calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

डोजर काण्डको कांग्रेसले पनि छानबिन गर्ने

काठमाडौं,५ कार्तिक । नेपाली कांग्रेसले बैतडीको दशरथचन्द नगरपालिकामा सडक खन्ने क्रममा स्थानीय बासिन्दामाथि स्काभेटरले धक्का दिएको घटना छानबिनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । कांग्रेसले दशरथचन्द नगरपालिका–९ मा सडक खन्ने क्रममा स्काभेटरको बकेट (खन्ने भाग) ले हिर्काएर घाइते बनाएको घटनाको छानबिन गर्न कञ्चनपुरका पूर्वसभापतिसमेत रहेका संविधानसभा सदस्य बहादुरसिंह थापालाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको हो ।

“पार्टीका तर्फबाट घटनास्थलमै पुगेर स्थानीय नागरिक, स्थानीय सरकार, राजनीतिक दलहरु, स्थानीय प्रशासन, सञ्चारकर्मी एवं आवश्यक व्यक्तिहरुसँग संवाद गरी आवश्यक निर्णय लिन र प्रतिवेदन पेश गर्न केन्द्रीय प्रतिनिधिका रुपमा बहादुरसिंह थापालाई बैतडी पठाइएको छ,” कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कञ्चनपुर जिल्लाका पूर्वसभापतिसमेत रहनुभएका संविधानसभा सदस्य थापाले आजै ९मंगलबार० साँझबाट बैतडीमा आफ्नो जिम्मेवारी प्रारम्भ गर्नुहुने जानकारी पनि सबैमा गराइन्छ ।”

नगरपालिकाले सहमतिको प्रयत्न गर्दागर्दै स्थानीय नागरिकलाई विश्वासमा नलिएर सोमबार एकपक्षीय रुपमा सडक खन्ने क्रममा भएको घटनाप्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“विकासका कुनै पनि कार्यबाट सम्बन्धित क्षेत्रका नागरिक लाभान्वित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । तर सम्बन्धित क्षेत्रका नागरिकलाई विश्वासमा नलिने र स्काइभेटर प्रयोग गरी सडक निर्माण गर्ने कार्य अघि बढाउँदा विरोधमा उत्रिएका नागरिकमाथि ‘डोजर’ चलाइएको घटना गम्भीर र अक्षम्य छ,” विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस यो घटनाको गहिरो छानविन गरी दोषीमाथि कडा कारवाही गर्न र घटनाका घाइतेलाई सम्पूर्ण उपचार गर्न सरकार समक्ष माग गर्दछ ।”