चौधौँ दिनको युद्ध र जयद्रथको मृत्यु

राधेश्याम उपाध्याय

गुरु द्रोणले शकट नामको क्ष्युह बनाई मुख्य द्वारमा आफू बसे र वीरहरु छान–छानी सिन्धुपतिको रक्षाका लागि घेरा लगाएका थिए । उता वेगले श्रीकृष्ण र अर्जुन युद्धभूमिमा आए । गज सेनाका सेनापति दुमर्षण आई अुर्जनलाई रोके । दुमर्षणले तीखा–तीखा वाण प्रहार गरी अर्जुनलाई घायल बनाए । अुर्जनले पनि तिनको चोट सहेर नौ वाण प्रहार गरे ।

त्यसको चोटबाट व्याकुल भएर दुमर्षण डरले रणभूमिबाट भागे । अर्जुनले त्यही समयमा गजसैन्यको विनाश गरे । रगतको खोलो बग्यो । कुरुका बचेका सैन्य पनि ज्यान जोगाएर भाग्न लागे । त्यसपछि अर्जुनको रथ श्रीकृष्णले द्रोणाचार्यका अगाडि लग्नुभयो । द्रोणाचार्यले पनि ‘हे वावु ! तिमीलाई म शस्त्रास्तले युद्धभूमिमा स्वागत गर्दछु । मलाई युद्धमा सन्तुष्ट पारी मात्र व्यूहभित्र जान सक्नेछौ’ भने । अर्जुनले पनि ‘हे गुरु ! म हजुरलाई परीक्षा दिन तयार छु तर आजको ठूलो काम सिन्धुपतिको जीवन लिनु छ ।

त्यपछि मात्र म हजुरलाई आफ्नो परीक्षा दिन तयार छु’ भने र दश वाणले गुरुका पाऊमा हानी गुरुको स्वागत गरे । दुवै गुरु–शिष्यको युद्ध सुरु भयो । ती दुई गुरु–शिष्यले कुनबेला वाण झिक्तथे र हान्थे भन्न नसक्ने अवस्था थियो । दुवै तर्फका सैन्यको ठूलो संहार भयो । दुवैको धेरै समय युद्ध भएको देखेर श्रीकृष्णले पार्थलाई विलम्ब किन गरेको भनि भन्नुभयो र रथ अगाडि बढाउनुभयो ।

कौरवहरु रोक्न आए पनि सबैलाई जितेर ठूलो गर्जन गर्दै अर्जुन क्ष्युहभित्र पसे । तर गुरुले अरु सबै पाण्डव सेनालाई भित्र जानबाट व्यूह बाहिर नै रोके । अर्जुनसँग युद्ध गर्न दुःशासन आए तर पाँच शर हानेर अर्जुनले उनलाई भगाइदिए । जो–जो अर्जुनलाई रोक्न आए ती सवै परमधाम गए । त्यसै समयमा गदा लिएर श्रुतायुध अर्जुनसँग लड्न आए ।

श्रुतायुधले सो गदा श्रीकृष्णलाई प्रहार गरे । तर सो गदा श्रकिृष्णलाई छोइ फर्केर श्रुतायुधको नै शिर फुटायो र उनको मृत्यु भयो । त्यसपछि लड्ने इच्छा भई कृतवर्मा लड्न भन्दै आए । कृतवर्माले शर वर्षा गरी अर्जुनलाई घायल बनाए । अर्जुनले पनि ती सवै शरलाई हजार टुक्रा पारी काटे र अश्व तथ सारथी मारी रथ र ध्वजा पनि भाँचिदिए ।

कृतवर्मा तुरुन्तै जीवन बचाई भागे । कौरव तर्फका धेरै सैन्यहरु मरे भने बचेका पनि डराई प्राण बचाइ भाग्न लागे । यो देखेर दुर्योधन गुरु द्रोणकहाँ गए र कठोर वचन भन्न लागे । यी सैनिकहरुको दुर्गति हेर्नुहोस् । यो सवै हजुरले अर्जुनलाई क्षमा दिएर छोडिदिनाले हो । पार्थ व्यूहभित्र पसी सैनिकहरु मारे र अझै मार्दैछन् । हजुरले चाहेको भए अर्जुनलाई व्यूहभित्र जान नदिई बाहिरै रोक्न सक्नुहुन्थ्यो । मैले हजुरका भरले नै युद्ध सुरु गरेँ र सदैव हजुरको सेवा गरिरहेको छु ।

