५ बर्ष माथिकालाई लगाइने भनेको थियो ।

अहिले प्राप्त खोप भने ६२ बर्षदेखि ६४ बर्ष सम्मकालाई मात्र लगाउने नीति ल्याएको छ । तर फागुनमा उमेर नपुगेर बञ्चित भएका तथा हाल उमेर बढी भएर बञ्चित नागरिकलाई भने कसरी सम्बोधन गर्ने भन्नेमा सरकारले स्पष्ट नीति सार्वजनिक गर्न नसक्दा यो समस्या भएको हो । सरकारको यही अलमल्याउने नीतिका कारण मंगलवार नेपालभर हजारौं ज्येष्ठ नागरिकहरु यही समस्याका कारण खोप केन्द्रबाट फर्काइका छन् । जसलाई अधिकारकर्मीहरुले दुर्भाग्यपूर्ण भनेका छन् ।

दाङमा कोरोनाविरुद्धको ‘भेरोसेल’ पहिलो चरणको खोप लगाइन थालिएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाउन लागिएको हो । दाङका १० स्थानीय तहका जम्मा ६ लाख ५५ हजार ७ सय ६१ नागरिकमध्ये पहिलो चरणमा ६२ देखि ६४ बर्ष उमेरका ८ हजार ४ सय १० जनालाई खोप लगाउने भएको छ ।

खोप लगाउन आउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागज वा सम्बन्धित वडा कार्यालयले दिएको सिफारिस साथमा लिएर आउन आम नागरिकलाई अनुरोध पनि गरेको छ । साथै लक्षित समूहलाई मात्र खोपको आपूर्ति हुने र खोप लगाउने कार्य एक देखि दुई दिनभित्र सम्पन्न गर्न भनिएको छ । सोही अनुसार पालिकाहरुले खोप केन्द्र तोकी सञ्चालन गर्न थालेका छन् । भेरोसेलको पहिलो मात्रा लगाइ सकेपछि दोस्रो मात्रासमेतको सुनिश्चितता हुने पनि स्वास्थ्य कार्यालयले बताएको छ ।

छुट उमेर समूहका सबैलाइ खोप : अधिकारीहरु

यसैबीच यस समस्याका सन्दर्भमा व्यापकरुपमा नागरिक गुनासो आएसँगै यो सामान्य प्राविधिक समस्या मात्र भएको भन्दै सरोकारवाला निकायका अधिकारीहरुले छुट उमेर समूहका सबै ज्येष्ठ नागरिकहरुलाई खोप उपलव्ध गराइने गोरक्षलाई बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलगायत स्थानीय पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले पनि यस्तो उमेर समूहका नागरिकहरुलाई बुधवार सबै खोपकेन्द्रमा खोप उपलब्ध हुने बताएका छन् । ‘यो विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा भैसकेको छ, फागुनमा ६५ बर्ष नपुगेका र अहिले ६४ बर्षमाथि उमेर पुगेका सबै ज्येष्ठ नागरिकहरुलाई खोप उपलव्ध गराइने छ’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले भने ।

प्रमुख जिल्ला अधिकारीले पनि यस्तो उमेर समूहका सबै नागरिकहरुलाई खोप उपलव्ध हुने अभिव्यक्ति दिए । फागुन महिनामा पहिलो डोज लगाएका नागरिकहरुले दोस्रो डोजको खोप कहिले पाउने भन्नेमा भने अझै निर्णय हुन सकेको छैन । सरकारी अधिकारीहरुले खोप आएपछि उपलव्ध गराइने अभिव्यक्ति दिँदै आएका छन् । दोस्रो चरणको खोप भने अझै अनिश्चित रहेको छ ।