मार्शल आट्स हाप्किडो संघका खेलाडी तथा प्रशिक्षक भुवन बुढा मगरले एकदशक लामो खेल जीवनका क्रममा धेरै उपाधिहरु जितेका छन् । व्यक्तिगत होस् वा टिमका लागि । जसले गर्दा उनलाई सधैं खेल क्षेत्रमा अघि बढ्न प्रेरणा दिनेगरेको छु । कर्ममा विश्वास गर्ने उनी सफलतातर्फ अघि बढिरहेका छन् ।
सफलताले नै उनलाई राष्ट्रिय रुपमा समेत चिनिए, अवसर प्राप्त गरेका छन् । खेलकुद क्षेत्रलाई आफ्नो जीवनको कर्मक्षेत्र बनाएर अघि बढिरहेका बुढालाई गोरक्ष दैनिकको साप्ताहिक खुशी स्तम्भका लागि खुशी सुनाउन आग्रह गर्दा बुढाले आफ्नो जीवनको पहिलो खुशीको क्षणका रुपमा २०६८ सालमा रुकुम जिल्लामा स्वर्ण जित्दाको क्षणलाई आफ्नो जीवनको पहिलो खुशीका क्षण भएको बताए । जिल्ला स्तरीय प्रतियोगिता भएकाले स्वर्ण पदक सानो भए पनि मैले नियमित तीन वर्षदेखि जित्दै आएको खेलाडीलाई जितेर जित्दाको त्यो क्षण मेरो जीवनको खुशी हो ।
‘हरेक खेलाडीहरुको जस्तै मेरो पनि सपना थियो तर प्रतियोगितामा भाग लिन पाएको थिएन’–उनले भने–‘खेल क्षेत्रमा लागेको करिव ४÷५ वर्षपछि मध्यपश्चिम स्तरीय प्रतियोगिता हुँदै थियो । त्यही प्रतियोगिताका लागि रुकुममा भएको जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण जित्दाको क्षण मेरो जीवनको पहिलो खुशीको क्षण हो । किनकि मैले प्रतियोगितामा लगातार तीन पटकसम्म विजेता बनेका खेलाडीलाई जितेर स्वर्ण प्राप्त गरेको थिए ।
त्यो समय खेलकुुदमा लागे पनि प्रतियोगिता खेलेको अनुभव थिएन, तर आत्मविश्वासका साथ खेलमा लागेकाले आपूmले हार्न नपरेको उनी बताउँछन् । हरेक खेलाडीलाई जस्तै उनलाई पनि मार्शल आर्ट्स् हाप्किडोको वल्र्ड च्याम्पियनमा सहभागी हुने रहर छ । त्यसका लागि उनी नियमित अभ्यासदेखि खेलकुद क्षेत्रका बारेमा ज्ञान समेत बढाउने काम गरिरहेका छन् । पूर्वी रुकुम जिल्ला भुमे गाउँपालिका–३ झुम्लाबाङमा जन्मिएका बुढा अहिले घोराहीलाई आफ्नो कर्मभूमि बनाएर खेलकुद क्षेत्रमा क्रियाशील छन् । डब्लुटिएफ तेक्वान्दोबाट खेलकुद क्षेत्रमा लागेका बुढा अहिले नेपाल हाप्किडो संघका केन्द्रीय सहायक प्रशिक्षक समेत हुन् ।
रुकुममा जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण जितेपछि बुढा क्षेत्रीय प्रतियोगिताका लागि छनोटमा परेका थिए । त्यो प्रतियोगितामा पनि बुढाले स्वर्ण जित्न सफल भएका थिए । जसलाई उनले खेलकुद क्षेत्रमा आफ्नो जीवनको अर्काे खुशीको क्षणका रुपमा लिने गरेका छन् । प्रतियोगिता २०६८ सालमा बाँकेको नेपालगञ्जमा भएको थियो । मध्य–पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा आयोजना गरिएको क्षेत्रीय प्रतियोगितामा उनले ५०÷५४ तौल समूहको खेलमा