हरेक बिरामीलाई फिजियोथेरापी आवश्यक : फिजियोथेरापिष्ट रेग्मी

  •   
  •  

पछिल्लो समयमा मोफसलका विभिन्न बजारहरुमा पनि व्यावसायिक एवं अत्यावश्यक सेवाका रुपमा फिजियोथेरापी सेवाको विस्तार हुनथालेको छ । सुविधासम्पन्न अस्पतालमा अत्यावश्यक रुपमा सञ्चालनमा आएको यो सेवा निजी अस्पतालमा मात्र होइन अब फिजियोथेरापी क्लवका रुपमा पनि व्यावसायिक रुपमा स्थापित हुन थालेको छ ।

दाङ जिल्लामा पनि पछिल्लो समयमा स्पाइनल इञ्जरीलगायत हाडजोर्नीका विभिन्न समस्या तथा अन्य नसासम्बन्धी समस्याका बिरामीका लागि पनि फिजियोथेरापी सेण्टर एउटा गन्तव्य बन्दै आएको छ । जिल्लामा सदरमुकाम घोराही, तुलसीपुर, लमहीलगायतका विभिन्न सहरहरुमा फिजियोथेरापी उपचार सेवा सञ्चालनमा आएका छन् ।

पछिल्लो समयमा बिरामीको फिजियोथेरापी सेवामा देखिएको आकर्षण र विश्वास एवं फिजियोथेरापीका विविध पक्षलाई समेटेर भारतको राजिवगान्धी विश्वविद्यालय अन्तर्गतको व्याङ्लोर स्थित पद्मश्री कलेजबाट ५ वर्षे फिजियोथेरापी कोर्ष पूरा गरी तुलसीपुर उपमहानगरपालिका–५ मा सञ्चालित बुद्ध फिजियोथेरापी क्लिनीक सञ्चालन गर्दै आएकी फिजियोथेरापिस्ट डा. नेहा रेग्मीसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।

 खासमा स्वास्थ्य विज्ञानमा के हो फिजियोथेरापी सेवा ? केही कुरा बताइदिनुस् न ?

आधुनिक स्वास्थ्य विज्ञानमा औषधी सेवन र विभिन्न खालका शल्यक्रियाबाट बिरामीलाई उपचार गरिएको अवस्थामा बिनाऔषधी सेवन र शल्यक्रियाबिना नै विभिन्न वैकल्पिक विधि अपनाएर बिरामीको उपचार गरिने उपचार पद्धतिलाई फिजियोथेरापी भनिन्छ ।

यसमा मेसिनरी प्रयोगसँगै स्वअभ्यास तथा अर्को व्यक्तिबाट म्यानुअल्ली अभ्यास गराएरै पनि बिरामीलाई निको पार्ने प्रयत्न गरिन्छ । मलाई लाग्छ, अस्पतालमा भर्खरै जन्मिएका नवजात शिशुहरुदेखि बृद्धबृद्धाहरु तथा विभिन्न प्रकृतिका शल्यक्रिया गरेका बिरामीका लागि पनि पूर्ववत अवस्थामा स्वस्थ हुनका लागि फिजियोथेरापी अपरिहार्य हुन्छ । औषधी सेवन र शल्यक्रियाबाट निको हुन नसकेका कैयौँ बिरामीहरु पिजियोथेरापीको उपचार सेवाबाट निको भएका प्रशस्तै उदाहरणहरु छन् ।

 खासमा फिजियोथेरापी उपचार कुन प्रकृतिका बिरामीका लागि बढी उपयोगी हुन्छ ?

