Goraksha

National Daily

नैतिकताका आधारमा राजीनामा दिएः बाँस्कोटा

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राजीनामा दिएको बताएका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेका बाँस्कोटाले बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।

राजीनामापछि सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले लेखेका छन् । मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु। धन्यवाद।

यसअघि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बाँस्कोटाले राजीनामा दिएको सदनलाई जानकारी दिएका थिए।

बाँस्कोटाको राजीनामापछि दुई मन्त्रालयमा नेतृत्व खाली भएको छ। गत पुस २५ देखि बाँस्कोटाले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए।

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र बाँस्कोटालाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका थिए।

त्यतिबेला खाली भएको कानुन मन्त्रालयमा केही दिनअघि शिवमाया तुम्बाहाङ्फे मन्त्री नियुक्त भइसकेकी छन्।