हात्तीपाइले रोग विरुद्धको एघारौं अभियान : ‘औषधि नखाए दुर्भाग्य हुनेछ’

  •   
  •  

खेमराज रिजाल

दाङ, १९ चैत । भोलिदेखि जिल्लाका प्रायः सबै पालिकामा एघारौं चरणको हात्तीपाइले रोग विरुद्धको आम औषधि वितरण अभियान सुरु हुनेछ । तपाईँहरुका पायक पर्ने खोप केन्द्रमा स्वास्थ्यकर्मीहरु हात्तीपाइले विरुद्धको औषधि र त्यससँगै खाने जुकाको औषधि पनि लिएर आउने छन् । डरलाग्दो समस्याका रुपमा रहेको यो रोगविरुद्धको औषधि नखाए तपाईँहरुको ठूलो दुर्भाग्य हुनेछ ।

यदि सरकारले थालेको यो एघारौं चरणसम्मको औषधि खुवाउने अभियानमा तपाईँले हात्तीपाइले विरुद्धको ६ डोज औषधि पनि सेवन नगरेका कारण तपाईँको शरीरमा हात्तीपाइले रोगको परजीवीले ग्रस्त बनायो भने त्यो तपाईँका लागि सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ । रोग गाँजिइसकेपछि विश्वका कुनै पनि सुविधासम्पन्न अस्पतालले हात्तीपाइले रोगको उपचार गरी पूर्णरुपमा निदान गर्न सक्ने छैनन् ।

जब तपाईँको परिवारमा हात्तीपाइले रोगले संक्रमित सदस्य छन् भने तपाईँको घरपरिवार सामाजिक बहिष्कारको पनि शिकार बन्न सक्नेछ, चेलीबेटीलाई विवाह गर्नका लागि पनि एकपटक अन्य मान्छेहरुले सोच्न बाध्य हुनेछन् । त्यस्ता विरामीका परिवारलाई पनि जीवनभर बेचैनी भएर समय बिताउनुपर्ने छ, किनकि जब हात्तीपाइले रोगको संक्रमणले व्यक्ति गाजिन्छ, त्यो पूर्णरुपमा अपांग हुन्छ ।

औषधि सेवन गर्दा केही व्यक्तिलाई रिंगटा लाग्ने, सामान्य ज्वरो आउने तथा वान्तासमेत हुने केही साना समस्या हुन सक्छन्, केही दिनमै ती समस्या हराएर जाने चिकित्सकहरुले बताएका छन् । त्यस्ता प्रतिक्रिया जुन व्यक्तिलाई देखिन सक्छन्, ती असर देखिएका व्यक्तिले आफ्नो शरीरमा भएको हात्तीपाइले रोगको परजीवीको मृत्यु भयो भन्ने सम्झनुपर्दछ । परजीवी नभएको व्यक्तिलाई कुनै असर नदेखिने पनि चिकित्सकहरुले बताउँदै आएका छन् ।

कहिँकतै भ्रमहरु पनि फैलिइरहेका छन् कि यो औषधि विश्व स्वास्थ्य संगठनले परीक्षणका रुपमा नेपालजस्ता अल्पविकसित मुलुकमा पठाएको हो । तर यो एउटा भ्रम मात्रै हो । यो शिक्षित मूर्खहरुले गरेको अनर्गल प्रचार मात्रै हो, किनकि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगर्नेको तथ्यांकमा ती शिक्षित बजारिया घरानाहरु देखिएको अघिल्ला बर्षका तथ्यांकहरुले देखाएको छ ।

त्यसै कारणले नेपाल सरकारको यो अभियान ६ बर्षमा पूरा हुनुपर्नेमा ११ बर्ष लागेको छ, जसले गर्दा नेपालको ठूलो धनराशि खर्च समेत भएको छ । निःशुल्करुपमा हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने ती शिक्षित मूर्खहरु क्लिनिकमा चिकित्सकले प्रिस्किप्सनमा लेखे सहजै रुपमा हात्तीपाइले विरुद्धको औषधि डिइसी सेवन गर्छन्, निःशुल्क रुपमा दिइने जुकाको अल्वेन्डाजोल पनि निर्धक्करुपमा क्लिनिकमा किनेर सेवन गरिदिन्छन् ।

हात्तीपाइले एउटा घातक सरुवा रोग पनि हो । संक्रमण भएको व्यक्तिलाई क्युलेक्स जातिको पोथी लामखुट्टेले टोकेर अर्को निरोगी व्यक्तिलाई टोक्यो भने उसमा पनि हात्तीपाइलेको परजीवी सर्छ । जब धागो आकारको परजीवी शरीरमा विकसित हुँदै जान्छ, त्यसले लिम्फमा सोझै असर गर्दछ । जसले गर्दा हातखुट्टा, पुरुषहरुको अण्डकोष, महिलाहरुको यौनांगलगायतका अंगहरुमा विशेषगरी असर पुराउँदछ, अनि हातखुट्टा त मुढाजस्तै आकारमा बृद्धि हुने गर्दछन्, जसलाइ संक्रमित भएको व्यक्तिले चाहेर पनि उचाल्न सक्दैन । उसको दिसा–पिसाव, खान–पिन लगायत सम्पूर्ण दैनिकी ओच्छ्यानमै बित्ने छ ।

