लकडाउनको एक महिना : सहज बन्दै संक्रमण

सुनसान छ कोरोना हेलिप्याड

खेमराज रिजाल
बेलझुण्डी, १७ जेठ । ‘घों……..को आवाज आउन छाडेको त्यस्तै दुईसाता पुगेको छ । एम्बुलेन्सको ¥याउँ¥याउँको आवाज पनि निकै कम भएको छ । बाइकमा अक्सिजन सिलिण्डर बोकेर अस्पताल छिर्नेहरु पनि अचेल देखिँदैनन् ।’ बेलझुण्डी रंगशाला उत्तरका स्थानीयबासी विपिन शर्माले फोनमा भनिरहेका थिए ।

विपिनको यो अभिव्यक्तिसँगै अर्का बेलझुण्डी कोरोना विशेष अस्पताल नजिकैका स्थानीयबासी कृष्णबहादुर बुढाथोकीको पनि अभिव्यक्ति यस्तै थियो । ‘हो नी अचेल त साँच्चै अक्सिजन पाइन्छ रे, बेड पाउनलाई पनि त्यति सास्ती छैन, हाम्रै एकजना छिमेकीलाई अस्ती साँझ सोर्स नलगाई भर्ना गरियो, अक्सिजन पनि उपलव्ध रहेछ’, बुढाथोकीले उत्साहित हुँदै भनेका थिए, कोरोनाको अच्चाक्ली केही कम भएको हो कि !

स्थानीयबासीका अनुसार बैशाख अन्तिम साताको एक दिन त हेलिकोप्टरले बेलझुण्डी अस्पतालबाटै चार खेप बिरामी काठमाडौँ लगेको थियो । त्यसको भोलिपल्टै कम्तीमा ८ जनाले बेलझुण्डीकै अस्थायी कोरोना अस्पतालमा ज्यान गुमाएका थिए । अधिकांश निधनको कारण थियो अक्सिजनको अभाव । कति दिन त बिरामीका अभिभावकहरुले नै अस्पतालमा अक्सिजनको जोहो समेत गरेर लग्ने गरेका थिए । ‘कति विरक्त लाग्ने अवस्था थियो, अस्पतालमा, आफैले बजारबाट अक्सिजन खोजेर अस्पताल लैजानुपरेको थियो, बल्ल–तल्ल आफन्तलाई निको बनाउन सकियो’, एकजना बिरामीका आफन्त तुलसीपुर–१७ झिंगै निवासी खुमबहादुर बस्नेतले भनेका थिए ।

कुनै दिन त अस्पतालभित्र बेड नपाएर बिरामीलाई बरण्डामै उपचार गरिएको थियो । बिरामीलाई बेड नपाएर कति घण्टा त एम्बुलेन्समै घोराही–तुलसीपुर कुदाउनुपरेको थियो, बल्लतल्ल बेड पाउँदा ढिलो भैसकेको हुन्थ्यो । त्यसैले पनि यो दोस्रो लहरले दाङ जिल्लालाई निकै आहत बनायो । तुलसीपुर उपमहानगरपालिकाको एउटै वडाको एउटै घाटमा एकै दिनमा ४ जनासम्मको दाहसंस्कार गर्नुपरेको तुलसीपुर उपमहानगरपालिका–४ का स्थानीयबासी रेशम खड्काले बताएका थिए । संक्रमण गाउँसम्मै गाजिँदा तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमु्ख ओमप्रकाश न्यौपानेको पूरै परिवार कोरोना भाइरसबाट संक्रमित बनेको थियो ।

एम्बुलेन्सको चरम अभाव हुँदा तुलसीपुर उपमहानगरपालिकाले अटोलाई समेत एम्बुलेन्सका रुपमा प्रयोग गरेको थियो । ‘स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन विमल केसीकै भनाइमा संक्रमणले कुनै वडा र कुनै टोललाई छुन बाँकी छैन, स्थानीयबासीको मागअनुसार एम्बुलेन्स उपलव्ध नहुने र शुल्क पनि अत्यन्तै महंगो लिने जनगुनासो पनि उपमहानगरपालकाले अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । नौ वटा अटो एम्बुलेन्सलाई भ्याइँ–नभ्याइँ थियो, संक्रमित ओसार्न । तुलसीपुरका हरेक निजी क्लिनिक र मेडिकलमा कोरोनाका शंकास्पद विरामी मात्रै, डाक्टरले बिरामीलाई छुनसमेत त्रासको अनुभूति गर्थे । अस्पतालमा ओपिडी सेवा प्रायः सुनसान । मेडिकल ओपिडीमा मात्र बिरामीको चांप ।

बेलझुण्डीको कोरोना अस्पताललाई सरुवा रोग विशेष ट्रपिकल अस्पताल बनाउने लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको अभिव्यक्ति बीचमै कता हरायो । झण्डै शून्य बिरामीको अवस्था पुगेपछि दोस्रो लहरले फेरि एकपटक भीडमभीडको अवस्थामा पुगेको थियो कोरोना विशेष अस्पताल । भएका स्वास्थ्यकर्मीहरुलाई समेत अन्यत्र सरुवा गरिएसँगै श्रोत साधन र बजेट पर्याप्त नहुँदा गत असोज महिनादेखि उधारोमा चलेको अस्पतालमा सेवा बृद्धि निकै चुनौतीपूर्ण बन्यो ।

