प्राणवायुको व्यवस्थापन …

गएको बैशाख महिनाको २० गते । कोरोना भाइरसको दोस्रो भेरिएन्टले छिमेकी भारतसँगै नेपालमा पनि डढेलो फैलिएजस्तै आहत बनाएको थियो । नेपालभर अक्सिजन अभाव हुन थालिसकेको अवस्थामा दाङ जिल्ला अझै बढी प्रभावित । कतिपय बिरामीले अक्सिजन नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्था समेत आइसकेको थियो । त्यही रात करिब २ बजे यहीँकै एकजना आत्मीय दाजु मिनराज वलीको भाइलाई अक्सिजन व्यवस्था मिलाएर नेपागञ्ज उपचारका लागि पठाउँदै थियौँ ।

पानीको झरी वर्षिएको थियो, त्यही बेला अर्को आग्रह आयो ‘प्लिज ! मेरो श्रीमान्लाई बचाउनुहोस् । अिक्सजन अभावले छटपठाइरहनुभएको छ’ भन्ने हावाज सुनेपछि म एम्बुलेन्सबाट अक्सिजन पठाउने भनेर लागेँ तर कहीँकतै पाइएन । तुलसीपुर अस्पतालको एम्बुलेन्सलाई घोराही पठाएर तुलसीपुर–१० का सुनिल आचार्यलाई एक रात होमआइसोलेशनमा होल्डिङ गराएर अकिसजनको जोहो गरी काठमाडौं पठायौँ, उपचारका लागि उहाँ ८ दिनपछि सञ्चो भएर मलाई धन्यवाद दिँदै भन्नुभएको थियो, ‘तपाईंको सहयोगले मैले पुनर्जन्म पाएँ ।’

उहाँ त प्रतिनिधि पात्र मात्र हो, उहाँजस्तै धेरैले धन्यवाद दिँदा तथा सम्झँदा म ज्यादै खुशी हुने गरेको छु । लेखिदिनुहोला मेरो खुशी महामारीसँग जुध्नु अनि अक्सिजनको जोहो गरी बिरामीलाई बचाउनु । अर्थात् प्राणवायु उपलब्ध गराएर संक्रमितको ज्यान बचाउनु मेरो खुशी …। यति भनिरहँदा उनी आत्मैदेखि हौसिएका थिए । ‘मेरा जीवनमा धेरै खुशीहरु छन् तर पहिलो खुशी महामारीमा जुधेर सयौँलाई अक्सिजन पु¥यार जीवन बचाउन पाउँदाको लेखिदिनुहोला ।’ तुलसीपुर–६ निवासी व्यवसायी तथा सामाजिक अभियान्ता पदम पोख्रेल (जेठु कान्छु)को अभिव्यक्ति हो, यो ।

कोरोनाको नयाँ भेरिएन्टको दोस्रो लहरसँगै कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बेला उनी दिन–रात नभनी अक्सिजन व्यवस्थापनमा लागेका थिए । तुलसीपुर उपमहानगरपालिकाले उनलाई अक्सिजन व्यवस्थापनको जिम्मा दिएको थियो । त्यस्तो विकराल अवस्थामा पनि आफूलगायत अन्य साथीभाइहरुको सहयोगबाट अक्सिजन अभावले होमआइसोलेशनमा छटपटाइरहेका व्यक्तिहरुलाई रातविरात नभनी अक्सिजन घरमै पु¥याउन पाउँदा निकै खुशी लागेको उनी सुनाउँछन् ।

