वर्तमानले भविष्य निर्धारण गर्छ

नारायणप्रसाद श्रेष्ठ

जीवनको हरेक क्षणमा आउने जति पनि उतारचढावहरु हुन्छन्, त्यसको निराकरणको लागि कहीँ न कतैबाट समाधान भइरहेको हुन्छ, समस्याले सफलता चुमिरहेको हुन्छ । जुन समस्या जसरी समाधान भइरहेको हुन्छ त्यसरी नै त्यसले भविष्यप्रति संकेत पनि गरिरहेको हुन्छ ।

समस्याको समाधानले जसरी वर्तमान सुखद र उल्लासमय हुन्छ त्यसरी नै त्यसको प्रभावले भविष्यमा हुने गतिविधिमा पनि सकारात्मक भाव जागृत भइरहेको हुन्छ । त्यसैले भन्ने गरिन्छ– समय बलवान छ । वर्तमानमा जे हुन्छ त्यो भविष्यको आधार बन्नसक्छ । समय अनुकुल जुन परिवेश उद्घाटन भइरहेको हुन्छ त्यही परिवेशले भविष्यको संकेत पनि गरिरहेको हुन्छ । तसर्थ, भविष्यलाई उज्ज्वल र सफलता उन्मुख बनाउनु छ भने वर्तमानलाई अनुशासित एवं धैर्य र लगनशील भई प्रयोग गर्ने गराउने गर्नुपर्छ । वर्तमानमा हामीलाई जेजस्ता कर्म र व्यवहार सिक्छौँ त्यही भविष्यको दिशानिर्देश हुन पुग्छ । वर्तमान भविष्यको आधार हो, यो कदापि बिर्सनु हुँदैन ।

आजभोलि सञ्चार क्षेत्रबाट पटक–पटक समाचार सम्प्रेषण भएको पाइन्छ । भौतिक निर्माण पटकपटक हुनसक्छ, घर आज नबने भोलि बन्न सक्छ, विकास आज नभए भोलि हुनसक्छ तर बच्चा आज नबने भोलि राम्रो बन्न सक्तैन । यो विषय निकै सान्दर्भिक र सत्यमा आधारित भएर प्रचार भइरहको छ । आजको बच्चा भोलि के हुनसक्छ भनी अभिभावकले आजै नसोचे बच्चाको भविष्य मात्र होइन सामाजिक बनोटमा समेत उथलपुथल आउन सक्छ । सामाजिक परिवेश, रहनसहन सबै भयावह अवस्थामा गुज्रनुपर्ने स्थिति पनि आउन सक्छ ।

किनकि बच्चाले वर्तमानमा जे सिक्छ त्यसैको आधारमा उसले आफूलाई प्रदर्शन गरेको हुन्छ । किनकि बच्चा अरुको नक्कल गर्ने, सिको गर्ने कुरामा निकै चनाखो हुन्छन् । यदि उनीहरुलाई समयमै असल संस्कार र व्यवहार सिकाउन सकिएन भने उसको भावि कार्यदिशा गन्तव्यविहीन भई गलत कार्यतर्फ उन्मुख हुनसक्छ । संगत गुणाको फल मीठो अमीलो दुवै हुनसक्छ । यदि साना बालबच्चालाई समय तालिका अनुसार शिक्षा, दीक्षा र अनुशासन सिकाइएन भने त्यसको परिणाम नराम्रो हुने हुन्छ । एउटा अभिभावकले आफ्नो बच्चालाई जस्तो संस्कार सिकाउँछ त्यस्तै संस्कार प्रतिपादन गर्दछ ।

गिलो माटोबाट कलाकारले राम्रा वा नराम्रा दुवै वस्तु निर्माण गर्न सक्छ त्यसरी नै कलिलो बच्चाको भविष्य निर्धारण गर्न अभिभावकले समयमै सोच्न जरुरी हुन्छ । किनकि कलाकारिताले जसरी सुन्दर तस्विर निर्माण गर्छ, मिहिनेत र पसिनाले नयाँ निर्माणको सिर्जना गर्न सक्छ, त्यसरी नै उसले विध्वंश पनि गर्न सक्छ । कलाकार स्वयम् अभिभावक पनि हो । भनिन्छ परिवार नै बच्चाको पहिलो संस्कार र अनुशासन सिक्ने पाठशाला हो । जहाँ उसले अनुशासन, धीरचा, कुशलता, इमानदारी र पारदर्शिता सिकेको हुन्छ । बामे सर्दै दुई पाइला अगाडि बढेको हुन्छ । त्यसैले भोलिको अस्तित्व कायम गर्न आजै सोच्नु जरुरी हुन्छ । वर्तमानको कार्य र व्यवहार नै भविष्यको आधार हो भनी प्रस्तुत हुनु पर्छ ।

