द्वन्द्वकालमा पत्रकार जोगाएका विपुल

  •   
  •  

तत्कालीन शाही नेपाली सेनाको ब्यारेक । मुकुण्डो पहिराईदिएर कोठामा बन्धक बनाईएका केएल पीडितले आफ्नो ‘जीवन’ मागिरहे । सेनाले लगाउने आरोपलाई ‘नाई नास्ती’ गरिरहेका केएललाई आफ्नो ‘ईन्कार’ लाई सेनाले निर्दोषको ‘प्रमाण’ मान्ला भन्ने रत्तिभर विश्वास लागेकै थिएन । फलतः उनकै शब्दमा भन्दा उनले सेनाको ब्यारेक बाट सकुशल घर फिर्ता हुन्छु भन्ने आश मारिसकेका थिए ।

त्यहि बन्द कोठामा सेनाको ‘वाकीटकी सेट’ मा उनले सुनेको एक नाम (विपुल पोख्रेल) ले उनलाई प्राण थपिदिएको महसुस भयो । केएलले सम्झिए ‘म मरिसकेको थिएँ, विपुलजीको नाम वाकीटकीमा सुन्दा बल्ल मेरो शरीरमा प्राण थपियो, बल्ल म होसमा आएँ ।’ उनै विपुल केएलको रक्षाका लागि कवच बनेर आर्मी ब्यारेक छिरे । सेनासँग केएलको रक्षाका लागि बिन्ती बिसाए, अनि पूर्ण जिम्मा लिँदै केएललाई सकुशल रिहा गराए ।

घोराहीबाट प्रकाशन हुँदै आएको नौलो जनउभार साप्ताहिकका कार्यकारी सम्पादक थिए केएल पीडित । यो पत्रिकालाई राज्यले तत्कालीन बिद्रोही पक्ष माओबादी पक्षधर पत्रिकाका रुपमा हेरिरहेको थियो, अनि कार्यकारी सम्पादक केएललाई माओबादीको कार्यकर्ताका रुपमा । २०५८ मा माओबादीले गरेको घोराही आक्रमणले केएल अनि उनको पत्रिकालाई झनै ठूलो धक्का लाग्यो ।

घोराहीमा आएको आक्रमणलाई ‘क्रान्तिको बिजय’ का रुपमा समाचार प्रकाशन भएपछि प्रशासनले पत्रिका बन्द गर्न निर्देशन दियो । अनि राज्यको खोजीमा परे उनै कार्यकारी सम्पादक केएल । ‘घोराही आक्रमण २०५८ मंसिर ८ पछि २०५८ मंसिर ११ मा प्रशासनको निर्देशन अनुसार हाम्रो पत्रिका बन्द भयो’, केएलले भने ‘अनि म राज्यको नजरमा बिद्रोही कहलिएँ, म उसको खोजीमा परेँ ।’

सुरक्षा संयन्त्रले बिद्रोहीको बिल्ला भिराईदिएर आँफ्नो खोजी गर्न थालेपछि केएल पत्रकारीताबाट पलायन त भएनै उनि आफ्नो सुरक्षाका लागि भाग्नुपर्ने अवस्था आयो । ‘राज्य पक्षले मेरो खोजी ब्यापक पार्न थालेपछि म लुकेर बस्नुको बिकल्पै भएन, म भारत सम्म पुगेँ,’ उनले भने– ‘१४ महिनासम्म म यसैगरी पलायन भएँ ।’ उनको १४ महिना गुमनाम बसाईपछि युद्धबिराम भयो, राज्य र बिद्रोही पक्षबीच वार्ता भयो ।

युद्धबिरामपछि शान्तिको लामो श्वास फेर्दै उनी भारतबाट घर फिर्ता भए । तर वार्ता भंग भयो, फेरि उही द्वन्द्वको श्रृंखलाले निरन्तरता पायो । ‘वार्ता भंग भएपछि अब म के गर्ने ?’ केएलले भने– ‘फेरि भागौँ कि यहीँ बसौँ अन्योलमा परेँ ।’ तर आफन्त, सहकर्मीहरुको सल्लाहअनुसार उनी घरमै बस्न थाले । तर अफसोच राज्यको नजरमा बिद्रोही कहलिएका केएल २०६० अन्तिमतिर तत्कालीन सेनाको गिरफ्तारीमा परे । ‘म घोराहीको मेनचोकबाट घरतर्फ जाँदै थिएँ, सादा पोशाकमा आएका ५÷६ जनाको समूहले मलाई घेरा हाल्यो,’ उनले भने– ‘अनि मलाई पकडेर ब्यारेकमा जानुप¥यो भन्न थाले ।’ केएलले यो बेला बुझिसकेका थिए कि म राज्यको गिरफ्तारीमा परेँ भन्ने ।

