निमबहादुर थापा
देउखुरी, ८ चैत्र । सरुमारानी गाउँपालिकाको पर्यटन विकासका लागि पूर्वाधार विकासमा ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । स्तम्भकार समाज नेपालको आयोजना तथा सरुमारानी गाउँपालिकाको सहयोगमा शनिवार प्युठानको बड्डाडामा भएको पर्यटन प्रवद्र्वन र विकास निर्माणमा लेखक स्तम्भकारहरुको भूमिका विषयक अनतरक्रिया कार्यक्रमका सहभागीहरुले ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको सरुमारानी गाउँपालिकाको पर्यटकिय विकासको अत्यन्तै सम्भावना रहेको भन्दै त्यसकालागि पहिले पूर्वाधार विकास आवश्यक रहेको बताएका थिए ।
प्युठान र रोल्पा जिल्लाको प्रवेशद्धाराका रुपमा रहेको सरुमारानी गाउँपालिकामा ऐतिहासिक,धार्मिक तथा टेकिङ पर्यटनको लागि धेरै सम्भावना रहेको सरुमारानी गाउँपालिकाका अध्यक्ष झकबहादुर बिकले बताएका थिए । तर त्यसका लागि आर्थिक अभावसँगै प्रचारप्रसार हुन नसकेको बताए । ‘प्युठान र रोल्पा जिल्लाको प्रदेशद्वाराका रुपमा रहेको सरुमारानी गाउँपालिकाको रानीकुवा ऐतिहासिक तथा पर्यटकिय क्षेत्र हो’–गाउँपालिका अध्यक्ष विकले भने–‘त्यही भएर गाउँपालिकाले पालिकाकै मुख्य पर्यटकिय केन्द्रका रुपमा रहेको रानी कुवाको विकासमा जोड दिएको छ ।’ उनले रानीकुवा र गढी लेकलाई जोडर गाउँपालिकाको मुख्य केन्द्रका रुपमा विकास गर्ने समेत बताएका थिए ।
उनले यसक्षेत्रको विकासका लागि रानीकुवा योग तथा शान्ति पार्क नामाकरण गरेर रानीले नुहाउने कुवाको संरक्षण, पार्कमा बस्नका लागि कुर्सी निर्माण, पार्क पग्नका लागि सिढी, मोटरबाटो, मञ्च, पिकनिकका लागि घर,सभाहललगायतका पूर्वाधारहरु निर्माण गरेर अघि बढिरहेको बताएका थिए । त्यस क्रममा एक करोड बढी यही क्षेत्रको विकास लागि गाउँपालिका र प्रदेश सरकारले बजेट खर्च खरेको समेत बताएका थिए ।
त्यसैगरी गाउँपालिका अध्यक्ष विकले सुरुमारानी गाउँपालिकामा ऐतिहासिक रानीकुवा, राजाको दरवारका रुपमा रहेको गढीलेख, तीन कुने दह, सिद्धलेख, ऐरावती मन्दिरलगायत गाउँपालिकालाई कृषि पर्यटनका रुपमा विकास गर्न सकिने सम्भावना समेत रहेको बताएका थिए । ‘ऐतिहासिक,धार्मिकसँगै गाउँपालिकालाई कृषि तथा पशुपालनलाई विकास गर्दै कृषि पर्यटनका रुपमा समेत यो ठाउँमा विकास गर्न सकिन्छ’–उनले भने–‘कृषि तथा पशुपालनलाई व्यवसायीक बनाउनका लागि किसानहलाई तालिम, अनुदान र राहतको कार्यक्रम भैरहेका छन ।’ यसका लागि सञ्चारकर्मी तथा स्तम्भकारहरुले प्रचारप्रसारका माध्यमबाट सहयोग गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा सरुमारानी गाउापालिका प्रमुख कार्यकारी अधिकृत चिन्तामणि रेग्मीले गाउँपालिकामा जनप्रतिनिधि आईसकेपनि भएका विकास निर्माणका बारेमा जानकारी गराएका थिए । उनका अनुसार गाउँपालिकाले हालसमम स्थानीय पाठ्य पुस्तक तयार गर्न थालेको, वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरुलाई रोजगार मूलक कार्यक्रम, यसवर्षदेखि ० जना लघु उद्यमी उत्पादन गर्ने, छोरीको विवाह बचत कार्यक्रम, घर घरमा गर्भ जाँच, विद्यार्थी याताया कार्यक्रम, निजी स्रोतमा ६ जना शिक्षक व्यवस्था गरेर समुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पहल गरिएको बताएका थिए ।
त्यसैगरी उनले गाउँपालिकामा रहेका अथाह धार्मीक, सांस्कृतिक, ऐतिहासिक, भाषिक(कुसुण्डा लगायत), पूरातात्वीक, बाईसे चौबिसे राज्यको पालाका गढी किल्लालगायतका धार्मिकस्थयहरको विकास गर्दै गाउँपालिकालाई पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने तयारीमा गाउँपालिका रहेको बताएका थिए । कार्यक्रममा नेपाल स्तम्भकार समाज दाङका अध्यक्ष केबी मसालले नेपाल स्तम्भकार समाज दाङले लेखनको माध्यमबाट स्थानीय पर्यटन प्रवद्र्वन र बिकासमा योगदान पुराउन सकिन्छ भन्ने आधारमा बिगतदेखि यस्ता कार्यक्रम गर्दै आएको बताएका थिए । त्यही उद्देश्यका साथ समाजले राप्तीसँगै लुम्विनी प्रदेशका विभिन्न जिल्लामा पुगेर पर्यटन विकासका लागि पहल गर्ने गरेको बताएका थिए ।
कार्यक्रममा सरुमारानी गाउँपालिकाका उपाध्यक्ष मिना सोमई, सरुमारानी गाउँपालिका वडा नंं ४ का अध्यक्ष चिन्ताबहादुर सोमई, वडा अध्यक्ष ६ का भीमबहादुर मस्र्याङ्दी, प्राइम कमर्सियल बैंकका प्रमुख सुदिप पौडेल, शिक्षक निर्मल शर्मा, पत्रकारहरु लिलाधर वली, राधेश्याम गुप्तालगायतले पर्यटन क्षेत्रको विकासका लागि क्षेत्र पहिचान गरेर लगानी बढाउन आग्रह गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरु, सबै वडाका जनप्रतिनीधिहरु, गापाका विद्यालयका प्रअहरु, कर्मचारीहरु, संघसंस्थाका प्रतिनीधिलगायतको सहभागिता रहेको गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत लक्ष्मण आचार्यले जानकारी दिए । समाजका कोषाध्यक्ष लालमणि पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पूर्व समाजका उपाध्यक्ष नीमबहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव पद्मप्रसाद शर्माले गरेका थिए ।