जिम्मेवारहीन सरकार र नागरिक स्वास्थ्य

विनोद पोख्रेल

२०७७ असार ११ गते

आज फेरि बादल छ, गमक्कै । पानी पनि खस्ने र रुक्ने गरिरहेको छ । अब त म एकोहोरो रुपमा यो वर्षालाई समर्थन गर्ने भएको छु । वर्षा लाग्यो, आज असारको ११ गते भइसक्यो । असारको १५ मा धान रोपाएको म आफैलाई पनि अनुभव छ ।

त्यसका लागि दुई वा तीन दिन जति पहिलेबाटै तयारी गर्नुपर्ने पनि थाहा छ । त्यो तयारीको क्रममा पानी आवश्यक हुन्छ । बरु आशा गरौँ यसपल्ट पानी राम्ररी पर्छ र धान राम्रो हून्छ । त्यो आवश्यक पनि छ । घरमा भकारी भए खानाको चिन्ता हुँदैन । अहिलेको लकडाउनले समेत यो कुरा देखाएको छ ।

त्इही भकारीको भरमा बाँच्नेहरुलाई लकडाउनले अत्याएकै छैन । आत्तिएका त अन्य कारोबार गर्नेहरु नै हुन् । जसको धेरै कारण छन् । सामान नबेचेर बिग्रन सक्ने, व्याज र किस्ता बुझाउन नसक्ने आदि आदि । भकारी भएकाहरुले मानसिक रुपले मात्रै आत्तिएका छन् ।

आजकोलि त हामी जस्तालाई लकडाउन छ कि छैन त्यो पनि थाहा छैन । मानिसहरु डुलेकै छन् । आवश्यक सामाज घररमा पुगेकै छन् । अहिले त रोग असर पनि अस्पतालमा मात्रै छ जस्तो लाग्छ । आम नागरिक निर्धक्क छ । हुन त प्रधानमन्त्रीले सदनमा भाषण गर्दा तातो पानी र बेसार खाने, हाछ्यूँ गर्ने र उडाइदिने भन्ने देशका नागरिक पनि त कम्ताका छन् कुरो भएन ।

अब मनसुन सुरु भएपछि त खेतीपातीकै लागि पनि मानिस बाहिर आउन वाध्य छ । खनजोत, कुलोपानी, वीऊ, मल आदिका लागि बाहिर आउनै पर्छ । त्यसकारण लकडाउनका बारेमा अब सोच्न परेको छैन ।

वर्षा नै सुरु भएपछि धेरै पानी प¥यो भने र आत्तिने, मिच्छिने पनि गर्नु परेन । सबैलाई सहज रुपमा लिएको छु । सहज रुपमा लिने हो भने सबै स्वाभाविक लाग्छ । अझ भनौँ स्वाभाविक रुपमा लिने हो भने सबै सहज लाग्छ । अहिले मातिका दुई विषयलार्य सहज रुपमा लिन सक्ने भएको छु । मेरो ठूलो समस्या भनेको अरुबाट केही भनी माग्न नपरोस् भन्ने हो । मैले सुने अनुसार बजारमा पुलिसले त्यत्तिकै हिड्दा मास्क लगाउने भन्छ रे । यो मास्क लगाउन मलाई एउटा समस्या जस्तो लाग्छ ।

नलगाएर अथाव बानी नपरेर त होला । धेरै अप्ठ्यारो अनुभव हुन्छ होला जस्तो लाग्छ । एक–दुई दिन घरमा लगाएर अभ्यास गर्नु पर्छ कि जस्तो समेत लागेको छ । हुन त अरुले लगाएको देख्दा पनि मैले अप्ठ्यारो मान्छु । कतिलाई त चिन्न समेत धौ हुन्छ । फेरि स्वभाविक स्थितिबाट एउटा नयाँ कुरा ‘मैले अहिलेसम्म प्रयोग नगरेकोले नयाँ भने’लाई सहज रुपमा एकै पटकबाट लिन सक्ने मेरो क्षमता नभएर पनि होला अथवा मन नलागेर पनि होला ।

म अलि पुरातन सोच भएको पो छु कि ? नयाँ कुरालाई सहज रुपमा लिन नसक्ने । जे होस् यो मेरो विषय हो । तर यसले अप्ठ्यारो परेकै छ । वाध्यताले विवश भएर मास्क लगाउनु परे लगाउँला । यो स्थितिको विरोध गर्न पनि सक्दैन । यही द्वन्द्वले पनि बजार घुम्न गएको छैन ।

यस्तो सोच वा यस्तो हठ भनौँ टिक्ने हट होइन । आफूलाई परिवेशको अनुकूल बनाउन सक्नु पर्छ । नसके एकलकाँटे भएर बस्नु पर्छ । मलाई लकडाउन पनि मञ्जुर छैन । मास्क लगाउन पनि मन छैन । एकलकाँटे भएर बस्न पनि मन छैन । यस्तो त भएन । यस्तो स्वभाव व्यावहारिक हुँदैन । मैले आफूलाई केही कुरामा सुधार गर्नै पर्छ ।

धेरैले मास्क चिउँडोमा लगाएको पनि देखेकै छु । केही सीप नलागे लाउनै पर्ने ठाउँमा मुखमा लगाउने अन्यथा गोजामा वा चिउँडोमा लगाएर भए पनि आफूलाई अनुकुल बनाउनै पर्छ ।