‘होमआइसोलेशनमा रहेका जोकोहीले घरमै अक्सिजन पाउँदा कस्तो अनुभूति गर्दा होलान् ? अर्थात् अक्सिजनको सिलिण्डर आउँदा संक्रमितहरुले भगवान् उपस्थित भएको अनुभूति गर्दथे’–पोख्रेलले भने । उनले तुलसीपुरका विभिन्न वडाहरुमा कोभिडका बिरामीहरुलाई अक्सिजन पु¥याउँदा तथा संक्रमितहरुको मनोबल पनि बढेको अनुभव सुनाउँछन् । अक्सिजन सिलिण्डरको हाहाकार भएको समयमा करिब ४० वटा अक्सिजन सिलिण्डर जुटाएका पोख्रेलले आफूले पाएको जिम्मेवारी पूरा गर्न पाउँदा अर्को खुशी मिलेको सुनाए ।

हरेक सिलिण्डरमा मेरो खुशी जोडिएको हुन्थ्यो, सिलिण्डर थपिँदै जाँदा मेरो खुशीको एउटा माला बन्थ्यो, जुन मालामा धेरै जीवनहरु जोडिएका हुन्थे’—भावुक हुँदै पोख्रेलले भने । त्यसो त उनी पेशाले अटो व्यवसायी हुन् अनि राजनीति तथा समाज सेवामा पनि जोडिएका छन् उनी ।

पोख्रेलले तुलसीपुर उपमहानगरपालिकाले आफूलाई जिम्मेवारी दिएको र त्यो पूरा गर्न रात–दिन साथ दिने बिमल रिजाल, नारायण भट्टराई, दीपेश भण्डारी, ओम वलीलगायतका व्यक्तिलाई समेत सम्झिए । ‘उहाँहरु पनि मेरा खुशीका अभिन्न अङ्गहरु हुनुहुन्छ, उहाँहरुको सहयोग र सद्भाव नभएको भए मैले पाएको जिम्मेवारी पूरा गर्न सहज थिएन’–सहयोगीहरुको स्मरण गर्दै पाख्रेलले भने । अर्थात अक्सिजन सिलिण्डरमा पोतिएका छन् उनका खुसीका तरङ्गहरु ।

‘कति जना कोभिड संक्रमितहरुले मलाई अक्सिजन आवश्यक परे व्यवस्था गर्नुहोला भनेर फोन गर्नुहुन्थ्यो, उहाँहरुलाई ढुक्क भएर आराम गर्न र निको हुन शुभेच्छा प्रकट गर्दथेँ, अक्सिजन आवश्यक परे म छु भनेर सान्त्वना दिएर पनि उहाँहरु ठिक हुनुभयो, त्यसमा पनि म खुसी छु’ उनले भने । उनले यस्तो विकराल अवस्थमा पनि जुधेरे काम गर्न पाउँदा जीवनमा ठूलो खुशी मिलेको सुनाए ।

त्यसका साथसाथै विपद्को समयमा अक्सिजन अभियान संघसँगै अक्सिजन रिफिलका लागि एक हजार रुपैयाँ सहयोग अभियान अन्तर्गत विभिन्न व्यक्ति संस्थाहरुसँग सहयोग संकलन गरी करिब १२ लाख रकम संकलन गरी उपमहानगरपालिकालाई बुझाउन पाउँदा अर्को खुशी मिलेको सुनाए । ‘धनका धनी त तमाम हुनुहुन्छ हाम्रो समाजमा तर मनका धनीलाई पहिचान गर्ने समय छ अहिले, एकले थुकी सुकी सयले थुकी नदी, अक्सिजन सिलिण्डरको लागि मेरो १ हजार अभियानमा धेरैले सहयोग गर्नुभयो, त्यसमा पनि म निकै खुशी छु’–पोख्रेलले भने ।

सधैँ हँसिलो मुहार, सहयोगी, अतिमिलनसार तथा समाजसेवी पदम पोख्रेलले अर्को खुशी विगत ४ वर्ष पहिले तुलसीपुर–१६ जहदागाउँमा पात टिप्न गएको समयमा स्थानीयले वनमा जागेको च्याउ ल्याएको र च्याउ खाएर गाउँ नै बिरामी भएको बेला उनीहरुलाई बचाउँदा अर्को खुशी प्राप्त भएको सुनाए । त्यतिबेला करिब १५ वटा एम्बुलेन्सहरु रिजर्भ गरी विभिन्न व्यक्तिहरुलाई उपचार गरी बचाएको बताए । ‘मैले त्यतिबेला एक जनालाई पनि अकालमै मृत्यु प्यारो हुन दिएन, सबैलाई समयमै उपचार गरी बचाएको थिएँ, त्यो पनि मेरो जीवनको अर्को खुशी हो’–पोख्रेलले भने ।

