रेष्टुराँमा खाएर जोगिन्छन्, प्रकृतिका कुचीकार गिद्ध

  •   
  •  

योगमाया योगी

दाङ, १९ बैशाख ।

दाङ र आसपासका मानव बस्तीका आकाशमा संरक्षित गिद्धहरूको उडान बढ्न थालेको छ । रेष्टुराँका साथै उपचार केन्द्रहरूले गिद्धका लागि अनुकूल वातावरण निर्माण गरेपछि गिद्धहरूको सङ्ख्या बढेको र पाहुना गिद्ध पनि थपिएकाले आकाशमा तिनको उडान बढेको हो ।

        लोपोन्मुख भइसकेका प्रकृतिका कुचीकार गिद्धहरू बढ्न थालेपछि दाङ जिल्ला र आसपासका क्षेत्रको प्राकृतिक शुद्धिकरणमा सकारात्मक प्रभाव परेको छ । गिद्धले पर्यावरण चक्र र सनातन खाद्य शृङ्खलालाई सन्तुलनमा राख्न र गतिशील बनाउन सघाएका छन् ।

संरक्षणका लागि जटायु रेष्टुराँ

        गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले स्थानीय समुदायको सक्रियतामा देशमा खोलिएका सातमध्ये दुईवटा जटायु रेष्टुराँ दाङमा छन् । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले तुलसीपुर उपमहानगरपालिका–१९ स्यालापानी, बिजौरीमा २०६४ र पशु बृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रले राप्ती गाउँपालिका–२ लालमटियामा २०६५ सालमा जटायु रेष्टुराँ सञ्चालनमा ल्याएका हुन् । यी त्यस्ता रेष्टुराँ हुन्, जहाँको भोजनमा सिनोको व्यवस्था हुन्छ र दुर्लभ पक्षी गिद्धले स्वस्थकर सिनो खान पाउँछन् । गिद्धहरू सिनो खानकै लागि टाढा–टाढाबाट पनि उडान भर्दै त्यहाँ आउँछन् ।

        पशु बृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रले कालिका सामुदायिक वनलाई कार्यक्षेत्र बनाएर लालमटियामा जटायु रेष्टुराँ सञ्चालनमा ल्याएको छ । रेष्टुराँमा गिद्धहरूलाई डाइक्लोफेनेक तथा विषादीरहित सिनो आहार दिइन्छ ।

        जटायु रेष्टुराँ चलाउन पशुवध गरिँदैन । सिनोको जोहो गर्न किसानहरूकहाँ गएर बृद्ध, अशक्त र बेकामी भइसकेका गाईवस्तुहरूलाई सङ्कलन गरी ल्याइन्छ र बाँचुञ्जेल पालिन्छ । रेष्टुराँमा छाडा पशुचौपायालाई पनि राखिन्छ, पालनपोषण गरिन्छ । तिनीहरूको प्राकृतिक मृत्यु भएपछि मात्रै तिनलाई काटकुट गरिन्छ र गिद्धको आहारा बनाएर पस्किने काम हुन्छ ।

        अनुसन्धान केन्द्रका अध्यक्ष तथा गिद्ध संरक्षण अभियन्ता डिल्लीबहादुर रावतले जिल्लामा अपत्यारिलो रूपमा गिद्धको सङ्ख्यामा कमी देखिन थालेपछि केन्द्र सञ्चालन गरेर संस्थागत रूपमा नै गिद्ध संरक्षण कार्य थालिएको जनाए । केन्द्रले गिद्ध रेष्टुराँसमेत सञ्चालनमा ल्यायो । उनले भने, “गिद्धका लागि डाइक्लोफेनेक तथा विषादीरहित आहारको मेनुकार्ड तयार ग¥यौँ र स्वास्थ्य अनुकूलका आहार उपलब्धसमेत गरायौँ । त्यस्तो आहारले गर्दा न्यून सङ्ख्यामा बचेका गिद्धहरू स्वस्थ हुन थाले । उनीहरूको प्रजनन् क्षमतासमेत बृद्धि भयो । गिद्धको सङ्ख्यामा पनि बृद्धि भयो । सिनो खानका लागि अन्य क्षेत्रबाट समेत गिद्धहरू यस क्षेत्रमा आउन थाले ।”