 फिजियोथेरापी सेवा खासमा सबै रोगहरुका लागि सपोर्टिङ उपचार पद्धति हो भने आधुनिक स्वास्थ्य विज्ञानसँग पनि फिजियोथेरापी उपचार सेवा जोडिएको हुन्छ । अति विकसित मुलुकदेखि अल्पविकसित मुलुकहरुसम्म फिजियोथेरापी सेवा पछिल्लो समयमा अपरिहार्यजस्तै भएको छ । हरेक अस्पतालमा फिजियोथेरापी विभाग समेत हुन्छन् ।

शल्य चिकित्सकको उपचार होस् वा सामान्य चिकित्सकको औषधी सेवन विधिको उपचारसँगै अधिकांश बिरामीलाई फिजियोथेरापी (पिटी)को पनि त्यत्तिकै आवश्यकता रहन्छ भन्ने विभिन्न प्रयोग र परीक्षणले समेत प्रमाणित गरिसकेको छ । अझै थप भन्नु पर्दा विशेष गरी हाडजोर्नी र नसासम्वन्धी समस्या भएका बिरामीहरुका अधिकांश समस्या फिजियोथेरापीबाट निको भएको पनि हामीले पाएका छौँ ।

हामै्र अभ्यासका सन्दर्भमा पनि कुरा गर्ने हो भने कम्तिमा ८० प्रतिशत हाडजोर्नी तथा नसासम्बन्धी दीर्घकालीन समस्या नियमित फिजियोथेरापी सेवाबाट निको भएका छन् । औषधी र सल्यक्रियाबाट निको हुन नसकेका नसा खिइने, नसा दबिएका तथा विभिन्न कारण पक्षघात (प्यारालाइसिस) भएका बिरामीहरु समेत नियमित रुपमा फिजियोथेरापी उपचार पद्धतिबाट दैनिकी चलाउन सक्ने भएका छन् ।

शल्यक्रिया गरिसकेका नसासम्बन्धी विभिन्न समस्या पनि अन्ततः फिजियोथेरापीको सहायताबाट रिकभर भएको पनि हामीले पाएका छौँ । उच्च रक्तचाँपका कारण होस् वा विभिन्न दुर्घटनाका कारण भएका धेरै पक्षघातका समस्या भएका बिरामीहरुलाई समेत हामीले सामान्य दैनिकी यापन गर्न सक्ने गरी निको बनाएका छौँ ।

तुलसीपुरमा सम्भवतः पहिलो पटक फिजियोथेरापी क्लिनीक सञ्चालनमा ल्याउनुभएको छ, यहाँ उपलब्ध हुने सेवाका विषयमा केही बताइदिनुस न ?

हामीले यो क्लिनीक सञ्चालनमा ल्याएको धेरै भएको छैन । तैपनि हामीले यो सेवामा सेवाग्राहीहरुको निकै आकर्षण र उत्साह रहेको पाएका छौँ । क्लिनीक सञ्चालनमा आएको एक वर्ष अझै पुगेको छैन । तैपनि दैनिक दुई दर्जनको हाराहारीमा हामीले सेवा प्रदान गर्दै आएका छौँ । म आफूले फिजियोथेरापीलगायत स्पाइनल कोर्ट इञ्जरी रिह्यावमा पनि एमएससी समेतको अध्ययन पूरा गरिसकेकाले खासमा यहाँ आउने अधिकांश सेवाग्राहीहरु हाडजोर्नी र नसासम्बन्धीका छन् ।

यहाँ हामीले बिरामीको आवश्यकता र अवस्थाअनुसार स्वअभ्यास, हामी स्वयम्द्वारा गराइने म्यानुअल अभ्यास, नसामा सुन्निएको भागलाई निको पार्नका लागि अल्ट्रासाउण्ट प्रविधि, आवश्यकताअनुसार दुखेको तथा समस्या भएको भागमा आवश्यकता अनुसारको इलेक्ट्रोनिक्स एवं इलेक्ट्रिकल प्रविधि, तातोले सेक्ने, आइस पिसले सेक्ने, जाम भएको अङ्ग चलाउन अभ्यास गराइने, विभिन्न मेसिनद्वारा कम्मर तन्काउने, विभिन्न खालका जडिबुटीका तेलहरुले समस्या देखिएको शरीरको भागमा मसाज गर्नेलगायतका विभिन्न प्रविधिहरु प्रयोग गर्दै आएका छौँ । हाम्रो यो ६ महिनाको अनुभवले के देखाएको छ भने यहाँका नागरिकमा पनि विजियोथेरापीको आवश्यकता एवं विश्वास बढेको पाइएको छ ।

