भुवन पोख्रेल
दूषित वायुका कारण काठमाडौं उपत्यकालगायत नेपालका प्रमुख सहरहरुमा जोखिमपूर्ण स्थिति सिर्जना भएको छ । यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने मात्र नभई विपत नै निम्त्याउँछ । जनजीवनमै असर पर्ने गरी एक्कासी फैलिएको घातक धुवाँले दिउँसौ अँध्यारो जस्तो भएको छ भने मानिसले आँखा र नाक पोलेको महशुस गरेका छन् ।
विशेष गरी यस्तो प्रदूषणले बृद्ध तथा बालकहरुको फोक्सो र आँखामा प्रत्यक्ष असर पार्दछ । विशेष गरी गर्मीको सुख्खा मौसममा आगलागी र डढेलोका कारण पनि वायुमण्डलमा धुवाँ मिसिएपछि पनि घातक स्थिति सिर्जना हुन सक्छ । यो हावाहुरीको मौसम हो हावा जोडले नचलेका कारण पनि प्रदूषणका कणहरु बाहिर जान नसकी वायुमण्डलको तल्लो तहसम्मै फैलिएका छन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वायुको गुणस्तर सूचकांक ३ सयभन्दा बढी हुनु घातक हो । काठमाडौँ उपत्यकामा गत शुक्रवार ४ सय ७० सम्म रेकर्ड भएको थियो । यसबाट पनि के पुष्टि हुन्छ भने उपत्यकाको वायुमण्डल रहेको आइक्यु एअरले काठमाडौंलाई विश्वका ९४ प्रदूषित सहरमध्ये पहिलो नम्बरमा राखेको थियो । स्वच्छ वातावरणमा बाँच्न पाउनु मोलिक हक हो । त्यसर्थ प्रदूषणबाट धेरै चिन्तित बन्नु परेको हो ।
प्रदूषणले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । प्रदूषणको कारण फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोका अन्य रोग, दम, निमोनिया, मस्तिष्क घातजस्ता समस्या हुन्छन् । नेपालमा प्रदूषणका कारण वर्षेनी हजारौँको संख्यामा विरामी पर्ने र प्रदूषणका कारण निम्तने रोगका कारण थुप्रै छन् । यसले दीर्घरोगीको संख्या पनि ह्वात्तै बढाएको छ । सहरलाई पर्यावरणीय र स्वास्थ्यका हिसाबले जोखिमरहित र बस्नलायक बनाउनुपर्ने राज्यको दायित्व हो ।
प्रदूषणको जोखिम कम गर्न सरकार उत्तरदायी बन्नुका साथै नागरिक पनि सचेत बन्नु पर्छ । प्रदूषणको मात्रा ह्वात्तै बढेको बेला काम नपरी कोही पनि बाहिर निस्कनु हुँदैन, घरभित्रै बस्नु पर्छ । बृद्धबृद्धा, दम, खोकी, श्वासप्रश्वास, मुटुका विरामी, बालबालिकालाई अझ बढी सतर्कता अपनाउनु पर्ने देखिएको छ । गाडीको प्रयोग गर्ने, डढेलो नियन्त्रणका उपायहरु अपनाउने गर्नु पर्छ । सरकारले प्रदूषण नियन्त्रणका लागि बनाएको कार्ययोजनाहरु कार्यान्वयन नभई कागजमै सीमित गरेका कारण विद्यमान अवस्था सिर्जना भएको हो ।
प्रदूषणको वायुमण्डलमा देखिएको धुवाँ र धुलोको कारण पोखरा जस्तो स्वच्छ र सुन्दर मानिने सहरमा समस्या देखिएको छ । सफा र स्वच्छ सहरको पहिचान बनाएको पोखराबासी चिन्तित बन्न पुगेका छन् । बाक्लो तुवाँलोका कारण भिजिविलिटी कम भई पोखराबाट हुने २० वटा उडान रद्ध भएका छन्, गत शनिवार । पश्चिमी र स्थानीय वायु जति चल्नुपर्ने हो त्यो नचल्दा प्रदूषण हट्न सकेको छैन, यो बेला हावाहुरी चल्ने समय हो, त्यो अनुसार हावाहुरी चल्न सकेको छैन । पानी परेर हावाहुरी चलेमा प्रदूषण घट्दै जान्छ तर अहिले पानी पर्न उतिसाह्रो सकेको छैन ।