        केन्द्रबाट खटिएको अध्ययन समूहले २०७५ माघदेखि चैतसम्म गरेको अध्ययनबाट गिद्धका १५० भन्दा बढी गुँडसमेत भेट्टाएको जनाएको छ । काँडाखुटीस्थित सम्झना सामुदायिक वन क्षेत्रमा ३२, बाघमारे विष्णुपुर सामुदायिक वनमा २८, रामपुर चरिङ्गे दह र आसपासको क्षेत्रमा २८ र कप्तानगञ्जमा २८ वटा त गुँडहरू नै फेला परेका छन् ।

        “त्यो गुँडको सङ्ख्या मात्र हो । रेष्टुराँ सुरु गर्नुअघि यस क्षेत्रमा जम्मा आठ वटा जति गिद्धका गुँडहरू थिए होलान् भने थोरै सङ्ख्यामा देखिने गरेका गिद्धहरू पनि हाल चार–पाँच सयभन्दा बढीका सङ्ख्यामा देखिन थालेका छन्”, अभियन्ता रावतले भने । कप्तानगञ्जमा फेला परेका गुँडमा २८ बच्चासहित ८४ वटा गिद्ध थिए । उनका अनुसार, एकै स्थानमा धेरै गुँड भएको कप्तानगन्ज गिद्ध संरक्षण र अनुसन्धानका लागि उपयुक्त स्थल पनि हो ।

        पशुपक्षीका लागि हरेक साता स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको गिद्ध संरक्षण केन्द्रका संयोजक यमबहादुर रोका मगरले बताए । संयोजक मगरको अनुभवमा पनि रेष्टुराँ सञ्चालनमा आएपछि गिद्धहरूको सङ्ख्यामा बृद्धि भएको छ । अन्य जिल्लाबाट पनि गिद्धहरूको आगमन हुने गरेको छ । हिमाली गिद्धहरूसमेत हिउँदको समयमा यहाँ देखापरेका छन् । गिद्ध संरक्षण अभियन्ता रावतका अनुसार, गिद्धको रँङ, शरीरको आकार र बनावटबाट उसको प्रजाति छुट्याउने गरिन्छ ।

        संयोजक मगरको बुझाईमा गिद्ध रेष्टुराँ चलाउनुका धेरै फाइदा छन् । आहारा खानका लागि रेष्टुराँमा आएका गिद्धलाई नजिकबाट नियाल्न पाइन्छ, उनीहरूको क्रियाकलाप हेर्न सकिन्छ । उनीहरू स्वस्थ भएको वा नभएको पनि चाल पाउन सकिन्छ । उनले भने, “गिद्धहरूमा केही समस्या देखियो भने उपचार केन्द्रमा लगेर उपचार गर्ने गरिएको छ ।” त्यसैले पनि गिद्ध सुरक्षित छन् भन्ने उनलाई लाग्छ ।

        गिद्ध संरक्षण अभियानमा लागेका संस्थाहरूले दाङमा गिद्धका लागि रेष्टुराँ मात्रै सञ्चालन गरेका छैनन्, उनीहरूले बस्ती–बस्तीमा गिद्ध संरक्षणसम्बन्धी चेतनासमेत विस्तार गर्दै आएका छन् । वातावरणलाई सफा र स्वच्छ राख्न सघाउने प्रकृतिका विशिष्ट प्राणी गिद्धको जीवन चक्रमा घातक असर पार्ने कुनै पनि क्रियाकलाप नगर्न स्थानीय व्यक्तिलाई सम्झाउने गरेका छन् । गाउँघरमा बृद्ध भएका पशुचौपायाहरूलाई सङ्कलन गरी गिद्ध रेष्टुराँमा ल्याएर बुझाउनसमेत सुझाउने गरिएको जानकारी गिद्ध संरक्षण अभियन्ता रावतले दिए ।

        दाङ डाइक्लोफेनेक मुक्त भएको घोषणा गरिएको पहिलो जिल्ला पनि हो । सन् २०१० मा यहीँबाट डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गर्ने अभियान सुरु भएको थियो ।

किन गर्ने गिद्धको संरक्षण ?