हामी यो सेवालाई अझै आधुनिक र स्तरीय बनाउनका लागि प्रयासरत छौँ । खासमा डिजेनरेशन भएको भागलाई रिजेनरेशनको अवस्थामा फर्काएर मानव शरीरलाई चलायमान गराउनका लागि फिजियोथेरापीको सेवा प्रभावकारी नै रहेको मैले यसै पत्रिकामार्फत् आम नागरिक एवं सेवाग्रहीलाई जानकारी गराउन चाहन्छु । अझै भन्नुपर्दा मस्कुलर डिस्ट्रोफिदेखि स्पीच थेरापी समेत यहाँ उपलब्ध छ । तर यहाँ प्राकृतिक उपचार सेवामा जस्तो मड्थेरापी (माटोको प्रयोगले गरिने एक प्रकारको उपचार) भने उपलब्ध छैन । यो फिजियोथेरापीको विधामा पर्दैन ।

 अझै पनि यहाँका सबै स्वास्थ्य संस्थाहरुमा फिजियोथेरापी सेवा उपलब्ध छैन । यहाँसम्म कि विभिन्न हाडजोर्नीका समस्यामा उपचार भइरहने तथा शल्यक्रिया हुने अस्पतालमा समेत फिजियोथेरापीको सेवा उपलब्ध हुन सकिरहेको अवस्था छैन नि ?

हो, हामीलाई पनि यो अनुभूति भएको विषय नै हो । मैले अघि नै भनिसकेँ कि अधिकांश हाडजोर्नी तथा नसासम्बन्धी समस्या बिनाऔषधी र बिनाशल्यक्रिया नै निको हुन सक्छन् भनेर । अर्को कुरा शल्यक्रिया भइसकेका बिरामीका लागि पनि अस्पतालबाट डिस्चार्ज नहुँदै शल्यक्रिया गरेको अङ्गले काम गरिरहेको छ वा छैन भनेर परीक्षण गर्न, शल्यक्रियाका क्रममा सुस्त रहेका अर्गनहरुलाई पुनः गतिशील बनाउन तथा विभिन्न खालका स्पाइनल इञ्जरीका समस्यामा फिजियोथेरापी महत्वपूर्ण पाटो हो । तर यहाँ फिजियोथेरापीका विषयमा अझै पनि पर्याप्त सचेतना हुनसकेको छैन ।

यहाँसम्म कि सम्बन्धित विषयका विषेशज्ञले समेत फिजियोथेरापी उपचार पद्धतिलाई सकेसम्म प्रचारप्रसार गरी जस पाउन खोज्ने प्रवृत्ति छैन । चिकित्सक स्वयम् नै फिजियोथेरापीको आवश्यकतालाई बुझ पचाएर सकेसम्म यो सेवा लिन बिरामीहरु नपुगून् भन्ने चाहन्छन् भन्ने पनि हामीले पाएका छौँ । तर यो प्रवृत्ति राम्रो होइन । विकसित मुलुकहरुका स्वास्थ्य संस्थाहरुको अवस्थाबारे जान्न चाहनुहुन्छ भने हरेक संस्थाहरुमा फिजियोथेरापी विभागहरु छन् । हरेक वार्डमा भर्ना भएका बिरामीलाई चिकित्सकहरुको प्रिस्किप्सन अनुसार फिजियोथेरापी सेवा उपलब्ध गराइन्छ ।

तर मैले यहाँका अधिकांश स्वास्थ्य संस्थामा फिजियोथेरापी सेवा सुरु भएको पाएको छैन । कहीँकतै आयुर्वेद पद्धतिमा पञ्चकर्म सेवा, नियमित योगाभ्यास तथा कहीँकतै फिजियोथेरापीसँगै प्राकृतिक उपचार क्लिनीकहरु सञ्चालन भएको भए पनि नेपाल सरकारका स्वामित्वका स्वास्थ्य संस्थामा मैले फिजियोथेरापी सेवा देखेको छैन ।

