घुम्दै–घुम्दै मुर्कटी पुग्दा: ‘जाँच्ने भा’ …पो कोरोना

  •   
  •  

लिलाधर वली

मृर्कुटी(दाङ), २३ जेठ । केही दिन अघिको वर्षातपछि विहीवार बंगलाचुली गाउँपालिकाको मुर्कुटी बजारमा कुहिरो फाटेको थियो । जेठ महिनाको धुपमा पनि उज्यालो मुर्कुटीमा मन्द चलिरहेको चिसो सिरेटोमा सबैको दैनिकी सधैँको जस्तो देखिन्थ्यो । व्यापार गर्नेहरु पसलमा व्यस्त देखिन्थे, केही किसानहरु मकैबारीमा गोडमेलमा अभ्यस्त । पाखाबारीमा अदुवा टुँसाइरहेको । पाखापखेरामा टिमुरका विरूवा फल दिने सुरसारमा । अर्थात् विश्वव्याधीका रूपमा फैलिएको कोरोनाले मुर्कुटीमा त्रास सिर्जना गरेको छैन ।

मानौँ गाउँलेहरु ढुक्क देखिन्थे, मुर्कुटीमा कोरोना छैन तर एक हुलको बीचबाट एक जना टाठिबाठी महिलाले संवाद्दाताको जिज्ञासामा भनेकी थिइन्, ‘जाँच्ने भा‘पो कोरोना, नत्र रुघाखोकी …।’ खुद्रा पसलमा सामाजिक दूरीको कुनै प्रवाह छैन, चोकतोकका चियापसलमा पनि कोरोनाको त्रास अनुभूति हुँदैन, पसलमा सेनिटाइजर देखिँदैन, नाकमुखमा माखुरा लगाउनेहरुलाई त उनीहरुले विरानो मुलुकको पाहुनाजस्तै हेर्दा हुन् जस्तो आभाष हुन्थ्यो ।

उनै महिलाका अनुसार गाउँमा बिरामी नभएका होइनन् । बिरामी परेका छन्, रूघाखोकी, ज्ज्वरो र टाउको दुख्ने समस्याले । गाउँलेहरुले त्यसलाई मौसमी विमार भन्ने गरेका छन्, उनीहरुकै भनाईमा कोरोनाको हाउँगुजी भने छैन । यस्तै समस्याले एक जनाको निधन भए पनि उनीहरुले त्यसलाई असामान्य प्रकोपका रुपमा स्वीकार गरेका छैनन् भन्ने मुर्कुटीको चालचलनले स्पष्ट देखाउँथ्यो ।

पोहर साल त गाउँमै स्वाब संकलन हुन्थ्यो, भारतबाट आएकाहरुलाई राख्न गाउँपालिकाले ठाउँ–ठाउँमा सामुदायिक क्वारेन्टाइन बनाएको थियो । तर यसपाला भने स्कूलहरुमा क्वारेन्टाइन छैनन् । होम–क्वारेन्टाइन र होमआइसोलेशनका विषयमा सबै गाउँलेहरु जानकार समेत छैनन् । लक्षण देखिए पनि स्वाब परीक्षण गरेपछि मात्र कोरोना थाहा हुने हो । तर परीक्षण गर्न आफै घोराही पुग्नु पर्छ, रिपोर्ट आउन अर्को दिन कुर्नु पर्छ, त्यसैले पनि बंगलाचुलीमा कोरोना परीक्षण गराउनेको संख्या अत्यन्तै नगन्य छ ।

दाङमा दोस्रो चरणको कोरोना फैलिएपछि जिल्ला विपद व्यवस्थापन समितिले लकडाउन गरेको पनि आज एक महिना बढी भइसक्यो । अहिले पनि जिल्लामा दिनहु कोरोना संक्रमणबाट मानिसहरु मर्ने गरेका छन् । दिनहु कोरोना संक्रमण थपिने क्रम रोकिएको छैन ।

त्यही भएर गएको १५ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दाङमा जेठ २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको थियो । त्यही निर्णयका कारण घोराही, तुलसीपुर, लमहीलगायतका स्थानमा रहेका व्यवसाय अहिले पनि बन्द रहेका छन् । दैनिक उपभोग्य वस्तुहरुका लागि विहान ८ बजेसम्म पसलहरु खुल्ने गरेका छन् ।

