तुलसीपुर, १७ जेठ । कोरोनाको दोस्रो लहरसँगै जिल्लामा लकडाउन जारी छ । लकडाउनमा पनि कृषकहरुलाई भने मल–बीउ र खेतीपातीकै चटारो चलेको छ । मकै खेती सकेका किसानहरुले अब धान खेतीको लागि तयारी थालेका छन् । एक दुई दिन मनसुन सक्रिय भएसँगै पानी परेपछि केही राहत पाएका किसानहरुले अब धानखेतीका लागि धानको बीउ र मलको जोहोमा लागेको किसान कृष्ण चौधरीले बताए ।
तुलसीपुरको एग्रोभेटमा धानको बीउ किन्दै गरेका किसान चौधरीले धानको व्याड राख्नका लागि धानको बीउ लिन लागेको बताए । उनीजस्तै अन्य किसानहरुको पनि हाल बजारमा भीड लाग्ने गरेको छ । कोरोनाको संक्रमणको जोखिमसँगै बर्ष दिन खाने खेतीका लागि आफू बीउ मल लिन आएको अर्को कृषक नन्दु केसीले बताए । ‘जेठको आधाआधी जान थाल्यो अब खेतीका लागि मल बीउ लिन आएका छौँ’, उनले भने । लकडाउन भए पनि यस बर्ष मल–बीउको किन्न भने सहज भएको उनले बताए ।
‘मल–बीउको भने यस बर्ष समस्या छ्रैन, सहजता छ’, उनले भने । गत बर्ष अनुदानमा कृषकहरुलाई धानको बीउ उपलव्ध गराएको स्थानीय निकायले यस बर्ष भने कोभिडको कारण कृषकहरुलाई धानको बीउ उपलव्ध गराउन नसकेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखाले धानको बीउका लागि सूचना प्रकाशित गरेको र लकडाउनका कारण कुनै पनि कम्पनी तथा सहकारी सुचिकृत हुन नआएको बताएको छ ।
‘हामीहरुले धानको बीउका लागि सहकारीलाई सूचना प्रकाशित गरी सुचिकृत हुन भनेका थियौँ, कुनै पनि आउनुभएन यस बर्ष धान अनुदानमा वितरण गर्न सकिएन’, नायव प्राविधिक चन्दिका घर्ती भनिन्– ‘कोभिडकै कारण यस्तो समस्या भएको हो ।’ त्यस्तै सधै खेतीको समयमा मलको अभाव व्यहोर्नुपर्ने भए पनि यस बर्ष भने हालसम्म रासायनिक यूरिया र डिएपी मल भने आइरहेको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरले जानकारी दिएको छ । हाल सहकारीहरुले दैनिक मल ढुवानी गरी लिइरहेको प्रमुख तीर्थ न्यौपानेले बताए ।
उनले हालसम्म मल आवश्यक मात्रामा आएको र आएको मल स्थानीय पालिका र वडामा सहकारीलाई वितरण गरेको बताए । ‘पछि के हुने हो थाहा छैन अहिलेलाई धानबालीका लागि मल आइरहेको छ, अभाव छैन’, न्यौपानेले भने । लकडाउनमा पनि मल आयात भइरहेको छ ।
त्यस्तै धान मकै लगायतको बीउ बिजन पनि आयात भइरहेको र किसानहरुको माग बमोजिम पु¥याएको एग्रोभेट सञ्चालकहरु बताउँछन् । एग्री नेपाल प्रालि तुलसीपुरका प्रमुख माधव केसीले धान र मकैको बीउ लकडाउनमा पनि आएको बताए । ‘कृषकहरुको खेतबारी बीउ अभावका कारण बाँझो रहने अवस्था छैन, आवश्यक मात्रामा किसानहरुले पाइरहेका छन्’, केसीले भने ।