लामो समयको खडेरीको प्रभावका कारण पनि यो पटक प्रदूषणको समस्या झेल्नुपरेको हो । मानवीय गतिविधिका कारण सहरहरु जोखिमयुक्त बन्दै गइरहेका छन् । वायुमण्डलमा धुलो, धुवाँ, विषालु ग्यासका कारण भिजिविलिटी पूरै घटाएको छ । भीषण वर्षा हुने सम्भावना पनि तत्काल नभएको मौसमविदहरु बताउँछन् । पछिल्लो समय सडक खन्ने, बाटोघाटो, पुलपुलेसा र निर्माणसम्बन्धी काम धमाधम भइहरेकाले वायुमण्डलमा धुलोको समस्या ह्वात्तै बढेको हो । सडक विस्तारका क्रममा यही ेला यहँ सडकको धुलो उडाउने काम हुँदा पनि असर परेको हो ।
वनजंगलको संरक्षण र मानवीय गतिविधि प्रकृतिका आधारित गरिनु पर्छ । तुवाँलोले काठमाडौं मात्र नभई सुन्दर, स्वच्छ चिनारी बनाएको सहर पोखरालाई पनि अस्तव्यस्त तुल्याएको छ । वायुप्रदूषणले गर्दा पर्यटकीय सहर पोखरा पछिल्लो केही दिनदेखि धुम्म छ । बाक्लो तुवाँलोले आसपासका डाँडाकाँडा ड्याम्मै छेकिएका छन् । यस्तो प्रदूषित वायुमण्डलमा कार्बनमोनोअक्साइड हुनसक्छ । कार्बन्डाइअक्साइड हुन सक्छ । हाइड्रोजनसल्फाइट हुनसक्छ । यी सबै किसिमका ग्यासले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्दछन् ।
प्रदूषणबाट जोखिन व्यक्ति आफैले आफ्नो स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्छ । अनावश्यक रुपमा घरबाहिर ननिस्कने, निस्कनु परे मास्कको प्रयोग गर्ने । डढेलो नियन्त्रणमा स्थानीय समुदायको भूमिका सशक्त हुनु पर्छ । विद्युतीय सवारी सञ्चालनलाई प्रोत्साहन दिनु पर्छ । सौर्य ऊर्जालाई प्रोत्साहित गर्नु पर्छ । पुराना र धुवाँ फाल्ने सवारी साधनलाई सञ्चालन गर्न दिनु हुन्न । अटेर गरेर चलाउनेलाई कारवाहीको प्रक्रिया थाल्नु पर्छ ।
प्रदूषित वायुमण्डलको कारण बृद्धबृद्धाको ज्यानै जान सक्छ तर अन्य उमेर समूहका मानिसलाई दीर्घ रोगी बनाउन सक्छ । सरकारले वायु प्रदूषण बढेको भन्दै सचेत हुन भनेको छ । नेपाल अधिराज्इका सबै विद्यालय बन्द भएका छन्, चार दिनका लागि वायु प्रदूषणबाट बढी प्रभावित हुने उमेर समूहमा विद्यालय जाने बालबालिका पनि पर्दछन् । यस्तो बेलामा घर बाहिरका गतिविधि कम गर्नु पर्छ । मौसममा सुधार नआउञ्जेल विद्यालय सञ्चालन रोक्न सकिन्छ । बृद्धबृद्धालाई बाहिर ननिस्कन चेतना जगाउन जरुरी छ ।
वर्षेनी गाडी पनि थपिएकै छन् । पहिला हरियाली भएका ठाउँमा अहिले कंक्रिट र पाखा छन् । तीव्र गतिमा सहरीकरण बढेको छ । अहिले एकाएक बढेको प्रदूषणको असर बिहान र बेलुका झन घातक र खतर्नाक हुने दिउँसोको तुलनामा वातावरणविदले बताएका छन् । केही दिनसम्म विहानपख प्रातकालीन पदयात्रा नगर्न पनि सचेत गरेका छन् । प्रदूषण कम नभए सवारी साधनमा पनि जोर–विजोर प्रणाली लागू गर्न सकिन्छ । प्रदूषणमा सुधार नआउञ्जेल सरकारले केही कदम चाल्नु पर्ने देखिन्छ ।
दिगो विकासको लक्ष्य नं. १३ मा जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने उल्लेख गरेको छ । यस्तै लक्ष्य नं. १५ मा स्थलीय पर्यावरणको संरक्षण, पुनःस्थापना र दिगो उपयोगको प्रबद्र्धन गर्ने, वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमिकरण र भूक्षय रोक्ने तथा जैविक विविधताको संरक्षण गर्ने छ तर दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न निर्धारण गरिएका सूचकहरु अझ व्यापक छन् । त्यसैले यी लक्ष्यहरुको प्राप्तिका लागि ठूलो धनराशी, परिश्रम, प्रतिबद्धता र निरन्तर प्रयासको आवश्यकता पर्छ । हाम्रो जस्तो भौगोलिक, राजनैतिक, सामाजिक, आर्थिक परिवेशमा यी लक्ष्यहरु प्राप्त गर्नु चुनौतीपूर्ण कार्य हो ।