प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगितामा मध्य–पश्चिमका विभिन्न जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो । जसमा उनले आफ्नो खेलकुद जीवनमा दोस्रो पटक स्वर्ण जित्ने अवसर प्राप्त गरेका थिए । ‘रुकममा जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण जितेकाले आपूmमा आत्मबलसँगै गुरु, साथीभाइहरुले हौसला दिइरहेका थिए, जसले आपूmमा खेल जित्छु भन्ने विश्वास थियो, तर जिल्ला बाहिरको प्रतियोगिता पहिलो भएकाले डर पनि उत्तिकै थियो’–उनले भने–‘तर प्रतिष्पर्धा सुरु भएपछि सुरुमा एक÷दुई पटक चोट नै खान पुगे ।
त्यसपछि कसरी ममा जोश आयो खेलमा स्वर्ण जितेको पत्तै पाइन, त्यो क्षण सम्झँदा पनि अहिले रमाइलो लाग्ने गर्छ ।’ उनले खेलकुदका क्षेत्रमा लागेको तीन वर्षपछि प्रशिक्षकको सर्टिफिकेट प्राप्त गरेर आपूmजस्तै साथीहरुलाई खेलाउन समेत सुरु गरेका थिए । त्यहीअनुसार रुकुम र दाङको घोराहीमा डब्लुटिएफ तेक्वान्दो, आइटिएफ तेक्वान्दो र पछिल्लो समय हाप्किडो तेक्वान्दोको क्षेत्रमा खेलाडी प्रशिक्षण गर्दै आएका छन् ।
खेलकुद क्षेत्रमा प्रशिक्षकका रुपमा एकदशक समय बिताइसकेका बुढा गत वर्ष पोखरामा उत्कृष्ट प्रशिक्षकका रुपमा सम्मानित हुँदाको क्षणलाई पनि खेलकुद जीवनको एउटा खुशीको क्षणका रुपमा लिने गरेको बताए । ‘मैले खेलकुद क्षेत्रमा खेलाडीसँगै प्रशिक्षकका रुपमा समेत काम गर्दै आएको छु तर धेरै खेलाडीकै रुपमा चिनिन्थे’–उनले भने–‘तर पोखरामा भएको प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्टस् हाप्किडो सेमिनारमा ग्लोवल हाप्किडो संघ अमेरिकाद्वारा सम्मानित भएपछि म प्रशिक्षकका रुपमा समेत चिनिने अवसर प्राप्त गरेँ । जुन क्षण मेरो जीवनको अर्काे महत्वपूर्ण खुशीको क्षण हो, जुन क्षणले मलाई सधैँ खुशी बनाउने काम गर्छ ।’
उनी २०७६ सालमै नेपाल मार्शल आर्ट्स् हाप्किडो संघ केन्द्रले र २०७७ सालमा राष्ट्रिय रेफ्री मार्शल आटर््स्को पोखरामा भएको सेमिनारमा समेत उत्कृष्ट प्रशिक्षकका रुपमा सम्मानित भएका थिए ।
व्यक्तिगत जीवनमा आपूm मात्र होइन बुढा आपूmले नेतृत्व गरेको समूहलाई समेत उत्कृष्ट बनाउने गरेका छन् । उनीसँग त्यस्ता धेरै अनुभवहरु रहेका छन् । त्यसमध्येको एउटा उदाहरण हो, २०७६ सालमै रोल्पाको परिवर्तन गाउँपालिकामा भएको ‘प्रथम शहीद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता’मा दाङको टिम प्रथम भएको ।