        घरपालुवा पशुचौपायाहरू मरेपछि जङ्गल तथा मानव बस्ती आसपास फालिन्छ । त्यसरी फालिएका र जङ्गलमा मरेका जनावरहरूलाई गिद्धले आहारको रूपमा प्रयोग गर्दछ । “गिद्धहरूले ती बेवारिसे सिनो नखाने हो भने त्यसबाट निस्कने दुर्गन्ध, सिनोबाट उत्पन्न हुने जिवाणु÷विषाणुहरू मानव बस्तीसम्म पुग्न सक्छन् । बेवारिसे सिनो कुहिएमा रेविज, आउँ, हैजा, प्लेग, झाडापखाला आदिको महामारी गाउँबस्तीसम्म फैलन सक्छ”, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) गिद्ध विशेषज्ञ समूहका सदस्य कृष्ण भुसालले बताए ।

        “गिद्धहरूको सङ्ख्या बढाउन सक्यौँ भने मरेका चौपायाका बेवारिसे सिनो रहनै पाउँदैन अनि सिनोबाट फैलने रोगहरू मानव बस्तीसम्म आउनै पाउँदैनन् । जथाभावी परिरहेका सिनोको सफाया गर्ने भएकैले गिद्धलाई प्रकृतिको कुचीकार भनिएको हो,” भुसालको विचारमा पर्यावरणीय चक्र र सनातन खाद्य शृङ्खला सन्तुलन र गतिशीलताको संवाहक गिद्धको उपस्थिति अनिवार्य छ ।

        यति महत्वपूर्ण गिद्धको संरक्षणमा भएका क्रियाकलापले अझैसम्म पनि मानवजन्य खतरालाई टार्न सकेको पाइँदैन । २०७८ बैशाख ७ गते नवलपरासीमा विष खुवाएर मारिएको कुकुरको सिनो खाएको केही समयमै एक हुल गिद्धहरू एकै ठाउँमा सोत्तर भए । तीमध्ये हिमाली गिद्ध ३३, डङ्गर गिद्ध ३१, राज गिद्ध दुई र खैरो गिद्ध एउटा गरी ६७ वटा गिद्ध मरे भने बाँकी एउटा बिरामी अवस्थामा भेटियो । अति सङ्कटापन्न, सङ्कटापन्न र संरक्षित यी गिद्धहरूको असामयिक र अस्वाभाविक मृत्युले पक्षी संरक्षणविद् र अभियन्ताहरू चिन्तित बने । देशमा गिद्ध संरक्षणका लागि सरकारी तवरबाटै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बेला पक्षी संरक्षणविद् डिबी चौधरीले एकैपटक ६७ वटा गिद्धको मृत्युलाई ठूलो क्षति मानेका छन् । कुनै पनि चौपायालाई विष हालेर मारियो र सो विषाक्त सिनो गिद्धले खाए भने विष लाग्छ र गिद्ध मासिन्छन् । यसबाट प्रकृतिको फोहर आफैं सफा हुने सुव्यवस्थित प्राकृतिक चक्र विथोलिन्छ । कालान्तरमा मानिसहरू आफैं खतरामा पर्छन् ।

        विश्व वन्यजन्तु कोष, नेपालसँग आबद्ध करुण देवानले २०७७ भदौ २० मा ‘हिमालखबर’ मा लेखेका थिए– एक अध्ययन अनुसार सिनो व्यवस्थापनको मूल्य तोक्ने हो भने एउटा गिद्धले करिब ११ हजार अमेरिकी डलर (करिब ने.रु. १३ लाख २० हजार) बराबरको आर्थिक सहयोग पु¥याउने देखाउँछ ।

कसरी घटेका थिए गिद्ध ?