केएलले आफू निर्दोष रहेको भन्दै उनीहरुसँग प्रतिवाद गरिरहेकै थिए, तर सेनाको गाडी आईपुग्यो अनि उनलाई त्यही गाडीमा हालियो । ‘मैले म निर्दोेष छु भनेर त्यो समूहसँग कुरा गरिरहेको थिएँ, त्यति बेलै सेनाको सेतो गाडी आइपुग्यो,’ उनले भने– ‘अनि मलाई गाडीमा हालियो ।’ घोराही बजारका बिभिन्न भागमा गाडीमै उनलाई घुमाईएपछि अहिलेको शहीदगेट नजिकै पु¥याएर आँखामा रुमाल बाँधियो । अनि गाडीमा रहेका सेनाले भन्न थाले– ‘ठूलो कमाण्डर समात्यौँ, हामी सफल भयौँ ।’ ‘त्यसपछि मैले सोँचे अब मलाई मार्ने नै भए भनेर,’ उनले भने– ‘घर परिवार अनि साना छोराहरुलाई सम्झिएँ ।’

केएललाई थाहा थिएन, आफूलाई कहाँ लैजाने हुन् ? केही बेरपछि उनलाई गाडीबाट झारियो । आफै हिँड्न भनियो । उनी लड्थे । ‘मलाई पु¥याएको ठाउँ घोराहीस्थित आर्मी ब्यारेक रहेछ,’ उनले भने– ‘ब्यारेकमा ठूला खाल्डा हुँदारहेछन्, मेरो आँखामा पट्टि थियो, म लड्दै भित्र पुगेँ ।’ सेनाले उनको केरकार गर्न थाल्यो । यो क्रम झण्डै चार घण्टासम्म चल्यो । केएलले आफू निर्दोष रहेको जवाफ दिइरहे । तर उनलाई फिटिक्कै लागेको थिएन आफू सकुशल घर फिर्ता हुन्छु भन्ने ।

जीवनको अन्तिम घडीमा आफूलाई उभ्याएको महसुस गरिरहेका केएलले सेनाको वाकीटकीमा विपुल पोख्रेलको नाम सुने । वाकीटकीमा उनले सुने ‘नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल आउनुभएको छ ।’ पोख्रेल त्यो बेला पनि नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष थिए । आफूलाई मृत्युपथमा हिँडिरहेको महसुस गरेका केएल बल्ल ब्युँझिए । उनले भने– ‘विपुलजीको नाम सुन्दाबित्तिकै म अब बाँच्छु भन्ने आश पलायो ।’ पोख्रेलको नामले उनलाई जीवित तुल्याउने आशा जगाउनुको प्रमुख कारण थियो, पोख्रेलका यसअघिका मिशनहरु ।

संकटकालमा पत्रकारहरुमाथि भएका ज्यादतीका बिरुद्ध पोख्रेलले देशका विभिन्न स्थानमा मिशनको नेतृत्व गरेका थिए । यिनै मिशनका क्रममा कैयन पत्रकारहरुलाई न्याय दिलाएका पोख्रेल आफ्ना लागि पनि न्यायमूर्ति बन्ने आशा केएललाई उँचो बन्यो । ‘त्यो बेला पत्रकारहरुमाथि भएका ज्यादतीका बिरुद्ध विपुलजीले धेरै स्थानमा मिशनको नेतृत्व गर्नुभएको थियो, अझ विशेषगरी राज्य पक्षले गरेका ज्यादतीका बिरुद्ध विपुलजीको मिशन केन्द्रित थियो’, केएल भन्छन्– ‘त्यो बेला नेपाल पत्रकार महासंघ भनेकै विपुल पोख्रेल हो भन्ने आम सञ्चारकर्मीहरुले बुझेको अवस्था थियो ।’

