लाहुरे बन्नबाट रोक्ने त्यो विज्ञापन …

मैले उनको खुशी अक्षरमा उतार्न पुग्दा उनी काममै व्यस्त थिए । लगनशील कर्ममा विश्वास गर्ने मिजासिला जो सधैँ खुशी साथ मुस्कुराइरहने तुलसीपुर –७ निवासी बसन्त आचार्यले महेन्द्र मावि तुलसीपुरबाट २०५८ सालमा एसएलसी पास गर्दा आँखाबाट दुई खाले आँसु बगेको सुनाए ।

एउटा खुशीको अनि अर्को पीडा । पास हुनुको खुशी पनि मनले थाम्नै सकेन अनि पढ्ने कसरी ? अन्यौलपूर्ण भविष्यको सन्त्रास पनि थामिने कुरै भएन । अति न्यून आर्थिक अवस्था भएको परिवारमा प्लस–टु पढ्ने भन्ने कुरा आफैमा जटिल थियो । २ सय जना विद्यार्थीमा १३ जना पास हुने लिस्टमा मेरो नाम भएर पनि मेरो अगाडिको बाटो अँध्यारो थियो । ‘गणित मलाई मनपर्ने अनि भविष्य देखेको विषय थियो’ उनले भने ।

उनले आफन्ती र परिवारको उत्प्रेरणा मात्रै होइन साथ पनि पाए । घोराहीको पद्मोदयमा गणित पढ्ने मेरो धोको पुरा भयो । प्लस–टु सकेपछिको यात्रा फेरि जटिल बन्यो । म घोराहीमै बसेर गणित विषय पढ्न चाहन्थे । तर मेरो लागि यो चाहना निकै महँगो थियो । पढ्ने उच्च मनोकांक्षाका बीचबाट तुलसीपुर फर्किएँ । सबै कुरा मनले चाहेको कहाँ हुन्छ र ? पढ्ने हुट्हुटीका बीचमा तुलसीपुर आएपछि मेरो शैक्षिक यात्रा रोकिने लगभग पक्का जस्तै भयो ।

केही समय कमाउने अनि फेरि पढाइको यात्रा अगाडि बढाउने सोच बनाएँ । खोई ! किन हो मलाई त्यो बेला पढाइप्रति निकै चासो थियो । काम गर्नका लागि गोवामा सम्पर्क पनि भयो । राम्रो ठाउँमा राम्रै पैसा पाइने भनेपछि एक वर्षलाई पढाइ थाँती राखेर म गोवा जान तयार भएँ । मसँगै भर्खर एसएलसी गरेको माइलो भाई (डिल्ली) पनि तयार भयो । ऊ पनि त्यहाँबाट केही कमाएर पढाइलाई निरन्तरता दिने भन्नेमा थियो ।

गोवा उड्ने तयारीका बीचमा एउटा विद्यालयमा गणित शिक्षक चाहिने भन्ने विज्ञापन पत्रिकामा प्रकाशित भयो । सकभर विदेश जान नपरे हुन्थ्यो भन्ने मनको अन्तरकुन्तरमा थियो नै तर बाआमालाई नराम्रो लाग्ला भनेर खासै बाहिर व्यक्त गरेको थिएनँ । कसैलाई थाहा नदिएर फाराम भरेँ, परीक्षा पनि दिएँ । संयोगले मेरो नाम निस्कियो । नाम निस्किएपछि गोवा जाने योजना रोकियो । पत्रिकामा सायद त्यो विज्ञापन प्रकाशित नभएको भए मेरो जीवनको गोरेटो साँच्चै फरक हुन्थ्यो होला ।

पढ्ने अनि पढाउने । पढाइमा निरन्तरता हुने भयो । तर सिमित तलव भएका कारण घोराही बसेर पढ्न भने सम्भव भएन । तर तुलसीपुरमै भए पनि मैले पढाइलाई निरन्तरता दिएँ । गोवा जाने अन्तिम योजनाका बीचमा बेलझुण्डीको फोर्टिनाइन विद्यालयमा मेरो नाम निस्किएको थियो । अहिले सम्झँदा लाग्छ त्यहाँ नाम ननिस्केको भए, मेरो पढाइ के हुन्थ्यो होला ? पढेर मैले जीवनमा के–के न गरेँ भन्ने चाहिँ होइन । तर मेरो जीवनको चाहना भने पुरा गरेँ ।