नेपालमा वातावरणमैत्री विकास कार्यमा चुनौती देखिएको छ । वातावरणीय स्रोत साधनको उपयोगबिना विकासका कार्यहरु असम्भव हुन्छन् । प्राकृतिक स्रोतसाधनको सन्तुलित उपयोग भएन भने मानिसले ठूलाठूला प्राकृतिक विपदको सामना गर्नु पर्छ । हाल हाम्रो देशमा प्राकृतिक स्रोत, साधनको अनियन्त्रित शोषण भइरहेको छ । त्यसका नकारात्मक परिणाम देखिन थालेका छन् । विकास गतिविधिलाई वातावरणमैत्री बनाउनु पर्छ । हामी हावाबिना एक क्षण पनि बाँच्न सक्दैनौँ । हामी जीवित रहन र स्वास्थ्यलाई तन्दरुस्त राख्नका लागि शुद्ध र सफा हावा अति नै आवश्यक पर्छ ।
स्वच्छ हावामा नाइट्रोजन ७८ प्रतिशत, अक्सिजन २१ प्रतिशत, कार्बन्डाइअक्साइड शून्य दशमलव शून्य ४ र आर्गन तथा अन्य पदार्थ शून्य दशमल ९६ प्रतिशत रहेका हुन्छन् । यी वाहेक अन्य दूषित विषालु ग्यास हावामा मिसिनगएमा त्यसलाई वायुप्रदूषण मानिन्छ । हावामा विभिन्न प्रकारका पदार्थ वायोग्यास जस्तै धुम्रपान, वनजंगलको डढेलोबाट निस्केको धुवाँ, जीवजन्तु, रुखविरुवा, फोहरमैला, सडेगलेर प्राकृतिक रुपमा मिसिन गई वायुप्रदूषण हुन सक्छ ।
आजकल मानवीय गतिविधि, उद्योग, कलकारखाना, मेसिन चलाउने, कीटनजाशक औषधीको प्रयोग, बढ्दो सवारी साधन र वनविनाशका कारण वातावरण प्रदूषित बन्दै गएको छ । वातावरण सन्तुलनका लागि राष्ट्रमा ४४ प्रतिशत भूमिमा वनजंगलले ढाकेको हुनुपर्छ भन्ने भनाई छ । हाल नेपालमा वनजंगलले ढाकेको भाग २१ प्रतिशत मात्र छ । त्यसर्थ स्वास्थ्यलाई आवश्यक पर्ने अक्सिजनको मात्रा कम हुँदै गएको छ । सवारी साधनबाट निस्कने धुवाँले वायु प्रदूषणको समस्या सहरी क्षेत्रमा दिन प्रतिदिन बढ्दै छ ।
राजधानी काठमाडौं सहर धुलो, धुवाँ र बढ्दो सवारी साधनका कारण विश्वको तेस्रो प्रदूषित सहरमा पर्नु ज्यादै दुःखको कुरा हो । एउटा न्याय गाडीले एक टन पेट्रोल खपत गर्दा ७ सय ५० केजी धुवाँको रुपमा विषालु ग्यास फ्याक्छ । सवारी साधन जति पुरानो हुँदै गयो त्यति नै दूषित धुवाँ बढी निस्किन्छ । कार्बनमोनोअक्साइडले हाम्रो शरीरमा अक्सिजनको सञ्चारमा अवरोध गराउँदा मानिस बेहोस् हुने वा मृत्यु समेत हुनसक्छ । वायुप्रदूषणले मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गराउँछ ।
यसबाट उत्पन्न हुने मुख्य समस्यामा श्वासप्रश्वाससम्बन्धी रोग, स्नायु प्रणाली, मुत्र प्रणाली, पाचन प्रणालीमा र मुटुमा असर गर्छ । फोक्सो, आँखा आदिमा असर पर्छ । छालाको क्यान्सर, फोक्सोको क्यान्सर, टाउको दुख्ने, छाति दुख्ने, स्वास फेर्न गाह्रो हुने, क्रोमोजोममा असामान्य अवस्था अउन सक्छ । वायुप्रदूषण बढ्दै गएमा हवाई यातायातमा समस्या आउने, बाक्लो धुवाँका कारण सवारी साधनहरु दुर्घटनाग्रस्त अवस्थामा जाने, हरितगृहमा असर गरी पृथ्वीको तापक्रम बढ्ने, हिउँ पग्लने, वातावरण परिवर्तन भई कृषि उत्पादनमा ह्रास आउने आदि पनि हुनसक्छ ।
