Goraksha

National Daily

‘सर्नेभन्दा नसर्ने रोगको धेरै जोखिम’

1 min read

दाङ, २१ फागुन । मानिसहरुमा खानपिन र जीवनशैलीका कारण पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगको जोखिम धेरै बढेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आरामदायी जीवनशैलीसँगै शारीरिक व्यायामलगायतका कुराहरुमा ध्यान नदिँदा मानिसहरुमा नसर्ने रोगको मात्रा बढ्दै गएको बताइएको थियो ।

लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले बिहीवार घोराहीमा आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद गिरीले प्रत्येक मानिसहरुले आफ्नो शरीरलाई स्वस्थ राख्नका लागि खानपिन, नियमित व्यायामसँगै जीवनशैलीमा सुधार गर्न आवश्यक रहेको बताएका थिए ।

जनचेतनाको कमीसँगै मद्यपान तथा धुम्रपान गर्ने, नियमित शारीरिक व्यायाममा ध्यान नदिने, खानपिनमा व्यालेन्स नगर्नेलगायतका कारण मानिसहरुमा रोगहरु देखिने गरेको बताए । त्यसमा पनि पछिल्लो समय अधिकांश मानिसहरुमा नसर्ने रोगहरु धेरै देखिने गरेको भन्दै उनले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताएका थिए । उनले सचेतनाका लागि गाउँमा रहेका स्वास्थ्यचौकीहरुसँगै स्कुल–स्कुलमा स्वास्थ्य सेवा लैजान थालेको समेत बताए ।

कार्यक्रममा निर्देशनालयका बरिष्ठ शिक्षा स्वास्थ्य अधिकृत नेत्र अर्यालले अहिले सर्ने रोगभन्दा नसर्ने रोगको समस्या देखिएको बताए । जसको मुख्य कारण मानिसहरुले खानपिन, जीवनशैलीसँगै आफ्नो स्वास्थ्यप्रति ध्यान नदिनु नै रहेको बताए । ‘पछिल्लो समय हरेक मानिसहरुमा नसर्ने रोग समस्याका रुपमा देखा परेको छ, यसको समाधानका लागि स्वयम् व्यक्तिले नै ध्यान दिन आवश्यक छ’, उनले भने– ‘त्यसका लागि प्रत्येक नागरिकले खानपिन र जीवनशैलीमा सुधार गर्न आवश्यक देखिन्छ ।’ उनले नेपालमा ६६ प्रतिशत नसर्ने रोगका बिरामीहरु रहेको बताए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले आफ्नो शरीरलाई स्वथ्य राख्न हरेक नागरिकहरुले खानपिनसँगै आफ्नै व्यक्तिगत जीवनशैलीमा सुधार गर्नुपर्ने बताएका थिए । त्यसका लागि खाना मिलाएर खाने, मादक पदार्थ तथा मद्यपान नगर्ने, हरेक दिन नियमित शारीरिक अभ्यासका माध्यमबाट आफ्नो दैनिकीमा सुधार ल्याउन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा नसर्ने रोगहरु तथा पिइएन कार्यक्रमको बारेमा डा. एलबी बस्नेतले जानकारी गराएका थिए ।

प्रदेशमा साढे २ लाख बढीलाई खोप

प्रदेश सरकारले कोभिड रोग रोकथाम तथा नियन्त्रणका लागि तेस्रो चरणको अभियानअन्तर्गत प्रदेशमा साढे २ लाख बढीलाई कोरोना कोप लगाउने भएको छ । फागुनको २३ गतेदेखि समुदायस्तरमा शुरु हुन थालेको अभियानका क्रममा प्रदेश सरकारले लुम्बिनी प्रदेशका १२ जिल्लाहरुमा २ लाख ५७ हजार ४ सय ९२ जनालाई खोप लगाउन थालेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ फोकल पर्सन कौशल भण्डारीले जानकारी दिएका छन् ।

त्यसका लागि प्रदेश सरकारसँग २ लाख ६१ हजार २ सय ९० कोरोना खोप स्टक रहेको समेत बताए । ‘जोखिमपूर्ण समूहमा रहेका व्यक्तिहरुलाई पहिलो र दोस्रो चरणमा कोरोना खोप लगाएका छौं, अब तेस्रो चरणमा समुदायस्तरमा खोप लगाउने कार्यक्रम रहेको छ’, कोभिड फोकल पर्सन भण्डारीले भने– ‘यसअन्तर्गत समुदायमा रहेका ६५ बर्षभन्दा माथि उमेरका नागरिकहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने कार्यक्रम रहेको छ ।’ जसअन्तर्गत शिक्षक, ज्येष्ठ नागरिकलगायत पहिलो र दोस्रो चरण अन्तर्गत छुटेका जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मीलगायतलाई खोप दिने कार्यक्रम रहेको समेत बताए ।

उनका अनुसार हालसम्म प्रदेशमा ७१ हजार ४ सय ६१ जनालाई कोरोना खोप लगाइसकेको समेत फोकल पर्सन भण्डारीले जानकारी दिएका छन् । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाही, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलगायतले बोेलेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत बामदेव शर्माले गरेका थिए ।