देवी भण्डारी
हापुरे, ४ चैत । दाङमा ११आंँ पटक हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइँदै छ । लागातार ६ वर्षसम्म खाने औषधी सबै नागरिकले सेवन नगर्दा ११औँ पटकसम्म औषधी खुवाउनुपरेको हो । बुधवार बबई गाउँपालिकामा आयोजना गरिएको हात्तीपाइले रोग विरुद्ध अभियान अन्तर्गत गाउँपालिका स्तरीय वहुनिकाय गोष्ठीमा यस्तो जानकारी गराइएको हो ।
दाङका अन्य स्थानीय निकायभन्दा बबई गाउँपालिकामा औषधी सेवन गर्नेको संख्या धेरै भए पनि अझै सरकारले तोकेको १ प्रतिशतभन्दा कम रोगी हुनुपर्ने लक्ष्य पूरा गर्न यो पटक पनि आभियान सञ्चालन गर्नुपरेको पुरन्धारा स्वास्थ्य चौकी प्रमुख हेमराज वलीले जानकारी दिए ।
हात्तीपाइले रोगबाट विश्वमा ७१ देशमा संक्रमण रहेको र हालसम्म २१ देशले यो रोगलाई निवारण गरिसकेका छन् । तर नेपालले भने अझै गर्न सकेको छैन । हात्तीपाइले रोग दाङमा अझै ३ देखि ४ प्रतिशतमा देखिएको हुँदा यसलाई १ प्रतिशतमा झार्न र हात्तीपाइले रोग निवारण गर्न सबैले औषधी सेवन गर्न बबई गाउँपालिकाले आग्रह गरेको छ ।
कार्यक्रममा हात्तीपाइलेका जिवाणु भएका व्यक्तिमा औषधि सेवनपछि केही समस्या देखिने जानकारी गराउँदै गर्भवती, ७ दिनभित्रका सुत्केरी, २ वर्ष मुनिका बालबालिका, दीर्घरोगी र लामो समय औषधी सेवन गर्ने व्यक्ति बाहेक सबैले अनिवार्य औषधी सेवन गर्न पुरन्धारा स्वास्थ्य चौकी प्रमुख वलीले सबैमा आग्रह गरेका छन् ।
हात्तीपाइले रोग विरुद्धको औषधी कुनै विदेशीले परीक्षणमा ल्याएको औषधी नभई नेपाल सरकारको लागानीमा सबै नेपालीलाई यो औषधी खुवाउन थालिएको हुँदा यो अभियानमा सफल पार्न र हात्तीपाइले रोगबाट बच्न कुनै शंका नगर्न समेत सबै नागरिकलाई उनले आग्रह गरेका छन् । जिल्लामा चैत २० गतेदेखि अभियान सञ्चालन हुन थालेको छ ।
स्वास्थ्यकर्मीहरु घर–घरमै पुगेर प्रत्यक्ष आफ्नै निगरानीमा सबैलाई औषधी खुवाइने कार्यक्रममा बबई गाउँपालिकाका हेल्थ असिष्टेन्ट शरदराज गिरीले जानकारी दिएका छन् । बबई गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, पत्रकारलागायतको सहभागिता रहेको थियो ।