        दुई दशक अघिसम्म पनि मानव बस्तीकै छेउछाउमा गिद्धहरूले सिनो लुछिरहेको दृश्य देख्न सकिन्थ्यो । अहिले त्यस्तो स्थिति छैन । नेपाल पक्षी संरक्षण संघबाट प्राप्त जानकारी अनुसार, सन् १९८० को दशकमा नेपालमा रहेका १० देखि १६ लाख गिद्धहरू आज २० हजारभन्दा कम सङ्ख्यामा सीमित छन् । सन् २००२ देखि २०११ सम्म पूर्व–पश्चिम राजमार्गमा गरिएका सर्वेक्षणमा डङ्गर गिद्धको सङ्ख्या ९१ प्रतिशत र सानोखैरो गिद्ध ९६ प्रतिशतले घटेको छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये डङ्गर, सानोखैरो, लामो ठूँडे र सुन गिद्ध आइयुसिएनको अति सङ्कटापन्न सूचीमा छन् । तीमध्ये पनि सेतो गिद्ध प्रजाति सङ्कटापन्न छ र हिमाली, हाडफोर र राज गिद्ध गरी तीन प्रजाति सङ्कटको नजिक छन् ।

        अप्राकृतिक र नाटकीय ढङ्गले गिद्धहरूको विनाश हुनुको प्रमुख कारण ‘डाइक्लोफेनेक’ नामक औषधी भएको वैज्ञानिक प्रयोगबाट पुष्टि भइसकेको छ । ‘डाइक्लोफेनेक’ पशुहरूमा सुन्निने तथा दुखाई कम गर्न प्रयोग गरिने औषधी हो । गिद्ध संरक्षण अभियन्ता तथा गिद्धबारे अध्ययनकर्ता कृष्ण भुसालका अनुसार, ‘डाइक्लोफेनेक’ प्रयोग गरिएका पशु उपचारको क्रममा सात दिनभित्र मरेमा त्यस्तो सिनो खाने गिद्धको शरीरमा मासुसँगै विष पनि प्रवेश गर्दछ । विषको असरले ‘भिसरल गाउट’ भएर शरीरका भित्री अङ्गहरूमा युरिक एसिड जम्छ र मृगौलाले काम गर्न छाड्छ । त्यसको केही दिनमै गिद्ध मर्छ ।

        गिद्धहरू समूहमा जोडी बनाएर बस्छन् । यिनमा बाँडीचुँडी खाने बानी हुन्छ । सिनो भेटेपछि एक्लाएक्लै होइन, समूहमा मिलेर खाने गर्दछन् । एउटा गिद्धले एक महिनामा औषत १० केजी सिनो खान्छ । डाइक्लोफेनेक प्रयोग भएर मरेको एउटै पशुचौपायाको सिनोबाट पनि सयौँ गिद्धको मृत्यु हुनसक्छ । ३० एमएल डाइक्लोफेनेक प्रयोग गरिएको सिनोबाट आठ सय वटासम्म गिद्ध मर्ने भुसालको भनाई छ ।

सहअस्तित्व बोध र सहकार्यको प्रभाव

            गिद्धहरू मासिँदै जानु भनेको मानिसहरू पनि असुरक्षित हुँदै जानु हो । यसैले गिद्ध संरक्षणका लागि विश्वमा विभिन्न प्रयास भएका छन् । नेपालका पनि अधिकांश जिल्लामा विभिन्न संघसंस्था सक्रिय छन् । गिद्धको संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेक औषधीको प्रयोग, उत्पादन, आयात तथा निर्यातमा रोक लगायो । सबैजसो जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भइसकेका छन् । सरकार र सरोकारवाला समूहहरूको प्रयासबाट गिद्ध मासिने गति एकदमै कम भएको छ ।