स्थानीयबासीले कोरोना विशेष अस्पताललाई उपचारको थलो भन्दा पनि कोरोना हेलिप्याडका रुपमा हेर्न थालेका थिए । किनकि हरेक दिन हेलिकोप्टर आउँदा बिरामीलाई स्वर्ग लैजाने पुष्पविमान आएको अनुभूति हुन्थ्यो, स्थानीबासीमा । कारण हेलिकोप्टरमा राजधानीका ठूला अस्पताल लगिएका अधिकांश विरामीले उतै देहत्याग गरे । अस्पतालको व्यवस्थापन पनि दयनीय । युवाहरुको जमातले चलाएको कोरोना विशेष अस्पतालमा त्यहाँका मेसु डा. विनोद सिंहको झिनो उपस्थिति र सुस्त व्यवस्थापनले कसैको पनि चित्त बुझेको छैन । अस्पतालमा पानीसमेत नपाएका बिरामीका कुरुवाहरुले सामाजिक सञ्जालमा ट्वीट गरिरहेका देखिन्थे ।

अस्पतालमा भर्नाका लागि बिरामी ल्याउन आग्रह गरिरहँदा मेसुले सकेसम्म फोन नै रिसिभ गर्दैनथे, उठाइहाले पनि अहिले बेड र अक्सिजन दुवै छैन भनेर ठाडो जवाफ दिन्थे । अस्पताल व्यवस्थापनको सबै जिम्मेवारी हेल्थ असिस्टेन्ट दोर्ण वलीको जिम्मामा । प्रायः चौबीसै घण्टा उपलव्ध हुने स्वास्थ्यकर्मी एवं व्यवस्थापक बनेका छन् युवा स्वास्थ्यकर्मी दोर्ण वली । वडाध्यक्ष वा नगर प्रमुखलाई अनुनय र विनय गरेपछि मात्रै वेटिङमा वेड उपलव्ध हुन्थ्यो । वेड पाए पनि अक्सिजन नपाउँदा कतिले त अक्सिजन नपाएर फ्याक्फ्याक गर्दै देहत्याग गरेको पनि स्वयं स्वास्थ्यकर्मीले बताएका छन् ।

यस्तो अवस्थामा पनि घरमा अक्सिजन लुकाउनेको कमी थिएन, घरमै लुकाएको अक्सिजन सही तरिकाले प्रयोग गर्न नजान्दा देउखुरीका एक बिरामीको अस्पताल आउन नपाउँदै घरमै निधन भयो । पछि उनका आफन्तले घरमा रहेका दुवै सिलिण्डर पसलमा फिर्ता गरे ।

यहाँ रहेका उद्योगहरुले पनि केही बिरामीलाई लिक्विड अक्सिजन उपलव्ध गराउन थाले । सामाजिक संस्थाहरुले पनि सिलिण्डर कलेक्सन गर्न थाले अनि सांसदहरुले पनि राजधानीबाट केही सिलिण्डर ल्याउन थाले । दाङ जिल्लामै स्थापना भएर पनि चल्न नसकेको अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाका संक्रमितहरुका लागि आइसोलेसन बेड सञ्चालनमा ल्याइएको छ ।

‘सक्नेहरु हेलिकोप्टर चार्टर गरेर राजधानी लगिँदा आफ्नो मुटु्ले पनि ठाउँ छाडेजस्तो लाग्थ्यो, छेउकै बिरामीको निधन हुँदा आफ्नो पनि स्वास रोकिएको अनुभूति हुन्थ्यो’, भर्खरै सो अस्पतालबाट संक्रमणमुक्त भएर घर फर्केका एकजना स्थानीयबासीले नाम उल्लेख नगर्ने शर्तमा यस सम्वाददातालाई भने । उनको भनाइमा अस्पतालमा अत्यधिक खट्ने भनेका नर्स, अहेव नै रहेछन्, ठूला विशेषज्ञ डाक्टरको नियमित सेवा त मुस्किल नै रहेछ ।

तर अचेल घाट पनि विस्तारै सुनसान हुन थालेका छन् । विस्तारै सहज बनेको अनुभूति हुन थालेको छ । एम्बुलेन्सका आवाजसँगै हेलिकोप्टर पनि बिरामी लिन आउन छाडेका छन् । दैनिक संक्रमितहरुको दर पनि केही कम भएको छ । निको हुनेको दर उत्साहजनक रहेको छ भने निधन हुनेहरुको संख्या र दरमा पनि धेरै कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ । यद्यपि कोरोना भाइरसको संक्रमण भने अझै पनि नियन्त्रणमा आउन सकेको छैन ।

लकडाउन थपिइरहँदा तुलसीपुर उपमहानगरपालिकाले एउटा अस्पताल सञ्चालनमा ल्याएको छ । अश्वारामा अस्पताल सञ्चालनमा आएपछि केही राहत भएको तुलसीपुरबासीहरुले बताएका छन् । तर शहर बजार क्षेत्रमा संक्रमण धेरै कम भए पनि गाउँबस्तीमा भने पछिल्लो समयसम्म पनि सिकिस्त बिरामीहरु भेटिन थालेका छन् । जसको कारण संक्रमण लुकाउने र अव्यवस्थित तथा स्वघोषित होम आइसोलेसन हो ।

सामान्य रुघाखोकी र ज्वरो आएको भन्दै आफैले पैसा तिरेर परीक्षण नगराउने तथा स्थानीय सरकारले पनि कन्ट्रयाक्ट ट्रेसिङका आधारमा निःशुल्क परीक्षणको व्यवस्थापन गर्न नसक्दा ग्रामीण बस्तीमा संक्रमणको डढेलो कायमै रहेको छ ।