त्यसैले हामीले भोलिको लागि जेजस्ता योजना बनाउँछौँ । जेजस्ता सामाजिक, आर्थिक, राजनीतिक संस्कार सिकाउँछौँ, त्यही अनुसार भविष्य निर्धारण हुने हुनाले त्यसको गहिरो अध्ययन र विश्लेषण हुन जरुरी छ । स्वार्थ र अहंकारले ल्याउने परिणामले उब्जने परिस्थितिको समयमै मूल्यांकन गरी भविष्यलाई असल संस्कार र आचरण सिक्ने वातावरण बनाउनु पर्छ । सामाजिक मूल्य र मान्यताभित्र स्थापित हुने संस्कृति र संस्कारलाई भविष्यसँग गाँसेर आफूलाई प्रदर्शन गर्नु पर्छ । यसरी प्रदर्शन गर्दा कुन समय महत्वपूर्ण छ ? कुन कर्म र व्यवहार महत्वपूर्ण छ ? त्यसको गहिरो अध्ययन गरी जानकारले आफूलाई प्रस्तुत गर्नु पर्छ ।

वर्तमान समयको सामाजिक बनोटलाई हेर्दा अहिले मानव जीवनमा स्वार्थ र म पनको अहंकार प्रशस्तै देखिएको अवस्था छ । म शब्दले सामाजिक सुदृढीकरणसँगै कलंक पनि निम्त्याएको अवस्था छ । म बाहेक अरु भन्ने शब्द नै छैन भन्ने गरी सोचको विकास भएको छ । म को अस्तित्व के हो ? मले के जनाइरहेको छ ? त्यसतर्फ खासै ध्यान नदिई केवल ममत्वतर्फ म लाई प्रदर्शन भइरहेको छ । व्यक्तिवादी सोच र चिन्तन हाबी भइरहेको छ । म ठूलो, म जान्ने, म नै सबै भनी व्यक्तिगत स्वार्थ र चिन्तनले वर्तमानमा बढी प्राथमिकता पाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक एवं राजनीतिक क्षेत्र जतासुकै ‘म’वादले ढाकिएको छ ।

यदि यस्तै स्थिति रहीरहने र स्वार्थ र अहंकारले परिपोषित ‘म’वाद विकसित भइरहने हो भने हाम्रो भविष्य कस्तो हुने हो ? सामाजिक कलंकको रुपमा रहेको अहंकार र घमण्डलाई यदि मभित्र विकसित गर्दै लैजाने र भविष्यलाई नसोच्ने हो भने हाम्रो राष्ट्रिय अस्तित्व कति स्वच्छ र पवित्र भएर उदाउने हो ? राष्ट्रिय राजनीतिमा मवादले उत्पन्न गरेको परिस्थितिलाई समयमै निराकरण गर्ने प्रयत्न गरिएन भने हाम्रो अस्तित्व गमलामा सजाइएको प्लास्टिकको फूल सरी हुने त होइन ?

लोकतान्त्रिक शासन पद्धतिले भर्खर बामे सर्न थालेको नेपालको वर्तमान समयलाई यदि उचित सम्भार लालनपोषण नगरे यसको भविष्य कस्तो होला ? भर्खर त घरको जग खन्ने काम भएको छ । अब त्यो जगलाई बलियो बनाइराख्न उचित विचार र मिहिनेतको जरुरी छ । निर्माण भइरहेको जगमा हिजकै सामन्ती सोच र एकाधिकारवादी चिन्तन हाबी हुँदै जाने हो र म र व्यक्तिवादी चिन्तनभित्र राज्य प्रणाली विकसित हुने हो भने हाम्रो नेपाल समृद्ध नेपालको सपना कतातिर मोडिने हो ?

