खासमा उपलब्धि कसले ल्याएको ?

मधुसुदन सुवेदी

सबै व्यक्ति, सबै शक्ति, सबै समूह, सबै संगठन, सबै मोर्चा र सबै पार्टीले यतिबेला भन्ने भाषा के हो भने आजको उपलब्धि मैले ल्याएको वा हामीले ल्याएको वा मेरो र हाम्रो पहलमा आएको । यति भनिरहँदा उपलब्धि के हो ? उपलब्धि कहिले आयो ? उपलब्धि केका लागि आयो र उपलब्धि कसरी आयो ? उपलब्धि कहाँ आयो ? उपलब्धि कसरी आयो ? आदि कुराको एक्का र हेक्का नै छैन ।

उपलब्धिलाई मेरो र तेरो भनेर स्वामित्व ग्रहण गर्न खोजिरहँदा उपलब्धि कसका लागि बरदान भयो र कसका लागि अभिसाप भयो ? त्यसको पनि लेखाजोखा र हिसाब–किताब नै छैन । सामान्य भाषामा भन्नुपर्दा आजको उपलब्धिलाई संरक्षण र सम्वद्र्धन गर्न नसक्नेले पनि उपलब्धि मेरो भन्न नछाड्नुले राजनीतिभित्रको अन्धकार झन् प्रष्ट र प्रमाणित हुँदैछ ।

नेपालको राजनीतिक कति अज्ञानता, कति पछौटेपन, कति अदूरदर्शिता, कति अपरिपक्वता, कति निरीहता र कति भ्रमात्मक अवस्थामा सञ्चालन गरिँदो रहेछ भन्ने ऐनाजस्तै छर्लङ्ग भएर गएको छ । उपलब्धिका नाममा यतिबेला जस लिने र दिनेको होडबाजी नै चलेको छ । थाहा छैन, उपलब्धि बाँच्छ वा बाँच्दैन । थाहा छैन, उपलब्धि जसको हो त्यसको हुन्छ कि हुँदैन । थाहा छैन, उपलब्धि कसका लागि ऐन र कसका लागि चैन भयो ।

थाहा छैन, उपलब्धि बेलैमा जनताको घर, आँगनमा पुग्यो या पुगेन ? थाहा छैन, उपलब्धिले वास्तवमै देश र जनताको स्वार्थमा काम ग¥यो या गरेन । थाहा छैन, उपलब्धिको मर्म र भावना । थाहा छैन, उपलब्धिको मान्यता र सिद्धान्त । थाहा छैन, उपलब्धिको पहिचान र परिभाषा । तैपनि उपलब्धिको घाँटी समातेर उकालो चढ्नेको चर्को र लर्को नै लागेको छ । सहारा लिँदा खुट्टा समात्ने वा हात ? त्यो पनि थाहा छैन । तर जसरी पनि सहारा लिने नाममा र जसरी पनि उकालो भ¥याङ चढ्ने काममा उपलब्धिको घाँटी समातेर र उक्लिन खोज्दा के हुन्छ ? घाँटी समात्नु भनेको आफूमात्र पार लाग्नु होइन ।

आफूमात्र पार लागेर के गर्ने ? आफ्नो अस्तित्व र आफ्नो बचावट कसका लागि ? यदि आफू बचेर देश र जनता अन्योलमा पर्छन् र देशको अवस्था नै थप जटिलतातिर धकेलिन्छ भने त्यहाँ आफू रहनु र नरहनुको अर्थ के ? यतिबेलाको खेलोमेलो नै यही हो । जसरी–तसरी आफू पार लाग्ने र त्यसपछिको परिणाम देखा जाएगा । यस्तो तालले देशको उपलब्धि जोगाउन सकिन्छ ? हिजोसम्म उपलब्धिको नामले र उपलब्धिको कामले आफ्नो परिचय दिनेले भोलि कसलाई पछ्याउने ? उपलब्धि देखाउनका लागि मात्र कि भोग्न र भोगाउनका लागि पनि हो ? यदि आजको उपलब्धि नामको मात्र उपलब्धि हो भने भन्नु केही पनि छैन ।

होइन यो उपलब्धि समस्त देशवासीको लागि हो भने यसका लागि थप गम्भीर हुने कि नहुने ? कुरा उपलब्धि कसले ल्यायो भन्ने अर्थमा होइन । कुरा केमा हो भने नेपालमा पछिल्लो समयमा जे–जेमा उपलब्धि आयो र जहाँ–जहाँ उपलब्धि आयो साँचो अर्थमा त्यो उपलब्धि गाई ब्याएको अर्थमा थियो कि गोरु ब्याएको शैली र ढाँचामा ल्यायो ? प्रश्न वडो जटिल र गम्भीर बन्दैछ । निकै उपलब्धिको फूर्ति हाँक्न थाले, आखिर के हो त उपलब्धि ? कसका लागि हो उपलब्धि ? उपलब्धि भनेको हुँदा खानेको लागि कि हुने खानेको लागि ? जवाफ कसैसँग छ ? आज उपलब्धि ल्याएकै कुरामा शक्ति प्रदर्शन गर्ने र चर्को–चर्को भाषण गर्नेले जनताको जवाफ दिन सक्ने कि नसक्ने ?

ठीकै छ, नेपालमा उपलब्धि यसले ल्याएको, त्यसले ल्याएको, उसले ल्याएको वा कसले ल्याएको ? यो कुरा पछि चिन्दै गरौंला र जान्दै गरौंला तर यतिबेला ठ्याक्कै के जवाफ दिनुप¥यो भने उपलब्धि कसले ल्याएको वा त्यसले ल्याएको होइन, खास अर्थमा नेपालमा यो उपलब्धि गाई ब्याएको कि गोरु ब्याएको ? यदि गाई ब्याएको हो भने त दूध खान पाइएला, दही खान पाइएला, घ्यू खान पाइएला, मोही खान पाइएला र गोरसकै कारणले हामी नेपाली स्वस्थ र तन्तुरुस्त पनि हौला तर यदि गोरु ब्याएको खाने के ? पाउने के ? हुने के ? सम्भव छ ? तसर्थ यही हो उपलब्धिको खास रहस्य । त्यसैले उपलब्धि भनेर ज्यादै नखोक्दा नै बेस होला किनभने नेपालमा उपलब्धिको जन्म नै थाहा छैन ।

आजसम्म नेताले यो पल्लो गाउँको उपलब्धिलाई मेरै गाउँको उपलब्धि भनेर देखाउन पल्केकालाई सधै त्यो अवसर नजुट्ला । उपलब्धिपछिको आनन्द कसले भोग्यो ? त्यसको लेखाजोखा गर्ने कि नगर्ने ? जस–जसले उपलब्धि प्यारो मानेका छन्, उनीहरुको गतिविधि तथा क्रियाकलाप कस्तो छ ? हामी जनताले पनि सधै आफूलाई यथास्थितिमा राख्नु देशका लागि बेइमानी र मूर्खता हुनेछ ।

हामीलाई जसरी–तसरी पनि यी टाठा–बाठा र बोलबाला नेताले सधै शब्दजालमा पार्ने हुन् भने हामीले पनि उनीहरुको गम्भीर अध्ययन गरौं न ? जो आज पछिल्लो समयमा उपलब्धिका शक्ति र भक्तिका केन्द्रविन्दु भनिँदै र ठानिँदैछन् । उनीहरुका वर्तमान चर्तिकथा र चर्तिकला हेरौं, पछिल्लो समयमा ।