भारतमा कमाउन जाने मेरो अन्तिम तयारीलाई ब्रेक गरिदिने गरी फोर्टिनाइन विद्यालयमा नाम निस्कनु साँच्चै मेरो जीवनको सबैभन्दा खुशीको पल बनेको छ । ‘यसैलाई पहिलो खुशी लेखि दिनुहोला’– उनले भने ।

रेडियो मेरो जीवनमा सधैँ जोडिएर रह्यो । तुलसीपुर एफएमबाट सुरु भएको रेडियो यात्रा त्यहीँ रोकियो । रेडियोमा काम गर्ने उच्च आकांक्षाका बीचमा मैले पुनः रेडियो मध्यपश्चिमबाट रेडियो यात्रा सुरु गर्ने अवसर पाएँ । रेडियोमा लागेर मैले जुनखाले शुभेच्छुक कमाएँ त्यसको महत्वपूर्ण देन भनेको रेडियो मध्यपश्चिम नै हो ।

मध्यपश्चिम रेडियोमा मैले त्यो गर्न पाएँ जुन मैले चाहन्थे । यस्तो अवसर विरलैले पाउने गर्दछन्, कसैले । रेडियो मध्यपश्चिमसँग जोडिएर काम गर्नु मेरो जीवनमा अर्को महत्वपूर्ण खुशी हो ।

रेडियोमा काम गर्दागर्दै मैले पढाइलाई स्नातकसम्म मात्रै सिमित राखेँ । रेडियो प्रकृतिमा काम गर्दा ज्ञान ज्योति कलेजका प्राचार्य सुरेन्द्र जिसीसँग चिनजान भयो । पत्रकारिता अध्यापन हुने कलेजमा उहाँले मलाई अफर गर्नुभयो । मैले सहजै स्वीकार गरेँ । पत्रकारिता पढाउने शिक्षक पाउन त्यो बेलामा निकै गाह्रो थियो । मैले ज्ञान ज्योति र सुरेन्द्र सरको सहयोगमा २ वर्षमै एकैपटक फरक–फरक विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारिता र नेपाली विषयमा मास्टर्स गरेँ ।

रेडियोमा बोल्ने अनि त्यसमै जीवनको सबथोक छ भनेर एकलकाँटे भएर लागेको मानिसलाई अवसर मात्रै होइन थप अध्ययनका लागि पनि पहल गरिदिने ज्ञान ज्योतिसँग जोडिनु मेरो जीवनको अर्को खुशी हो ।

समयले मलाई तुलसीपुर उपमहानगरपालिकाको प्रेस संयोजक बनायो । अहिले म स्थानीय सरकारले उच्च महत्वकांक्षा राखेर सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजको प्रमुख पनि छु । मेरो जिम्मेवारी कत्तिको कुशलतापूर्वक निर्वाह गरेको छुँ, त्यो त समयले बताउला । तर आज मैले जुन जिम्मेवारी पाएर काम गरेको छु, त्यसका पछाडि साना–साना कुरा जोडिएका छन् ।

पारिवारिक अवस्था अति सामान्य भए पनि पढाउनुपर्छ भन्ने सोच राखेर निकै दुःख गर्ने बाबुआमा यसमा धेरै जोडिनुभएको छ । जीवनमा मैले धेरै उपलब्धि हाशिल गरेँ भन्ने लाग्दैन । म जहाँ रहे पनि जस्तो रहे पनि सामान्य जीवनशैली नै मेरो परिचय हो । हिजो मैले हिडेको बाटोका पदचाँपहरु मैले अहिले पनि महशुस गरेको छुँ । म जीवनमा केही भएन भने पनि त्यसले मलाई कुनै पनि प्रभाव पार्ने छैन ।

साना–साना दुःख र अभावमा टेकेर मैले जुन जीवनको दर्शन सिकेँ त्यो कुरा कुनै विश्वविद्यालयले सिकाउला भन्ने मलाई लाग्दैन । मेरा पदचाँपमा साना–साना जुन दुःखका छायाँ छन् तिनै त रहेछन् नि जीवनका खुशीहरु होइन र ? बसन्त आचार्य तुलसीपुर मेट्रो कलेजको प्रमुख, साहित्य तथा पत्रकारितालगायत विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

प्रस्तुती  :बालाराम खड्का