आफ्नो स्थायी घर पनि बनाउने, अरुलाई पनि घर बनाउन नदिने । जहाँ गए, जता हात हाले भत्काउने नीतिमा आफूलाई प्रदर्शन गर्ने हो र सामाजिक परिवेश र संस्कारमा गलत नजीर कायम गर्दै जाने हो भने हाम्रो राष्ट्रिय छवि कता पुग्ला । जनताको नाममा शासन गर्ने नेतृत्वले जनतालाई विखण्डन गर्नेतर्फ नयाँ पुस्ताको ध्यान केन्द्रित गर्नु कति उचित ?

भोलिको नेपाल सुन्दर, शान्त र सभ्य नेपाल, विदेशी आकर्षण पर्यटकीय गन्तव्य स्थल नेपाल, हिमाल, पहाड र तराई, प्रकृतिक सुन्दरता र जडिबुटीले ओतप्रोत नेपाल, विविधतामा एकता कायम गरी भूबनोटका आधार आपसी सद्भाव बढाउँदै स्वच्छ र पवित्र हृदय लिएर बाँचेको नेपाल, सगरमाथाको देश नेपाल, स्वच्छ र पवित्र नदी बग्ने नेपाल यदि यसको अस्तित्वलाई वर्तमानमा नसोच्ने हो भने यसको भविष्य कस्तो होला ?

नेपालको सुन्दरतामाथि गिद्धेदृष्टि राख्ने अवसरवादीको चंगुलबाट कसरी बच्ने ? यो सोच वर्तमानमा नसोच्ने हो भने भोलिको नेपाल पराधिन हुन पुगे त्यसको जिम्मा कसले लिने ? के नयाँ नेपाल सुन्दर नेपाल के नाराले मात्र बन्न सक्छ ? हामीले हाम्रो कर्म र व्यवहारलाई किन समय सापेक्ष रुपान्तरण नगर्ने ? विचार र कर्ममा निःस्वार्थभाव किन जागृत नगर्ने ? भाव बिनाको देखावटीपनले कहिल्यै सार्थकता पाएको इतिहास छ र ? अब राष्ट्रिय बहस हुनुपर्ने बेला आइसकेको छ । आफू हुँदा ठीक, अरु हुँदा बेठिक भन्ने स्वभाव र मानसिकताले कसरी देश उभो लाग्न सक्छ ? त्यसैले वर्तमान समयमा देखिएको राजनीतिक तरंगले ल्याउने परिणामको ख्याल गर्नु प्रत्येकको दायित्व बनेको छ ।

राष्ट्र र राष्ट्रिय अखण्डता स्वाधीनता नेपाल र नेपालीको इच्छा र चाहना हो । यो शान्तिप्रिय नेपाली आकांक्षामा ठेस पुग्ने कार्य कोही कसैबाट हुनु राम्रो पक्ष होइन । जनताको इच्छा र आकांक्षालाई बिर्सेर सीमित स्वार्थ र आर्थिक प्रलोभनमा परी लुटपुटिने चरित्र राष्ट्रलाई अधोगति उन्मुख गराउने प्रवृत्ति हो । यो कुरा राजनीतिक पार्टीहरुले गम्भीर भएर चिन्तन गर्नुपर्ने बेला भएको छ । जुन इच्छा र आकांक्षा बोकेर जनताले प्रतिनिधित्व गर्न पठाएका छन्, त्यस्तो व्यक्तिबाट हाम्रो अस्तित्वमाथि प्रश्न उठ्ने कार्य हुनु राम्रो होइन ।

हाम्रो चाहना राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्दै सुन्दर शान्त र समृद्ध नेपालको परिकल्पना हो । यो दायित्वलाई कदापि बिर्सने छैनन्, यो हाम्रो विश्वास हो । त्यसैले समय आउँछ पर्खँदैन, समय घर्किसके पछिको औषधी काम लाग्दैन भनेझैँ, बिग्रिसकेपछि कुर्लने संस्कृति राम्रो आचरण र व्यवहार होइन । त्यसैले समयलाई चिनेर वर्तमानले भविष्य निर्धारण गर्नसक्नेतिर ध्यान केन्द्रित गरी नयाँ पिँढीलाई मार्गनिर्देश गर्न हामी सुझाउँछौँ । नेतृत्वले भविष्यलाई सोची वर्तमानलाई प्रयोग गर्नुपरेको छ, चेतना भया ।