तर पनि हजुरको भित्रि मनले शत्रु पक्षकै मंगल कामना गरिरहन्छ । त्यो सबै मलाई थाहा छ । तर पनि मलाई दिएको विजयको वर सम्झेर जयद्रथको रक्षा गर्नुहोस् । अर्जुनको प्रण सुनेर जयद्रथ युद्धबाट भागेर घर जान्छु भन्दै थिए, मैल मूर्खतावश हजुरको भर परेर उसलाई रोकेँ । मेरो निम्ति अलिकति पनि दया त्यकीले सात्यकीलाई गुरुबाट सेनाको रक्षा गर्न आज्ञा दिए र आफूले पनि तीखा वाणले द्रोणलाई घायल बनाए ।

सात्यकीले व्यूह तोडेर भित्र पसी संहार गर्न लागे भने उता गुरु द्रोणले धर्मपुत्रको अश्व र सारथी मारिदिए । युधिष्ठिर पनि डरले युद्धबाट डरले भागे । गुरुले शत्रु पक्षका धेरै सैनिकहरुलाई मारे र गर्जन थाले ।

त्यो चक्रव्यूहमा अर्जुन र सात्यकीभित्र पसी विन्द र अरविन्दलाई मारे । गुरु द्रोणको वर्मअमोध कवच लगाएर दुर्योधन युद्धका लागि अर्जुनका अगाडि गए । श्रीकृष्णर अर्जुनलाई व्यङ्ग्य गर्दै तीखा वाण प्रहार गरे । त्यसले श्रीकृष्ण र अर्जुनलाई चोट लाग्यो र अर्जुनले पनि मन्त्रेर वाणहरु चलाए तर द्रोणको वर्मेअमोघमा लागेर एकातर्फ चिप्लन लागे ।

त्यो देखेर केही नजान्नेजस्ता भई श्रीकृष्णले तिम्रा वाण विफल भएको त कहिल्यै देखिएको थिएन । आज किन यस्तो भयो भनि सोध्नुभयो । अर्जुनले पनि गुरुको वर्मकवच लगाएकाले मेरा वाण प्रभावहीन भए भनि भने । ‘हे कृष्ण ! दुर्योधनले वर्मकवचको विधान सबै जान्दैनन् ।

त्यसैले हजुरको आज्ञा पाए गुरु द्रोणको वर्मकवच भेदन गर्ने थिएँ । यो सुनेर श्रीकृष्ण खुशी हुनुभयो र अर्जुनले पनि अर्को धनु दिए र द्रोणको वर्मकवच भेदन गर्नका लागि ताँदो चढाए । यो देखेर नजिकैमा रहेका द्रोणपुत्र द्रौणीले दिव्यास्त्र प्रयोग गरेर अर्जुनको धनुको ताँदो काटिदिए । त्यही समयमा सुयोधनले नौ वाण छोडेर अर्जुनका शरीर भरी घाऊ पारिदिए ।

कृष्णको चावुक (कोर्रा) पनि काटि गिराए र शरीरभरि घाउ लगाए र ठूलो उत्साहले गर्जना गरे । सबै कौरवहरु मिलि पार्थर श्रीकृष्णलाई शरवर्षा गरी ढाके र सबै खुशी भए । अर्जुन रिसाई ओठ चाट्दै तीखा वाण प्रहार गरे र अश्व सारथी मारी रथधनु भाँचिदिए । दुर्योधनको शरीरमा वर्मकवचका कारण चोट नलाग्ने भएपछि हत्केला र नङभित्र हान्न लागे र त्यसको चोट खप्न नसकी युद्धभूमिबाट दुर्योधन भागे । पुनः कौरव तर्फका चतुरङ्गिणी सेनाले चारैतर्फ घेरा हाली एकैपल्ट पानी परेझैँ सर वर्षा गरी अजुर्न र श्रीकृष्णलाई ढाकिदिए ।