‘राष्टिय प्रतियोगिता भएकाले देशका विभिन्न जिल्लाबाट खेलाडीहरुको सहभागिता थियो । यसैले प्रतियोगितामा टिम च्याम्पियन हुनु सामान्य थिएन’–दाङ जिल्ला अध्यक्ष समेत रहेका बुढाले भने–‘दाङबाट सहभागी खेलाडीसँग विभिन्न प्रतियोगितामा सहभागी भएको अनुभव भएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे । जसले गर्दा हाम्रो टिम च्याम्पियन बनेको थियो । त्यो पनि मेरो जीवनको अर्काे खुशीको क्षण हो ।’ प्रतियोगितामा बुढा उत्कृष्ट प्रशिक्षकका रुपमा सम्मानित भएका थिए ।
उनी खेलकुदसँगै शिक्षाका क्षेत्रमा समेत सफल छन् । पूर्वी रुकुम जिल्लाको खलङ्गामा रहेको यमुना नमुना माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका बुढाले दाङको घोराहीमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय भरतपुरबाट शिक्षा संकायमा प्लस–२ पास गरेका छन् । अध्ययनलाई समेत अघि बढाइरहेका बुढा माध्यमिक तहसम्म अध्ययन गर्दा कक्षामा सधैँ टप ४ भित्रै पर्ने गर्दथे ।
त्यस क्रममा पनि उनीसँग केही खुशीका क्षण छन् । जसमध्य एउटा खुशी हो, विद्यालय अध्ययनका क्रममा यमुना नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा कक्षा प्रथम हुँदाको क्षण । ‘खेलकुदसँगै शिक्षा मेरो सधैँ प्राथमिकतामा रह्यो, जसले गर्दा म कक्षामा कहिले प्रथम, द्वितीय त कहिले तेस्रो वा सन्त्वनासम्म हुने गर्दै आएको थिएँ । तर त्योभन्दा तल पनि गइनँ’–उनले भने–‘ त्यही क्रममा कक्षा ७ अध्ययन गर्दा म कक्षा प्रथम भएँ, त्यसमा पनि सात कक्षामा पढ्ने करिब एक सय बढी विद्यार्थीहरुलाई उछिनेर । त्यो क्षण मेरो जीवनको अर्काे खुशीको क्षण हो । जसले मसँगै घरपरिवारलाई समेत खुशी बनाएको थियो ।’
२०५० साल चैत ११ गते पूर्वी रुकुम जिल्लाको भुमे गाउँपालिका–३ झुम्लाबाङमा बुबा कर्णबहादुर बुढा मगर र आमा स्व.पूर्णकुमारी बुढाको कान्छो सन्तानका रुपमा जन्मिएका बुढाका दुई दाजु र दुई दिदीहरु छन् । सानैमा आमा वितेपछि दिदीभिनाजुसँगै हुर्किएका बुढा केही महिना अघि रोल्पा जिल्ला निवासी प्रिया बुढा मगरसँग वैवाहिक बन्धनमा बाँधिएका छन् । बुढा मार्शल आटर््स् हाप्किडो संघका दाड जिल्ला अध्यक्ष, लुम्बिनी प्रदेश सचिव तथा संघका केन्द्रीय सहायक प्रशिक्षक समेत छन् ।
बुढाले २०६७ सालमा जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण, २०६८ सालमा भएको शहीद स्मृति रनिङ सिल्ड प्रतियोगितामा स्वर्ण, २०६९ सालमा भएको जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण, सातौँ मध्यपश्चिम विकास क्षेत्र स्तरीय क्षेत्रीय प्रतियोगिता २०७३ मा रजत, चौथो राष्ट्रिय रेफ्री हाप्किडो सेमिनारमा लिडरसिप अवार्डबाट सम्मानित, २०६९ सालमा काठमाडौंको दशरथ रंगशालामा भएको द्वितीय राष्ट्रिय प्रतियोगितामा काँस्य पदकबाट सम्मानित भएका थिए । उनको नेतृत्वमा दाङमा करिब दुई सय बढी मार्शल आटर््स् हाप्किडो संघमा आबद्ध खेलाडीहरु रहेका छन् ।
प्रस्तुती : लिलाधर वली