शिक्षा क्षेत्रमा अझै पुगेन खोप

सुशील बस्नेत

कोरोना भाइरस विरुद्धको खोप अझैसम्म शिक्षकहरुले लगाउन पाएका छैनन् । नेपालको संविधान २०७२ को मौलिक हकको धारा ३५ मा स्वास्थसम्बन्धी त्यो व्यवस्था छ । मौलिक हक कार्यान्वयन गर्ने दायित्व सरकारको हो । नागरिकले स्वास्थसम्बन्धी अधिकारको सही ढङ्गले उपयोग गर्न पाउनुपर्छ । त्यति मात्र होइन, कोभिड नियन्त्रण तथा रोकथामसम्बन्धी ऐनको व्यवस्था गरिएको छ । तर पनि सयौँ विद्यार्थीका माझमा अध्यापन गर्ने शिक्षक कोरोनाको भ्याक्सिनबाट वञ्चित भएका छन् ।

नेपालमा पुस १४ गतेबाट कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको हो । खोप लगाउने संख्या पहिलो चरण २१ लाख १३ हजार ८० र दोस्रो चरणमा ६ लाख ९१ हजार ४ सय ९४ जना छन् । खोपले ७० प्रतिशतभन्दा बढी रोग प्रतिरोधात्मक क्षमता भएको दाबी गरिएको छ ।

सरकारी विद्यालयमा २७ हजार ८ सय १३ जना, निजी विद्यालायमा ६ हजार ७ सय ३२ र धार्मिक विद्यालयमा १ हजार १ सय २१ गरी ३५ हजार ६ सय ७४ विद्यालय छन् । ती विद्यालयमध्ये २ लाख ३० हजार १ सय १० जना सरकारी विद्यालय र निजी विद्यालयमा ९० हजार ४ सय ६६ गरी ३ लाख २० हजार ५ सय ७६ जना शिक्षक कर्मचारी कार्यरत छन् । तीमध्ये कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय २६ बढी पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या यो भन्दा बढी हुनसक्ने अनुमान स्वास्थ्यकर्मीले गरेका छन् ।

पहिलो चरणको खोप शिक्षा क्षेत्रले पाएन

कोभिड १९ विरुद्धको खोपको पहिलो चरणमा स्वास्थ्यकर्मी, त्रिभुवन विमान स्थलमा कार्यरत कर्मचारी, महिला स्वयम्सेविका, एम्बुलेन्स चालक, शव वहान चालक, वृद्धाश्रममा बस्ने र उनीहरुको स्याहार गर्ने कर्मचारीलाई खोप लगाइएको छ । जेलका कैदी र उनीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीले समेत पहिलो चरणमा खोप लगाएका छन् । तर यो चरणमा पनि शिक्षक भने परेनन् । बरु कोरोना संक्रमनबाट थिलो–थिलो भएका पीडा सामाजिक सञ्जालमा पोष्ट गर्न भने शिक्षकहरुले छोडेनन् । ज्यान गुमाउने शिक्षकको संख्यामा कमी भएन । भारत सरकारले अनुदानमा दिएको १० लाख खोप लगाइएको छ ।

दोस्रो चरणको खोप

दोस्रो चरणको खोपका लागि सरकारले पेशाका आधारमा जोखिम क्षेत्रमा काम गर्नेहरुको पहिचान ग¥यो । दोस्रो चरणमा अग्रपंक्तिमा खटिने प्रहरी, सेना, सशस्त्र प्रहरी, नगरपालिकाले नियुक्त गरेका नगर प्रहरी, यातायातकर्मी, हवाई यातायातमा कार्यरत क्याबिन क्रु, एयरपोर्टमा कार्यरत कर्मचारी, बैंक, मालपोत, नापी, खानेपानी, विद्युत र सञ्चारमा कार्यरत कर्मचारीलाई खोप लगाउने सरकारले सूची तयार पा¥यो । दोस्रो चरणको खोप लगाउने प्राथमिकताको सूचीमा ५५ वर्ष उमेर समूहभन्दा माथिका नागरिकलाई पनि राखियो । तर यो लिस्टमा फेरि पनि परेनन्, शिक्षक । चीनले नेपाल सरकारलाई ५ लाख खोप अनुदानमा दिने प्रतिबद्धता जनाएको छ भने भारतबाट २० लाख खोप खरिदका लागि सरकार अघि बढ्यो ।

तेस्रो चरणको खोप

२०७७ माघ २४ गते पहिलो र माघ ३० गते दोस्रो चरणको खोप अभियान सकिएको छ। तेस्रो चरणको खोप अभियान फागुन ८ गतेसम्म सञ्चालन ग¥यो । भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको १० लाख मात्राको कोभिसिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा सुरु भएको खोप अभियान २०७८ फागुन ८ गतेदेखि तेस्रो चरणमा प्रवेश गरेको हो ।