तुलसीपुर अटोभिलेजका अध्यक्ष पोख्रेलले आफू विभिन्न संघसंस्थामा लागेर मानवीय सेवामा लागेको भन्दै मानवीय सेवा नै आप्mनो खुशी भएको सुनाए । यसैगरी उनले तुलसीपुरमा स्मार्ट बसपार्क निर्माणका लागि आफूले निकै सहयोग गरेको भन्दै बसपार्क निर्माण भएपछि निकै खुशी लागेको बताउँछन् । अव्यवस्थित अटोभिलेजलाई व्यवस्थापन र बसपार्क निर्माणका लागि आफूलगायत अटो व्यवसायीहरुले राम्रो भूमिका खेलेको भन्दै खुशी व्यक्त गरे । त्यस्तै तुलसीपुर नयाँ बसपार्क स्थित नवज्योति टोल विकास संस्थाको अध्यक्ष समेत रहेका पोख्रेलले टोलको नयाँ भवन बाटोको कारण बस्ती नै खाल्डोमा परेको बेला आप्mनो पहलमा त्यस टोललाई सुधार गरेको भन्दै अर्को खुशी मिलेको सुनाए ।

त्यस्तै तुलसीपुर नगर जेसीजका सल्लाहकार समेत रहेका पोख्रेलले जेसीजमा लागेर विभिन्न कामहरु गरेको भन्दै खुशी व्यक्त गरे । राष्ट्रिय वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष समेत रहेको व्यवसायी पोख्रेलले व्यवसायीहरुको हकहितमा काम गर्न पाउँदा पनि खुशी मिल्ने गरेको बताउँछन् । तत्कालीन जेठु–कान्छु वाटर सप्लायर्स सञ्चालन गरेको पोख्रेलले केही वर्ष पहिले ट्याङ्करबाट निःशुल्क पानी वितरण अभियान सञ्चालन गरी पानीको हाहाकारको बेला धेरैलाई पानी खुवाउन पाउँदा पनि खुशी मिलेको सुनाए ।

कुनै बेला तुलसीपुरमा साना सहरी आयोजना सुरु हुँदा बजारमा खानेपानीको हाहाकार भएको बेला उनले निःशुल्क ट्याङ्करबाट पानी वितरण गरेका थिए । आफूले गरेको समाज सेवापछि उद्योग वाणिज्य संघलगायत विभिन्न संघसंस्थाले सम्मान गरेको भन्दै त्यो सम्मानले थप समाज सेवामा लाग्न प्रोत्साहन मिलेको सुनाए । उनले आफनो व्यवसाय, समाज सेवामा लाग्दा घरमा श्रीमती आमा, बुबा दाजुभाइको समेत सहयोग पाएको भन्दै खुशी व्यक्त गरे ।

त्यस्तै उनले छोराछोरीले पनि प्रगति गरेको भन्दै खुशी व्यक्त गरे । उनले छोराले व्याचलर लेवलमा बढ्दै गरेको र केही समय पहिले सचिन पोख्रेले गोल्डेन आइडियल नेपालमा प्रथम हुँदा निकै खुशी भएको सुनाए । उनले देश विदेशमा दाङको र आफूहरुको नाम राख्न सफल भएको भन्दै निकै खुशी व्यक्तगरे । उनले छोराले मेडल जितेर ल्याउँदा निकै खुशी भएको सुनाए ।

                                                                                                             प्रस्तुती : बालाराम खड्का