निर्माण सामग्रीका लागि ९ बजेसम्म पसलहरु खुल्ने भनिएको छ । अन्य व्यवसायहरु विगत एक महिनादेखि बन्द रहेका छन् । सायद यो निर्णय जिल्लाका दशवटै पालिकाहरुमा सञ्चालित व्यवसायका लागि नै गरिएको हुनु पर्छ । बन्द कुनै निश्चित ठाउँका लागि पक्कै होइन, बन्द त भीडभाड नहोस् भनेर गरिएको हुनुपर्छ ।

तर बंगलाचुली गाउँपालिकामा बजारहरु निर्वाद रुपमा सञ्चालन भइरहेका छन् । बजार साना भए पनि भीडभाड देखिन्थ्यो । तर सावधानी भने शून्यजस्तै थियो । अधिकांशले मास्क लगाएकै थिइनन् । मास्क त थिएन भने उनीहरुसँग सेनिटाइजर हुने सम्भावना त निकै कम थियो । सायद वर्षा नजिएकाले होला पसलहरुमा सामानहरु किन्नेहरुको भीडभाड थियो, कमिरेचौर र मुर्कटीका पसलहरुमा । होटेल, कपडा पसलहरु, फ्रेस हाउस, किराना पसललगायतका सबै प्रकारका पसलहरु निर्वाधहरुमा खुलेकै थिए, किनमेलका लागि मानिसहरु पनि व्यस्त देखिन्थे । तर सावधानी भने बंगलाचुलीमा कोरोना नै छैन भन्ने जस्तै देखिन्थ्यो ।

त्यही भीडभाड देखेर हामीले एक जना महिलालाई सोध्यौँ–‘यहाँ कोरोना संक्रमित कोही छैनन् कि के हो नि ?’ उनले जवाफ दिइन्–‘यहाँ कोरोना परीक्षण नै हुँदैन ।’ सायद परीक्षण गराए धेरै कोरोना संक्रमित भेटिन्छन् । उनका अनुसार गाउँमा धेरै जनामा ज्वरो, रुघा, टाउँको दुख्ने समस्या देखिएको थियो । तीमध्ये कोही अस्पताल गएर उपचार गराएर राम्रो भए कोही घरमै आफै राम्रो भए । तर उनले आपूmलाई भने त्यस्तो समस्या अहिलेसम्म नभएको बताइन् ।

पहिलो चरणको कोरोना संक्रमणको समयमा जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित भएको पालिकामा अहिले देखिएको बेवास्थाले भने पुनः पुरानै अवस्था निम्त्याउलाझैँ देखिन्थ्यो । बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखाका अनुसार दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि अहिलेसम्म २७ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमितलाई राख्नका लागि गाउँपालिकाले वडा नं. ४ को झुलनेटामा २० बेडको आइसोलेशन सेण्टर समेत निर्माण गरेको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जनाएका छन् । उनले अहिले कोरोना संक्रमितहरु गाउँमा भए पनि गाउँपालिकामा कोरोना परीक्षणको व्यवस्था नभएको र परीक्षणका लागि घोराही आउने पर्ने वाध्यताका कारण कम संक्रमित देखिएको समेत बताएका छन् । उनका अनुसार गत वर्ष फैलिएको कोरोना संक्रमणको समयमा बंगलाचुली गाउँपालिकामा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जुन समयमा जिल्लाका हरेक पालिकाहरु कोरोना भाइरसको संक्रमण नियन्त्रणका सन्दर्भमा व्यवस्थापकीय रुपमा गम्भीर देखिएका थिए । तर यो वर्ष बंगलाचुली गाउँपालिकाजस्तै धेरै दुर्गम बस्तीहरुमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सचेतनासँगै व्यवस्थापनमा समेत वेवास्ताका कारण कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणका कारण सहरबजार भन्दा गाउँहरु बढी प्रभावित रहेका मुलुकभरको तथ्याङ्कले देखाएको छ । यद्यपि स्थानीय सरकारले पिसिआर र एण्टिजेन परीक्षणको कार्यक्रमलाई प्राथमिकतामा राख्नसकेका छैनन् ।