स्थानीय तहका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेवक, एम्बुलेन्स तथा शव वहान चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ खोप लगाइयो । खोप लगाउन जाँदा सबैले आ–आफ्नो कार्यालयको परिचयपत्र लिएर जानुपर्ने मन्त्रालय जनाएको छ । यस पटक पनि शिक्षकले प्राप्त गरेको नेपाल सरकारको परिचयपत्रको कुनै अर्थ रहेन ।

६२–६४ वर्ष उमेरलाई खोप

जेठ २५ गतेबाट चिनिया भेरोसेल १० लाख खोप ६२–६४ वर्ष उमेर समूहका व्यक्तिलाई पहिलो मात्रा दिइँदै छ । यस अघि पहिलो मात्रा पनि छुटेका ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यस पटक खोप दिन लागिएको हो । खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो । स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै जेठ २५ गते ६४, जेठ २६ गते ६३, जेठ २७ गते ६२, जेठ २८ गते ६१ र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।

जेठ २५ गतेदेखि ६२–६४ वर्ष उमेरलाई खोप

यस अघि कोभिडको संक्रमण भइसकेको भए १ महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानुपर्नेछ । यदि यस प्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २२ बैशाखको र जिल्ला विपत् व्यवस्थापन केन्द्रको २५ बैशाखको निर्णयानुसार काठमाडौंलगायत आधा दर्जन बढी जिल्लामा जेठ २ गतेबाट कोभिड १९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । ११ जेठसम्म वडास्तरमा केन्द्र स्थापना गरेर खोप चलाइएको थियो ।

झण्डै ५ लाख निको भए

२०७८ जेठ २४ गतेसम्म पिसिआर परीक्षण ३१ लाख ५५ हजार ६४, एन्टिजेन परीक्षण ७५ हजार ८ सय ५२, निको हुने ४ लाख ९७ हजार ९ सय ६० अर्थात ८४ दशमलव २ प्रतिशत छ । मृत्यु हुने ७ हजार ९ सय ९० जना छन् । होमआइसोलेसनमा ७८ हजार ३ सय ६४, संस्थागत आइसोलेसनमा ७ हजार १ सय ८०, आइसियुमा १ हजार ४ सय ३४ र भेन्ट्रिलेटरमा ३ सय ९७ जनाले उपचार गराइरहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल शिक्षक महासंघ–चरणबद्ध आन्दोलन

तेस्रो चरणको आन्दोलन अन्तर्गत जेठ २१ गते कोभिड खोप नलगाएसम्म स्कूल सञ्चालन हुँदैन भन्दै दबाब, जेठ २३ गते शिक्षक कर्मचारीका माग मुद्दा, सम्झौता र अहिलेको बजेटबाट सिर्जित विभेदलाई विभिन्न सञ्चार माध्यमबाट दबाब सिर्जना गर्नुपर्ने, जेठ २५ गते २० सेकेण्डको टिकटक बनाएर भिडियो सावर्जनिक गर्नुपर्ने, जेठ २७ गते अनलाइन अन्तत्र्रिmया गर्ने, जेठ २९, ३१ र असर ३ गतेसम्म महासंघको आधिकारिक पोस्टलाई हरेक शिक्षक कर्मचारीले आ–आफ्नो सामाजिक सञ्जालबाट दबाब दिनुपर्ने, असर ५ गते अनलाइन मूल्याड्ढन बैठक, असार १० गते चौथो चरणका अन्दोलनको घोषणा गर्ने भएका छन् ।

बिमाको आश

स्थानीय तहले बिमा गराएका तर असारसम्म म्याद भएका शिक्षा क्षेत्रका शिक्षक कर्मचारीले बिमाबाट भने राहत पाउँदै आएका छन् । कोरोना संक्रमित भएका व्यक्तिले बिमा वाफतको रकम पाउने गरेका छन् । नेपाल सरकारको स्वामित्वको नेपाल बिमा संस्थान लिमिटेडमा बिमा गराएका व्यक्तिले पिसिआर परीक्षणको रिपोर्ट, सम्बन्धित वडाको सिफारिस र शिक्षा शाखाको पत्रका साथ आवश्यक कागजात पेश गरेको केही समयमा बिमा सहजै पाउने गरेका शिक्षकहरुले बताउँछन् । अन्य बिमा कम्पनीले पनि सम्झौता अनुसारको बिमा रकम भुक्तान गर्दै आएका छन् ।