२०७७ असार १२

आज म स्वस्थ छैन । पेट पनि ठिक छैन । त्यसैले होला निद पनि राम्ररी परेन । एकै दिनमा पेटले अलि धेरै सतायो । यस्तो अलि लामो समयपछि भयो । शरीर स्वस्थ नभएपछि लेख्न पनि मन छैन । राति त नलेख्ने नै मन बनाएको थिएँ । तर अहिले उठेर नियमितता धान्न मन लाग्यो । अथवा भनौँ आफ्नो प्रतिवद्धता पूरा गर्न मन लाग्यो । यो प्रक्रियालाई साधनाभन्दा केहीँ उचित हुन्छ थाहा छैन । किनभने मैले साधनालाई बुझे अनुसार आफै एउटा नियम बनाएर त्यो नियमलाई अक्षरसः पालना गर्नु साधना हो ।

त्यो नियम लिखित हुँदैन वा प्रतिबद्धताको रुपमा आफ्नो मनमस्तिष्कमा हुन्छ । यति त मैले गर्नैपर्छ भन्ने भावना त्यो प्रतिबद्धताले जगाउँछ र केही गरिन्छ । अर्को पक्ष पनि छ । साधना केही प्राप्तिको लागि भनौ वा केही निश्चित उद्देश्य बनाएर गरिने विषय हो । यहाँ प्राप्तिको केही कुरा छैन । यस्तोलाई निरपेक्ष साधना भने ठिक हुन्छ कि ! आफै मनमा आउँछ मेले साधना गर्नै सक्दैन । आफ्ना भावनालाई जस्ताको त्यस्तै कापीमा कोर्न केको साधना ? साधनामा त चिन्तन हुनुप¥यो, क्षेत्र वा पक्ष हुनुप¥यो । त्यसको हित गर्ने प्रण हुनुप¥यो आदि आदि ।

मेरो यो लेखाइमा त्यस्तो केही भएजस्तो लाग्दैन । तर पनि जो लेखेँ आजको मेरो शारीरिक, मानसिक अवस्थामा केही त लेखेँ नै जस्तो लाग्छ । मैले साधना भनेको के हो ? भनेर मेरो मनमा जागेको जिज्ञाशा यहाँ जस्ताको त्यस्तै राखिदिएँ । कहिल्यै फेरि स्वस्थ मानसिकताले चिन्तन गरेर साधनाबारे धारणा बनाइएछ भने त्यसबारे फेरि लेख्ने प्रयास गर्ने छु । उमेरले पनि हो कि यो विरामीले अलि बढी कमजोरीको अनुभव गराएको छ । अथवा पहिलेको बिर्सेको पनि हुनसक्छ । विहानभरि सुत्ने सोचेको थिएँ । सुत्न पनि सकेन । सबै केी शिथिल भएजस्तो, त्यसमा पनि घुँडाहरुमा बढी प्रभाव परेको अनुभव भइराखेको छ ।

एउटा भनाई छ संस्कृतमा ‘शरीर माध्यम् खलु धर्म साधनम् ।’ यहाँ धर्म भन्नले पूजापाठ, जप, तप मात्रै बुझ्दा गलत हुन्छ । बरु धर्मले व्यक्तिको जिम्मेवारी कर्तव्य आदिलाई समेट्छ । त्यसको लागि शरीर माध्यम हो । अथवा सबै आफ्ना कर्तव्य र जिम्मेवारीहरु पूरा गर्न शरीर चाहिन्छ र स्वस्थ शरीर चाहिन्छ । अरु यो कुरो एकदमै ठिक लागेको छ । शरीर स्वस्थ भएन भने अति सीमित सोच, आफ्नै चिन्ता अनि कति कुरा अरुले थाहा नपाए पनि हुन्थ्यो जस्तो भावना आउने हुन्छ । जब कि स्वास्थ्य ठिक छ भने सोच नै विस्तृत हुन्छ । जसमा समाजको आर्थिक, राजनीतिकलगायत सबै पक्षहरु समेटिन सक्छन् ।

हामी एक दिन विरामी भयौँ भने यति धेरै कुरामा प्रभाव पर्छ । अब सोचौँ कोही लामो अवधिसम्म केही असाध्य रोगको शिकार भएको छ भने उसले के–कस्तो कुरो सोच्ला ? विरामी हुन भनेको कुनै प्रकारले केही विकृतिको प्रभाव पर्नु र सामान्य अवस्थामा नहुनु हो भने अहिलेको हाम्रो देश र हाम्रो समाज कति धेरै विरामी छ ? त्यहाँ के कस्तो होला ? व्यक्तिगत रुपमै भन्ने हो भने पनि म मात्रै त विरामी छैन हुँला ? उनीहरुका उमेर पनि अलग अलग होलान् । समस्या पनि अलग अलग होलान् ।

त्यसैले सोच पनि अलग अलग नै होलान् । आजभोलि त विरामीलाई केही अनुभव नै नहुँदै त संक्रमित छन् भनेर जबर्जस्ती विरामी बनाउने काम पनि भइराखेको छ । व्यक्ति ठिक छ । उसमा केही समस्याको अनुभूति नै छैन । तर उसलाई विरामी भने त अलग बस्न लगाउने गर्दा स्वस्थ मानिस पनि सोचि–सोचि बिरामी होला जस्तो लाग्छ । विरामी हुनु एउटा कुरो हो भने विरामी बनाइनु अर्को कुरो हो ।

कहिले त यहाँ त्यो पनि भइराखेको छ जस्तो पनि लाग्छ । जे भए पनि स्वास्थ्य एकदमै आवश्यक पक्ष हो भन्नेमा कुनै शंका छैन । हो दुःख लाग्ने कुरो यस्तो पक्ष समेत वर्तमान सरकारले आफ्नो जिम्मेवारीमा राख्न नसक्नु वा नचाहनु हो । आम नागरिकको स्वास्थ्यको समेत जिम्मेवारी आफूले नलिएर प्राइभेट क्षेत्रलाई दिनेले अरुले राम्रो गर्ला ?