केएलको रिहाईका लागि सेनाको ब्यारेक प्रवेश गरेका द्वन्द्वकालमा पत्रकार जोगाउने उनै विपुललाई सेनाले ढाँट्न खोज्दै थियो । उसले केएल पीडित नाम गरेको पत्रकार ब्यारेकमा नभएको भनेर पोख्रेललाई फर्काउन खोजिरहेको थियो । तर कैयन यस्ता मिशनको नेतृत्व गरेका पोख्रेलले ब्यारेक नेतृत्वको त्यो कुरालाई पत्याएनन् । उनले स्रोत पहिल्याए । अनि बल्ल ब्यारेकले भन्यो ‘केएलजी यहिँ हुनुहुन्छ ।’ ब्यारेकले केएलको रिहाईका लागि केही सर्त राख्यो । पहिलो सर्त थियो ‘केएल माओबादीमा लाग्न नहुने वा माओबादीको कुनै पनि कार्यमा संलग्नता, साथ, सहयोग नहुने ।’

पोख्रेलले यो सर्तको पूर्ण जिम्मेवारी आफै लिए । ‘सबैभन्दा ठूलो कुरा त विपुलजीले मेरो पूर्ण जिम्मेवारी लिएर हस्ताक्षर गर्नुभयो,’ केएल भन्छन्– ‘मैले त्यसपछि केही दायाँ–बायाँ गरेको भए त्यसको भागीदार उहाँ बन्नुहुन्थ्यो । फलतः उहाँ मेरो लागि भगवान बराबर हो ।’ सेनाले बोलाएको खण्डमा ब्यारेकमा हाजिर हुनुपर्ने र दाङ छोड्न नपाइने अन्य शर्तमा पनि विपुलले आफूले जिम्मेवारी लिए । यो सहमतिपश्चात केएल रिहा भए । ‘विपुलजी नभएको भए म पक्कै मरिसकेको हुन्थे,’ उनले भने– ‘म ब्यारेकमा थुनिएको छु भनेर उहाँले थाहा पाउनु नै मेरो सबैभन्दा ठूलो भाग्य हो, सायद यो कुरा उहाँलाई थाहा नहुँदो हो त, आज तपाईको र मेरो कुरा हुने नै थिएन ।’

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष पीडितको रक्षाकवच बनेका पोख्रेल संकटकालमा पत्रकारहरुको रक्षकका रुपमा दह्रो बनेर उभिए । पत्रकारहरु माथि भएको ज्यादती, गिरफ्तारीका लागि उनी कैयन दिनरात गाउँ–जंगलमै बिताए । उनलाई कुन पत्रकारको कुन विचार आस्था ? उनी ‘सबै पत्रकार एक’ भन्ने मानसिकताबाट कहिल्यै बिचलित भएनन् । फलतः डेकेन्द्र थापा, दुर्गा थापा, रामेश्वर बोहरालगायतका पत्रकारहरुको बैचारिक आस्था पहिल्याउन खोजेनन् ।

फलतः उनीहरुलाई न्याय दिलाउनका निम्ति संकट मोलेर मिशनको नेतृत्व गरे । उमा सिंहको हत्यापछिको अवस्था बुझ्ने पहिलो मिशनमा पनि उनै पोख्रेल थिए । आफू मिशनमा जाँदा मात्रै हैन, आफू नहुँदा मिशनमा जाने अन्यलाई उनले सिकाइरहेका हुन्थे । बीरेन्द्र शाहको मिशनमा जानेहरुलाई पोख्रेलले मिशनले खेल्नुपर्ने भूमिकाका लागि सुझाव दिएका थिए । यसैगरी तत्कालीन माओबादीले कारवाही गर्ने भनेर बाँकेका चारजना पत्रकारमाथि भौतिक कारवाही गरिएको निर्णय उल्ट्याउन उनी बर्दियाको गाउँमै पुगेर बहसमा उत्रिएका थिए ।

उनकै संवादपश्चात माओबादी आफ्नो निर्णयबाट पछि हटेको थियो । पत्रकारहरुको भौतिक सुरक्षासँगै पेशागत सुरक्षाका निम्ति थालिएका बिभिन्न आन्दोलन र अभियानको नेतृत्व गरेका पोख्रेल नेपाल पत्रकार महासंघको आगामी नेतृत्व हाँक्ने दौडमा छन् । दुई कार्यकाल महासंघको उपाध्यक्ष बनिसकेका पोख्रेल यसपालि अध्यक्षका लागि चुनावी मैदानमा होमिएका हुन् ।