भेरी अस्पताल नेपालगंजमा खाजा बैंक

दाङ,१६ जेठ । बाँकेको नेपालगंजमा रहेको भेरी अस्पतालमा कोभिड संक्रमित विरामी र उनीहरुको कुरुवाको सहजताका लागि खाजा बैंक सञ्चालन गरिएको छ । रारा मानवीय तथा वातावरणीय स्रोत बिकास प्रयास (रेरी बाँके) ले कोभिड संक्रमित बिरामी र कुरुवाको सुविधालाई ध्यान राखेर निःसुल्क स्वस्थ र अर्गानिक नास्ताका लागि खाजा बैंक सञ्चालन गरेको हो ।

अस्पतालमा सञ्चालन गरिएको खाजा बैंकलाई सफल बनाउनका लागि अभियानमा विभिन्न संघसंस्था, दातृनिकाय तथा व्यक्तिहरुलाई व्यक्तिगत रुपमा सवैको सहयोगको अपेक्षा गरिएको संस्थाका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार रेरी–बाँकेले कोभिड महामारीको पहिलो चरणदेखि नै यस विषम परिस्थितिसँग जुध्न स्वास्थ्य सामाग्री वितरण, अलपत्र परेकालाई नागरिकलाई खाना तथा यातायात, बिपन्नलाई खाद्यान्न, स्वास्थ्य संस्थामा जनशक्ति सहयोग तथा व्यवस्थापन गर्दै आएको छ ।

साथै जेठ १६ देखि भेरी अस्पतालमाको समन्वयमा तिनजना सरसफाइ कर्मचारी र एकजना स्वास्थ्य–स्वयंसेवक कारितास जर्मन र कारितास नेपालको साझेदारीमा राख्ने व्यवस्था मिलाइएको समेत संयोजक पौडेलले बताए । कोभिड–१९ सँग लड्न बाँकेलगायत दाङ, सल्यान, बर्दिया र कैलाली जिल्लाका विभिन्न सामुदायिक तथा सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री बितरणको योजना रहेको संस्थाका अध्यक्ष पुनितबिक्रम शाहले जानकारी दिएका छन् ।

रेरी बाँके करिब २० बर्षदेखि पश्चिम नेपालमा मानवीय संसाधन बिकास, अपांगताका भएका व्यक्तिहरुको हकहित, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, जिबिकोपार्जन तथा जनस्वास्थ्य सुधारको क्षेत्रमा काम गर्दै आएको छ ।