नेपाल सरकारले शतप्रतिशतलाई यो औषधि खुवाउने लक्ष्य लिएको थियो । दाङ लगायत मुलुकका १२ जिल्लाबाहेक ६५ जिल्लामा करिब–करिब शतप्रतिशत नागरिकहरुले ६ डोज नै औषधि सेवन गरिसकेका छन् । ती जिल्लामा हात्तीपाइले रोगका संक्रमित देखिन छाडेका छन् । तर दाङ जिल्ला भने अझै पनि संक्रमणको उच्च जोखिममा रहेको सर्वेक्षणले देखाएको छ । अझै पनि जिल्लामा संक्रमित तथा शंकास्पद संक्रमितहरु भेटिइरहेका छन् । पछिल्लो दश बर्षमा बढीमा ६५ प्रतिशत नागरिकले मात्र यो औषधिको नियमित डोज पूरा गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका हात्तीपाइले रोगका फोकल पर्शन कमल चन्द भन्छन्– ‘यो बर्ष हामी जसरी पनि ६५ प्रतिशत कभरेजभन्दा माथि उक्लने छौं ।’ संघीय सरकारले पठाएको औषधि बिहीवारै सवै स्वास्थ्य केन्द्रहरुमा पुगिसक्ने तयारी भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसपटक औषधि पोका पारेर घर लग्ने र खान्छु भन्ने प्रचलनलाई पूर्ण रुपमा निषेध गरिने छ । क्षयरोगको औषधि खुवाउन डट्स प्रविधि प्रयोग भएजस्तै यो औषधि खुवाउन पनि प्रत्यक्ष रुपमा स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् । खोप केन्द्र तथा तोकिएको स्वास्थ्य संस्थामा औषधि खान आउन छुटेका नागरिकहरुलाई घर–घरमै पुगेर पनि औषधि सेवन गराइने बताइएको छ ।

घोराहीमा सञ्चार अन्तक्र्रिया

यसैबीच औषधि सेवन अभियानका विषयमा बुधवार घोराही उपमहानगरपालिकाले पालिकास्तरीय अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेका छ । करिब तीन दर्जन पत्रकारहरुलाई घोराहीका नगर प्रमुख नरुलाल चौधरीले निर्धक्क भएर औषधि सेवन गर्ने माहोल निर्माणका लागि आग्रह गरे ।

‘औषधिको रियाक्सनका विषयमा अनर्गल प्रचार सञ्चार माध्यमहरुमा नगरौं, यो औषधि विश्व स्वास्थ्य संगठनले परीक्षणका लागि होइन, परीक्षण सफल भैसकेपछि अनुदानका रुपमा सहयोग गरेको हो’, नगर प्रमुख चौधरीले भने– ‘यो अभियानलाई यति व्यापक बनाऔं कि सकिन्छ भने सबैले यो औषधि सेवन गरेको टिकटक भिडिओसमेत बनाऔं । साथै उनले यदि औषधिले प्रतिअसर गरेको भए त्यस्ता व्यक्तिको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मा स्थानीय सरकारले लिने पनि उद्घोष गरे ।

घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख नारायण जीएमको विषय प्रवेश तथा स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण ठाकुर खनालले गरेका थिए । घोराहीमा करिब २ लाख जनतालाई औषधि खुवाउन १ सय २५ स्वास्थ्यकर्मी र २ सय २५ स्वास्थ्य स्वयंसेविकाहरु परिचालित हुने छन् ।

अभियान सफल बनाउन सबैको सहकार्य

यसैबीच जिल्लास्तरीय समन्वय समिति राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत सरोकारवालासँग छलफल भएको छ । जिल्लामा हात्तीपाइलेका बिरामी ६ प्रतिशत रहिरहँदा यो औषधि खुवाउने अभियानलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको औंल्याइएको छ । आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले अभियानलाई सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक भएको बताए ।

‘सबै क्षेत्रको सहयोग र सहकार्य भएमा अभियान सफल हुन्छ’, प्रमुख नेपालीले भने– ‘त्यसको लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, राजमोका जिल्ला अध्यक्ष गणेश आचार्य, अधिकारकर्मी हुमा डिसी र श्रीमण न्यौपानेलगायतले विचार राखेका थिए । कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख अङ्गदबहादुर शाही र फोकल पर्सन कमल चन्दले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण कार्यालयका अधिकृत बामदेव शर्माले गरेका थिए ।