अर्जुनले पनि श्रीकृष्णको आज्ञा धनुष टंकार गरे र दुवैले आ–आफ्नो शंख ठूलो स्वरले बजाए । त्यो शंखको आवाजले मोहित भई धेरै सैनिकहरु ढले र अर्जुनहरु त्यहाँबाट मुक्त भए । अगाडि बढ्दै थिए, वृषसेन, कर्ण, भूरीश्रवा, शल, द्रौणी र शल्यले साहसका साथ एकै पटक शस्त्र प्रहार गरी अर्जुन तथा श्रीकृष्णलाई घायल बनाए । श्रीकृष्णलाई घायल भएको देखेर अर्जुन क्रोधित भए र नौ वाण हानी कर्णलाई घायल बनाए । द्रौणीको रथ शल्यको धनु ध्वजा भूरिश्रवाको अश्व र कृपको सारथी मारिदिए । आठवटा रणधीरहरुसँग एक्लै डटेर युद्धमा वर्णन गर्न नसकिने गरी संहार गरे ।

यता व्यूहको द्वारमा नै छेकिएका पाण्डवतर्फका सेना तथा पाण्डवहरुले अर्जुनको कुनै धनुष टंकार र गर्जना सुनेनन् तब युधिष्ठिरले सन्ताप मानेर भीमलाई व्यूहभित्र अर्जुनको मद्दत गर्न जाउ भनि आदेश दिए । भीम पनि दाजुको आदेश पाउना साथ व्यूहका द्वारमा रहेका आचार्यको अगाडि पुगे । यो देखेर गुरु द्रोणले हाँस्दै ठट्टामा अर्जुनले मलाई धोका दिएर भित्र गए तर तिमी त्यसरी भित्र जान सक्दैनौ ।

मलाई युद्धमा हरायर गुरु दक्षिण दिई मात्र भित्र जान सक्दछौं । यो सुनेर भीमले पचास वाणले द्रोणलाई यातना दिए । गुरु द्रोणले पनि चोट खप्दै पचास शरले नै हाने । त्यो चोटले वृकोदर कालाग्नि जस्ता बने र द्रोणको रथ नै उठाएर भकुण्डो सरह फालिदिए । यो देखेर कौरव सेनामा कोलाहल मच्चियो । गुरुले पनि त्यो रथ त्यागेर तुरुन्तै अर्को रथमा चढी लड्न आए । त्यो रथ पनि भीमले फालिदिए ।यसरी आठ गोटा गुरु चढेका रथ भीमले फाले र गर्जना गर्दै द्रोणलाई झुक्काएर भीम व्यूहभित्र पसे र धेरै सेनालाई विनाश गर्न लागे ।

वृकोदरको यस्तो ठूलो साहास देखेर कर्ण अगाडि लड्न आए । एकै पटक हजार वाण प्रहार गरेर भीमलाई शरजालले छोपिदिए । तत्काल भीमले पनि त्यो शरजाल काटे र कर्णको अश्व सारथी मारी रथ र ध्वजा समेत काटिदिए । त्यही समयमा दुर्योधनका भाइ दुर्मुख लड्न आए र तिनलाई भीमले मारिदिए । दुर्योधनका अरु पाँच भाइहरु पनि त्यहीँ थिए, ती पनि रिसाउँदै लड्न आए । तिनलाई पनि पाँच शर हानेर मारिदिए । फेरि रिसाएर कर्ण अर्को रथमा चढी युद्ध गर्न आए ।

