होटलहरुमा खाद्य सुरक्षा सुधारोन्मुख

दाङ, ११ चैत । जिल्लाका होटलहरुमा खाद्य सुरक्षा सुधारोन्मुख भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले गरेको होटल अनुगमनका क्रममा यस्तो पाइएको हो ।

कार्यालयले २ चरणमा गरेर लमहीका १७ वटा होटल र घोराहीका १३ वटा होटलहरुको अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बञ्जाराले जानकारी दिए । ‘२ चरणमा गरिएको अनुगमनमा खाद्य सुरक्षा जोखिमपूर्ण पाइएन’, प्रमुख बञ्जाराले भने । अघिल्ला वर्षमा भन्दा होटलहरुले सुधार गर्दै अगाडि बढेको बताए । ‘खाद्य सुरक्षाका विषयमा सचेत हुँदै गएको पाइएको छ’, उनले भने । यसका बारेमा उपभोक्ताले समेत ध्यान दिन आवश्यक रहेको बञ्जाराले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएका कारण व्यवसायीहरु पनि सचेत हुँदै गएको उनको भनाइ छ । यस वर्ष ३ चरणमा अनुगमन गरिएको उनले बताए । अनुगमनमा चलेका तथा आवासीय सुविधा भएका होटलहरुको अनुगमन गरिएको उनको भनाइ रहेको छ । सबै होटलको अनुगमन गर्न सकिएको छैन ।

‘होटलहरुलाई प्रवद्र्धन गर्ने कार्यक्रमअनुसार यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको हो’, प्रमुख बञ्जाराले भने । यस प्रकारको कार्यले होटलहरुलाई सुधार गर्न सहयोग पुग्ने विश्वास उनको रहेको छ । ‘होटलहरुको स्तर निर्धारणले होटलहरुलाई नै सहयोग पुग्ने छ’, बञ्जाराले भने । जसले गर्दा उपभोक्ताहरुले होटलहरुको स्तरका बारेमा जानकारी लिएपछि त्यसै अनुसार जाने उनको भनाइ रहेको छ ।

अनुगमनको क्रममा लमहीमा एउटा होटल अति उत्तम, एउटा उत्तम, ११ वटा सन्तोषजनक र ४ वटा सामान्य पाइएको उनको भनाइ छ । त्यसैगरेर घोराहीमा ३ वटा होटल अति उत्तम, ३ वटा उत्तम, ६ वटा सन्तोषजनक र एउटा सामान्य पाइएको छ । विभिन्न ५० वटा सुचकको आधारमा मापन गरिने गरेको उनको भनाइ रहेको छ । जसको आधारमा स्तर मापन गरिने गरेको छ । ९० भन्दा माथि अंक प्राप्त गर्ने होटलमा ३ वटा तारासहितको अति उत्तम लेखिएको हरियो स्टीकर टाँसिने छ ।

८० भन्दा तल अंक प्राप्त गर्ने होटलहरुमा २ वटा तारासहितको उत्तम लेखिएको हरियो स्टीकर टाँसिने छ भने ६५ देखि ७९ अंक प्राप्त गर्ने होटलमा एउटा तारासहितको सन्तोषजनक लेखिएको हरियो स्टीकर टाँसिन्छ । ५० देखि ६४ अंकसम्म प्राप्त गर्ने होटलहरुमा सामान्य लेखिएको पहेलो स्टीकर टाँस गरिने गरेको छ । कतिपय होटलहरुले कार्यालयमा निवेदन दिएर होटलहरुको स्तर निर्धारण गरिदिन आग्रह गर्ने गरेको समेत उनले बताए । ‘माग भएको खण्डमा अनुगमन गरी स्तर निर्धारण कार्यलाई निरन्तरता दिइने छ’, उनले भने ।

होटल रेष्टुरेण्ट, भोजनालय, मिठाइ पसल, चिया पसल, क्याटरिङ एवं क्यान्टिनलगायतका खाद्य वस्तुमा स्वच्छता कामय गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ्य तथा सुविधा कायम राख्न सरकारले खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेण्ट स्तरीकरण गर्ने निर्देशिका २०७४ जारी गरेको हो । जसमा स्थानीय स्तरमा सञ्चालित होटल रेष्टुरेण्टमा खाद्य स्वच्छता कायम गर्न र यसरी खाद्य स्वच्छता कायम गर्ने होटल रेष्टुरेण्टलाई खाद्य स्वच्छताको आधारमा स्तरीकरण गर्ने काममा सहयोग गर्न स्थानीय तहमा स्थानीय खाद्य स्वच्छता समूह गठन गर्ने अधिकार खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेण्ट स्तरीकरण गर्ने निर्देशिका–२०७४ ले दिएको छ ।

जसमा होटल रेष्टुरेण्ट व्यावसायिक संस्थाको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि संयोजक, होटल रेष्टुरेण्टलगायतका खाद्य व्यवसायीहरुको महासंघले तोकेको स्थानीय प्रतिनिधि सदस्य, उपभोक्ता हकहित सम्बन्धी संस्थाका प्रतिनिधि सदस्य, इलाका वा वडा प्रहरीको प्रतिनिधि सदस्य, स्थानीय तहको प्रतिनिधि सदस्य, स्थानीय सेवा प्रदायक खाद्य व्यवसायी सञ्चालक सदस्य र खाद्य अनुसन्धान अधिकारी वा खाद्य निरीक्षक सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।