वातावरण प्रदूषणबाट बच्ने उपायहरुमा वनजंगलको ठूलो हात हुन्छ, वनजंगल फडाणी रोक्ने, वृक्षरोपण गर्ने जस्ता कार्यमा प्रोत्साहित गर्नु पर्छ । व्यवस्थित सहरीकरणको विकास गर्ने । आफ्ना घर अगाडि अनिवार्य रुपमा सरसफाई गर्ने, प्लास्टिक र धुवाँजन्य पदार्थहरु नजलाउने, पुराना सवारी साधन हटाउने गर्नु पर्छ । उद्योगधन्दा, कलकारखानाहरुलाई मानव बस्तीबाट टाढा राख्ने, सडकको गल्ली, खोलानाला, नदी, ताल आदिमा फोहरमैला फाल्न प्रतिबन्ध गर्ने, ढल निकाशको उचित व्यवस्था गर्ने, कलकारखानामा काम गर्दा माक्सको प्रयोग गरी सुरक्षित रहने व्यवस्था गरिनु पर्छ ।
इन्धनको रुपमा प्रयोग गरिँदै दाउरा, कोइलाको सट्टा गोबरग्याँस, विद्युतशक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिनु पर्छ । विद्यालय र समुदायमा वातावरणीय शिक्षा प्रदान गरी वायुप्रदूषणबारे यथेष्ट ज्ञान प्रदान गरिनु पर्छ । वायुप्रदूषणका कारण हाम्रा सहरहरु दिनप्रतिदिन दूषित बन्दै गएका छन् । निमोनिया, बोङकाइटिस, श्वासप्रश्वास प्रणालीमा क्यान्सर, छालासम्बन्धी समस्या, एलर्जी, आँखाका रोगहरु धुलोधुवाँको कारण बढ्दै गएका छन् । त्यसैले व्यवस्थित सहरीकरणको विकास गरी श्वासप्रश्वाससम्बन्धी समस्यालाई मुक्त गराउनु आजको आवश्यकता हो ।
वायुप्रदूषणका कारण हुने मृत्युको संख्या धुम्रपानबाट हुनेभन्दा धेरै भएको अनुसन्धानकर्ताको दाबी छ । रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा उनीहरुले युद्ध सहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको दाबी गरेका छन् । विषाक्त हावाले मानिसको बाँचने आयु घटाउँछ । वायुप्रदूषण मोटोपानाभन्दा पनि खतर्नाक हुन्छ । दक्षिण एसियामा वायुप्रदूषण रोक्ने हो भने त्यसले मानिसको औषत आयु बढाउन, क्यान्सर निको पार्न सकिएजस्तो फाइदा दिन्छ । विश्वभर वायुप्रदूषणका कारण मानिसको आयु २० प्रतिशतले घट्छ तर दक्षिण एसियामा त्यसको असर अझै भयावह छ ।
मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकारण फोहरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्यास, जनसंख्याको तीब्र बृद्धि, प्राकृतिक सम्पदामाथिको तीव्र दोहन आदि नै वातावरण प्रदूषणका प्रमुख कारक तत्व मानिन्छन् । वातावरण प्रदूषणबाट उत्पन्न हुने समस्याहरुमा मुख्यतया मरुभूमिकरण, वायुमण्डलीय धुमिलता, कृषि उत्पादनमा ह्रास, जैविक विविधतामा प्रतिकूल प्रभाव, अम्लीय वर्षा, भूक्षय तथा बाढी पहिरो, वनजंगलको विनाश, हरितगृह प्रभावद्वारा पृथ्वीको तापक्रममा बृद्धि र आणविक हिउँद तथा विश्वव्यापी उष्णता नै प्रमुख रुपमा रहेका छन् ।
पृथ्वी हामी सबैको साझा फूलबारी हो । यसलाई बचाउने भनेकै हामी मानव जातिले मात्र हो । वर्तमान पुस्ताका आवश्यकता पुरा गर्दै भविष्यका पुस्ताहरुको आवश्यकतालाई पूरा गर्ने क्षमतालाई सम्झौता नगरी गरने । विकास नै दिगो विकास हो । यसले वातावरणीय पक्षलाई अनावश्यक दोहन गर्न नहुने पक्षमा वकालत गर्छ ।