भीमलाई शर प्रहार गरेर घायल बनाए । भीमले पनि त्यो चोट खपेर मुद्गल प्रहार गरी पुनः रथ ध्वजा धुलो बनाए । कर्ण हामफालेर ज्यान जोगाइ भागे । दुर्योधनका अरु त्यात्तीस भाइहरुपनि त्यहीँ थिए । सबै मिलाई भीमलाई एक साथ वाण वर्षा गराए । भीमले पनि तिनका सवै वाण काटे र सबैलाई स्वर्ग पठाए । फेरि कर्ण अर्को रथमा चढेर आए । दुवैका बीचमा ठूलो युद्ध सुरु भयो । अर्कोतर्फ सहदेवका छोरा र शलको युद्ध सुरु भयो । सहदेवका छोराले शलको शिर काटी मारे ।

केकय राजा र क्षेमधूर्तिको पनि एक–आपसमा युद्ध चलिरहेको थियो । केकयका तीखा वाणले क्षेमधूर्तिको मृत्यु भयो । यसैगरी चेदिराजले सुधनालाई मारे । त्यसैगरी भूरिश्रवा र सात्यकी को एक आपसमा ठूलो युद्ध सुरु भयो । दुवैका घोडा र सारथी एकैपल्ट मरे र दुवै खड्ग लिएर युद्ध गर्न लागे । भूरिश्रवाले जब खड्ग प्रहार गरी सात्यकीलाई मार्न आँटे तिनको खड्ग समेतको हात अर्जुनले काटिदिए । त्यो अर्जुनको अधर्म युद्ध देखेर अब म मर्छु भनि रपद्यमाशन बाँधी प्राणायाम गरी बसेका थिए ।

त्यसैबेला सात्यकीले भूरिश्रवालाई खडग प्रहार गरी काटी मारे । सबै कौरव सेनाहरु जम्मा भई अर्जुनको निन्दा गर्न लागे । यो सुनेर पार्थले आफ्नो कुनै बन्धु हितजन दुःख आपतमा पर्दा संकटबाट बचाउनु नीतिशास्त्रानुसार हुन्छ । ‘हे मूर्ख पापीहरु ! हो तिमीहरु आफ्नो रक्षा गर अरुलाई शिक्षा दिइरहनु पर्दैन । हिजो नै षड्रथीहरुले मिलेर मेरो छोरा किन मा¥यो, त्यो नीतिसंगत थियो ? आफूले पहिले गरेको कूकर्म सम्झ र त्यसको दुष्फल भोग्ने समयमा अब के अर्ति दिन्छौ भनि उत्तर दिए ।

श्रीकृष्णार्जुन। भीम र सात्यकी सबै भेट भए र एकातर्फ भए भने अर्कोतर्फ कौरवहरु भई युद्ध मच्चिन लाग्यो । योद्धा द्रौणी, द्रोण, कर्ण, कृपका साथै थुप्रै योद्धाहरु कौरवतर्फ थिए भने अर्जुन, भीम र सात्यकी मात्र पाण्डवतर्फ थिए । ठूलो युद्ध भयो । कर्णले एक शहस्त्र (हजार) वाण छाडी श्रीकृष्ण र अर्जुनलाई घायल बनाए । अर्जुनले पनि चोट लाग्यो भनेर क्रोधित भई नौ वाण प्रहार गरे ।

कर्णको अश्व र सारथी मारी एक अर्कोअमोघ वाण धनुमा राख्दै थिए द्रोणले, अब कर्ण मर्छन् भन्ने बुझेर अर्जुनले उक्त अमोघ वाण चलाउन नपाउँदै काटिदिए र कर्णलाई बचाए । सबै कौरवहरु मिलेर शस्त्रास्त प्रहार गरे र श्रीकृष्ण–अर्जुनलाई ढाकिदिए । अर्जुनले पनि इन्द्रास्त्र हाने र सवै शरजाल काटे । दुवैतर्फको युद्ध झन मच्चिन थाल्यो । अर्जुनका अगाडि जुन वीर पर्दथ्यो त्यो कि मर्दथ्यो कि भाग्नु पर्दथ्यो । धेरै वीरहरु मरे पनि सबै जयद्रथको सुरक्षामा तत्पर थिए ।