तुलसीपुर प्रादेशिक अस्पतालकै कुरा गर्नुहुन्छ भने पनि त्यहाँ राज्यले अझैसम्म फिजियोथेरापी सेवा सञ्चालन गर्न सकेको छैन । यदि सरकारी स्वास्थ्य संस्थामा समेत नियमित रुपमा फिजियोथेरापी सेवा उपलब्ध हुन सकेको अवस्थामा फिजियोथेरापिस्टहरु समेत स्थानीय स्तरमै टिक्न सक्छन् । बिरामीलाई पनि यो सेवाका लागि जिल्ला बाहिर जानुपर्ने छैन । आशा छ, अब सरकारले आवश्यकताअनुसार सबै अस्पतालमा फिजियोथेरापी सेवा उपलब्ध गराउने छ भन्नेमा म विश्वस्त पनि छु ।

तपाईंले काम थालेको करिब ५ वर्ष भयो भन्नुहुन्छ, अब तपाईंजस्ता फिजियोथेरापिस्टहरु हरेक जिल्लामा टिक्न सक्ने अवस्था रहन्छ ?

 हो, हामीले पनि एमबिबिएस सरहको फिजियोथेरापी कोर्ष पूरा गर्नु पर्दछ । यो बीचमा खर्चको कुरा होस् वा समयको कुरा पनि उस्तै हो । त्यसैले सरकारले हरेक अस्पतालहरुमा अन्य उपचार सेवासँगै फिजियोथेरापी सेवा पनि उपलब्ध गराउनु पर्दछ । अहिले सरकारको स्वास्थ्य नीतिमा पनि फिजियोथेरापी सेवालाई हरेक अस्पतालमा विस्तार गर्ने उल्लेख गरेको छ ।

सम्भवतः मुख्य–मुख्य सबै अस्पतालहरुमा नियमित रुपमा फिजियोथेरापी सेवा सञ्चालनसँगै आवश्यक दरबन्दी राख्नसके हामीजस्ता धेरै फिजियोथेरापिस्टले सरकारी सेवा गर्न पनि अवसर पाउने छौँ । सरकारी संस्थाहरुमा अनिवार्य फिजियोथेरापी सेवा सञ्चालन हुनसकेमा मात्र निजी क्षेत्र पनि यो क्षेत्रमा लगानी गर्न र सेवालाई थप आधुनिक स्तरीय बनाउन लालायित हुन्छन् । म यहीँकै चेली भएकाले पनि मेरो अनुभव के छ भने अब फिजियोथेरापिस्ट भएरै पनि स्थानीय स्तरमा टिक्न सकिन्छ ।

किनकि यसमा धेरै अवसहरु सिर्जना हुनेछन् भन्नेमा म पूर्ण विश्वस्त छु । आशा छ, अब विभिन्न विभागीय चिकित्सकहरुले पनि फिजियोथेरापी सेवालाई सपोर्टिङ उपचार सेवाका रुपमा स्वीकार गर्नुहुने छ । यसो हुनसकेमा उपलब्ध सेवालाई आम नागरिकले ग्रहण गर्न सक्ने छन् । दुई÷चार हप्ताको सामान्य फिजियोथेरापी सेवाका लागि अब राजधानीलगायतका सहरहरुमा जानुपर्ने छैन ।

अन्त्यमा केही थप भन्नुहुन्छ कि ?

मैले तपाईले सोधेका जिज्ञासा सबै भनिहालेँ नि । मलाई फिजियोथेरापी उपचार पद्धतिका विषयमा केही जिज्ञासाहरु मेटाउने अवसर दिनुभएकोमा तपाईंको गोरक्ष दैनिक परिवारलगायत सम्पूर्ण पाठकहरुलाई धन्यवाद दिन्छु ।