अस्पतालको अनुगमन, सुधार आवश्यक

शिवराज खनाल

दाङ, २१ जेठ । राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधिको सर्वपक्षीय तथा सर्वदलीय अनुगमन तथा समन्वय समितिले लमही नगरपालिका वडा नं. ५ मा देउखुरीका ४ स्थानीय तहबाट सञ्चालनमा आएको कोरोना विशेष अस्पतालको व्यवस्थापन तथा जनशक्तिको अवस्था सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।

देउखुरीका चारवटा पालिका लमही, राप्ती, गढवा र राजपुरमा रहेको कोरोना अस्पताल र स्वास्थ्य अवस्थाको अनुगमन गर्ने क्रममा स्थानीय सरकारबाट कोभिड–१९ नियन्त्रण तथा उपचारको लागि चालिएको प्रयासमा सन्तोष गर्ने अवस्था नभएको टोलीको निष्कर्ष छ । स्वास्थ्यकर्मीबाट समिति श्रोतसाधनका बाबजुत पनि सक्दो सेवा दिलाउने प्रयासको प्रशंसा गर्दै समितिले स्थानीय सरकारबाट कोरोना विशेष अस्पतालको लागि अझ धेरै व्यवस्थापन गर्न आवश्यक रहेको ठहर छ ।

अनुगमन तथा समन्वय समितिमा सहभागी नेपाली कांग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डेले लमहीमा स्थापना गरिएको देउखुरीस्तरीय कोरोना विशेष अस्पतालमा थप सेवा उपलव्ध गराउन र लमहीमा रहेको लमही अस्पताललाई जिल्ला अस्पतालमा रुपान्तरण गर्न आवश्यक रहेको बताए ।

नेकपा माओवादी केन्द्रका लमही नगर सचिव बसन्त शर्माले यो संयुक्त अनुगमनले देशभर सकारात्मक सन्देश दिएको भन्दै स्वास्थ्यकर्मीको मनोबल बढाउने गरी अपुग भएको विषयमा स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने बताए । नेकपा एमाले माधव समूहकी मिना गुरुङले हाल स्वास्थ्यकर्मीहरु पर्याप्त श्रोत–साधनको कमी हुँदा पनि दिनरात जनताको सेवामा खटिएको भन्दै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत व्यक्त गरिन् ।

नेकपा एमालेका क्षेत्रीय इन्चार्ज नारायण छम्पालीले स्थानीय सरकारबाट भएका प्रयास सन्तोष गर्ने ठाउँ अझै नभए पनि स्वास्थ्यकर्मीले सीमित श्रोत–साधनमा उच्च मनोबलले काम गर्नु सकरात्मक पक्ष भएको बताए । कोभिड नियन्त्रणमा खटिएका स्वास्थकर्मीहरुको कुरा बुझ्दा धेरै स्थानमा पर्याप्त स्रोत–साधन कम भएको उनले बताए ।

उता राजपुर गाउँपालिकामा स्थापना गरिएको कोरोना अस्पताल रित्तो छ । संक्रमितले होम आइसोलेसनमा बस्न रुचाएका कारण र संक्रमितको संख्या नै कम भएका कारण अस्पतालमा रहेका सबै बेड खाली भएका हुन । सक्रिय संक्रमितको संख्यामा कमी आएका कारण देउखुरीस्तरीय कोरोना विशेष अस्पतालमा पनि बेड खाली हुन थालेको छ । देउखुरी कोरोना विशेष अस्पतालका प्रमुख डा. पुष्प भुसालले २५ बेडको अस्पतालमा १६ जनामात्र कोरोनाका विरामी रहेको बताए ।

सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहे पनि स्थानीय पालिकामा स्वास्थ्य जनशक्तिको अवस्था भने अपूर्ण रहेको बताइएको छ । राप्ती गाउँपालिकामा एकजना मात्रै डाक्टर रहेका कारण चौबीसै घण्टा सेवा दिइरहनु परेको र स्वास्थ्यकर्मीको जनशक्ति कम भएको स्वास्थ्य शाखाका नारायण रावतले बताए । गाउँपालिका तथा नगरपालिकामा स्थापना गरिएका अस्पतालमा स्वास्थ्यकर्मीको अभाव छ । गढवा गाउँपालिले एकजना डाक्टरलाई कोरोना विशेष अस्पतालमा पठाएकाले स्वास्थ्यकर्मीको अभाव भएको छ ।

देउखुरीस्तरीय अनुगमन तथा समन्वय समितिले लमही अस्पतालको पनि स्थलगत अनुगमन गरेको हो । समितिले स्वास्थ्यकर्मीसँग कुरा गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै अस्पतालमा देखिएको समस्या हल गर्ने प्रतिबद्धता समेत जनाएको छ । लमही अस्पतालकी प्रमुख डा. रञ्जिता महतोले सीमित श्रोत–साधनमा पनि आफूहरुले सेवा दिइरहेको भन्दै स्थानीय सरकारबाट सकारात्मक आश्वासन पाएकोले अस्पतालको सेवा थप प्रभावकारी बनाउन लागिपरेको बताइन् ।

अनुगमन समितिमा नेपाली कांग्रेसका तर्फबाट भेषराज पाण्डे, जानकीलाल बस्नेत, कर्णबहादुर बुढाथोकी, नेकाका पूर्ब महासमिति सदस्य मोहन गिरी, नेकपा एमालेबाट नारायण छम्पाली, धुपनारायण चौधरी, नेकपा माओवादी केन्द्रका बसन्त शर्मा विक्रान्त, नेकपा एमाले माधव समूहबाट मिना गुरुङ, जनता समाजवादीका भरतलाल चौधरी, राष्ट्रिय जनमोर्चाका हरिबहादुर थापा, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, उपाध्यक्ष केशव पोख्रेल, रोटरी क्लवका रवि आचार्य, चेम्बर अफ कमर्शका अजय न्यौपाने, पत्रकारलगायतको सहभागिता थियो ।