चटपटे र पानीपुरीले व्यवहार चलाउनेहरु

शिवराज खनाल

लमही, ११ चैत । बेरोजगारी समस्या अन्त्यसँगै आयआर्जनका लागि सानो कामले नै सफलता दिन सक्छ । त्यस्तै सफलता मिलेको छ लमहीका व्यवसायीहरुलाई पानीपुरी तथा चटपटेको व्यवसायले ।

खाँदा ट्वाक्क मिठो चटपट बनाउनेहरुले कति कमाउँलान् ? सबैलाई लाग्छ व्यापार भनेपछि ठूलो लगानी गर्नुपर्छ । तर सानो लगानीबाट पनि मनग्य आम्दानी गर्न सफल भएका छन्, दाङ देउखुरीका पानीपुरी तथा चटपटे ब्यापारीहरु । यस्तैमध्येका एक उदाहरण हुन् लमही नगरपालिका–७ बनघुस्री निवासी हात्तीराम केसीे । सानो लगानीमा ठेलामा चाट पसल सुरु गरेका केसीले अहिले त्यही व्यवसायबाट राम्रो आम्दानीसमेत गर्ने गरेका छन् ।

उनी पानीपुरी र चाट बेच्नका लागि हरेक दिन बिहान ५ बजे लमही बजारको चौराहामा आउने गरेका छन् । साँझ ७ बजेतिर घर फर्किने केसीले चटपटे र पानीपुरीबाट राम्रो आम्दानी समेत लिने गरेका छन् । चाट र पानीपुरीको व्यापारबाट मासिक ३५ देखि ४० हजार कमाउने गरेको उनले बताए । ‘काम सानो भए पनि आम्दानी रामै छ’, उनले भने– ‘जसले गर्दा सानो काम भए पनि गर्न छोडेको छैन ।’ उनले दैनिक १ हजार ६ सय लगानी गरेर ३ हजार ५ सय देखि ४ हजार कमाउँदै आइरहेको बताए ।

लाज–सरम नमानी व्यापार गर्ने हो भने महिनामा ४० देखि ५० हजार कमाउन सात समुन्द्रपारी जानुनपर्ने समेत बताउँछन् । उनले लमही बजारमा आफूले २० देखि ५० रुपैयाँसम्ममा चटपट बिक्री गर्ने गरेको बताए । सहरहरुमा पछिल्लो समय चटपटे र पानीपुरीको व्यापार आम्दानीको स्रोत बन्दै गएपछि आफूजस्ता व्यवसायीहरुलाई थप सहज भएको उनले बताए । थोरै लगानीमा राम्रो आम्दानी लिन सकिने भएपछि पानीपुरी तथा चटपटेको व्यापारमा पछिल्लो समय महिला तथा पुरुषहरुको सहभागिता बढ्दै गएको उनले बताए ।

त्यस्तै लमहीमा चटपटे व्यवसाय गर्ने हरिशंकर चौधरीले पनि राम्रो आम्दानी लिँदै आएका छन् । घरको कृषि व्यवसायमा लागेका चौधरीले पाँच बर्ष पहिले बजारमै केही गर्ने उद्देश्यले पानीपुरी, चटपटेसँगै ठेलामा चना, अण्डाको व्यवसाय गर्न सुरु गरेका थिए । भाडा तिर्न नपर्ने र सानो रकमबाटै व्यवसाय गर्न सकिने भएपछि सुरु भएको व्यवसायबाट अहिले चौधरीले मासिक ३०÷३५ हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताए । त्यही पैसाबाट घर खर्चसँगै छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन पुगेको उनी बताउँछन् ।

‘व्यवसाय सानो हो, धेरै कमाई त हुँदैन’, चौधरीले भने–‘आफ्नै घरमा बसेर साँझ–बिहान खानसँगै छोराछोरीलाई पढाउन पुगेको छ ।’ उनले रात्रीकालीन बजार चल्ने भएकाले पनि राम्रो आम्दानी भएको बताए । हात्तीराम र हरिशंकरसँगै लमहीमा धेरै मानिसहरुले चाट तथा चटपटेबाट राम्रो आम्दानी लिने गरेका छन् । बेरोजगारीको समस्याले दिनहुँ धेरै युवाहरु विदेशिरहेका बेलामा उनीहरु उदाहरणसमेत बनेका छन् ।