         सन् २००८ मा चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन् केन्द्र सञ्चालनमा ल्याइयो । केन्द्रमा हुर्काइएका र त्यहाँ जन्मिएका गिद्धलाई सुरक्षित प्राकृतिक बासस्थानमा छाड्ने क्रम जारी नै छ । गिद्धका गुँडहरूको अनुगमन, गिद्धको सर्वेक्षण र वकालत एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरू पनि चलिरहेका छन् ।

        अन्तरदेशीय साझेदारीमा गिद्ध संरक्षण अभियान चलाउने उद्देश्यले सन् २०११ मा ‘सेभ’ अर्थात् ‘एसियाली गिद्ध लोप हुनबाट बचाऔँ’ भन्ने मञ्चको स्थापना गरियो । नेपालबाटै गिद्ध सुरक्षित क्षेत्रको वैज्ञानिक अवधारणामा आधारित संरक्षण कार्यक्रमहरू पनि सञ्चालनमा आइरहेका छन् । गिद्धहरूको अकाल र अप्राकृतिक मृत्युलाई रोकेर मानव बस्तीलाई सफा, स्वस्थ र स्वच्छ राख्ने काम भइरहेको छ ।

चुनौती बाँकी नै छन्

          प्रयासहरू जारी हुँदाहुँदै पनि गिद्ध संरक्षणमा चुनौतीहरू बाँकी नै छन् । स्थानीय समुदायको सक्रियतामा नवलपरासीको पिठौलीमा २०६३ सालमा विश्वमै पहिलो समुदाय स्तरको जटायु रेष्टुराँ खोलियो । त्यसपछि देशका अन्य ६ स्थानमा जटायु रेष्टुराँ खुले तर पछिल्लो समयमा गिद्धहरूको संरक्षणका लागि गिद्ध रेष्टुराँ सञ्चालनमा केही समस्या देखिएको छ । संरक्षण केन्द्रका संयोजक यमबहादुर रोका मगरका अनुसार, अग्ला रुखहरूको कटान गरिएको छ भने अधिकांश रुखहरू आफैँ सुकेकाले गिद्धको वासस्थान अन्यत्र सरेको छ । संरक्षण केन्द्र नजिकै सुरक्षकर्मीको तालिम केन्द्र भएकाले थप समस्या परेको छ । तालिमको क्रममा फायरिङ गर्दा आउने ठूलो आवाजले गिद्ध डराएर भाग्छन् । उनका अनुसार, त्यस क्षेत्रमा गिद्धका ५० भन्दा बढी गुँड रहेका छन् ।

       नेपाल पक्षी संरक्षण संघका अनुसार, पछिल्ला दिनहरूमा गिद्धहरू घट्ने क्रम रोकिएको अध्ययनहरूले देखाएका छन् तथापि गिद्धहरू अझै सङ्कटमुक्त र सुरक्षित भइसकेका छैनन् । पशुहरूमा प्रयोग गरिने डाइक्लोफेनेकको पशु उपचारमा अवैधानिक प्रयोग, सिनोमा विष हाल्ने, किटोप्रोफी, निमुस्लाइड र एसिक्लोफेनेकजस्ता औषधीहरू पनि गिद्धका लागि हानिकारक ठहरिएका छन् । अन्य पर्यावरणीय चुनौती पनि छन् । पर्यावरण चक्र र सनातन खाद्य शृङ्खलाको सन्तुलनलाई अवरुद्ध हुनबाट जोगाउन सदैव सचेत प्रयासको खाँचो पर्छ । खासमा गिद्धका वासस्थान संरक्षित क्षेत्रबाहिर सामुदायिक तथा निजी वनमा रहेका छन् । तिनको संरक्षणमा मानवीय अपनत्व जगाउँदै जनसहभागिता बढाउन पनि बाँकी नै छ ।

(यो आलेख/फिचर इन्टरन्युज/अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन

नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिता : रिपोर्टिङ कार्यशालापछि तयार पारिएको हो ।)