पत्रकार महासंघको अध्यक्षमा पोख्रेल र शर्माको उम्मेद्वारी

गोरक्ष समाचारदाता

दाङ, १५ चैत । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा विपुल पोख्रेलले उम्मेद्वारी दर्ता गरेका छन् । एघार पत्रकार संगठनको तर्फबाट महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोख्रेलले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका हुन् ।

नेपाल प्रेस युनियनले शनिवार दिउँसो पोख्रेललाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । अध्यक्षका उम्मेद्वार पोख्रेल गोरक्ष राष्ट्रिय दैनिकका सम्पादक हुुन् । यसैगरेर प्रेस चौतारी नेपालबाट निर्मला शर्माले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेकी छन् । शुक्रवार नै प्रेस चौतारी नेपाल बाहेक अन्य संगठनबीच गठबन्धन गर्ने सहमति भएको थियो ।

प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (माधव नेपाल समूह), प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन, मिडिया नेपाल, प्रेस सेण्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजबीच प्रेस युनियनको नेतृत्वमा महाधिवेशनमा जाने सहमति गरेका थिए । महासंघको महाधिवेशन आगामी २५ चैतमा तोकिएको छ । त्यसैगरी अध्यक्षमा रामप्रसाद दाहाल, दीपक पाठक र गजेन्द्र सिंह बुढाथोकीले उम्मेदवारी दिएका छन् ।

यसैगरेर महासंघको समावेशी उपाध्यक्षमा प्रगतिशील पत्रकार समूहका अध्यक्ष तथा महासंघका सचिव उदय जिएमले उम्मेद्वारी दर्ता गराएका छन् । उनले पनि गठबन्धनको तर्फबाट उम्मेद्वारी दर्ता गरेका हुन् । यसैगरेर दाङका वंशिकुमार शर्माले पनि सदस्य पदमा उम्मेद्वारी दर्ता गरेका छन् । यसैगरी प्रेस चौतारीबाट दाङका टीका बस्नेतले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन् । यो पटक महासंघका सबै सदस्यले आ–आफ्नो जिल्लाबाट मतदान गरेर नेतृत्व चुने व्यवस्था छ ।

विगतमा पार्षद चयन गरेर महासंघको नेतृत्व चयन गरिने गरेको थियो । तर देश संघीयतामा गएसँगै नेपाल पत्रकार महासंघले पनि आप्mनो विधान परिमार्जन गर्दै महासंघको नेतृत्व चयनमा साधरण सदस्यले मत दिने व्यवस्था गरेको हो । महासंघ केन्द्रीय नेतृत्वको केन्द्र, प्रदेश र जिल्लामा एकै दिन चैत २५ गते मतदान हँुदैछ ।