अर्जुन जति अगाडि बढ्न खोजे पनि कौरव सेनाहरुले डटेर रोक्दै थिए । यो देखेर श्रीकृष्णले विस्तारै अर्जुनलाई जयद्रथ बलियो घेरामा लुकेर बसेको छ । यी षड्रथीहरुलाई नजिति तिनलाई मार्न गाह््रो छ । तिमी किन ठूलो पराक्रम देखाउँदैनौ । व्यर्थैको अलमलमा समय बितिरहेको छ । एक उपाय म भन्दछु सुन ‘सूर्यलाई मैले मायामयी सुदर्शनचक्रले छेकिदिन्छु । त्यसपछि तिम्रो आत्मदाह हेर्नका लागि जयद्रथ बाहिर आउने छ । त्यही समयमा विलम्ब नगरी त्यसलाई मार्नु भनी श्रीकृष्णले अर्जुनलाई सिकाउनुभयो र केही समय बाँकी छँदै सुदर्शनचक्रबाट सूर्यलाई ढाकि दिनुभयो ।

सूर्य देखिन छाडे, अन्धकार बढ्दै गयो । कौरवहरुले सूर्य अस्त भएकोमा ढुक्कका साथै खुशी हुँदै गर्जना गर्न थाले । अर्जुन पनि दुःखी हुँदै शस्त्रहरु रथमा राखि आत्मदाहका लागि तयार भए । दुर्योधन खुस हुँदै सिन्धुपतिका नजिक गए र ठूलो स्वरमा गर्जंदै ‘हे जयद्रथ ! केही डर नमानी अघिल्तिर आउ अब अर्जुन मर्ने भए ।

युद्धमा विजयश्री निश्चित रुपमा पाइने भयो । यी पाण्डवहरुले आफ्नो प्रण कहिले पो पूरा गरेका थिए र ? दुर्याेधनले यसरी हाँस्दै ठट्टा गरी बोल्दै थिए भने उता जयद्रथ शंका मानि बाहिर निस्केर सूर्यलाई हेर्दै थिए । त्यही समयमा श्रीकृष्णले ‘हे अर्जुन ! आफ्नो शत्रुलाई मार, दिन केही बाँकी नै छन् । आफ्नो प्रण पूरा गर्न यही उत्तम मौका छ भनि भन्नुभयो । हरिको आज्ञा सुनेर अर्जुन चैतन्य भए र पहिला षड्रथीहरुलाई शस्त्रास्त छोडी व्याकुल पारे ।

कृपलाई बीस वाण, दुर्योधनलाई बाह्र वाण हानी पछि हटाए र बाटो बनाउँदै जयद्रथतर्फ अगडि बढ्दै गए । शिवबाट पाएको पाशुपत्रास्त्र जब मन्त्रेर अर्जुनले धनुमा चढाए तब त्यसको तेज हेर्न नसकेर सबै कौरवहरु घोप्टो परे त्यही समयमा श्रीकृष्णको आज्ञानुसार अर्जुनले वाण चलाए र जयद्रथको शिर काटी मारे । पाँच गोटा वाणले जयद्रथको शिरलाई फुलको थुँगाजस्तै गरेर वायु गतिले आकाशमार्ग हुँदै बृद्धक्षेत्र समन्तपञ्चतटमा जहाँ जयद्रथका पिताजी तप गरेर बसेका थिए, त्यहाँ उनका काखमा शिर खसाइदिए ।

जयद्रथका पिताले पनि केही थाहा नपाएर यो यहाँ के किन कसरी आयो भनेर झस्केर उठ्दा जयद्रथको शिर उनको काखाबाट भूइँमा खस्यो र उनका पिताको शिर पनि वृद्धक्षेत्रमा हजार टुक्र भई फुटेर मरे । पहिला जयद्रथका पिताले उनलाई तिम्रो शिर जसले भूमिमा गिराउला उसको पनि शिर हजार टुक्रा भई मर्ला भन्ने वरदान दिएका थिए । सोही वमोजिम बाबुछोराको मृत्यु भयो । दैवको लीला त्यही नै थियो होला । यो देखेर कौरवहरु आफ्नो विफलता देखेर खिन्न तथा दुःखी भए ।