प्रेमको सागर जीवन

  •   
  •  

नारायणप्रसाद श्रेष्ठ

सिर्जनात्मक प्रतिभाको चैतन्य स्वरुप धैर्य र सहनशीलताको ज्वलन्त उदाहरण बनेर सृष्टिचक्रको इतिहासमा आएको मानव जीवन प्रेमको अर्को रुप हो । यो जन्म मरणलाई साक्षी राखी प्रेमको प्रतिमूर्ति बनेर आएको हुन्छ ।

प्रकृतिको उपहार बनेर विश्वास र भारोषालाई आधार बनाई हरेक सोच र दृष्टिकोणमा प्रकाशको उज्यालो सरी प्रस्तुत हुने मानव जीवन प्रेमको सागर हो । शान्त स्वरुप आत्माको पहिचान हो । यो समग्रमा एकताको प्रतीक हो । सृष्टिको सर्वोत्कृष्ट चिन्तनशील प्राणी पनि हो । जीवन र जगतलाई एकसूत्रमा बाँधी प्रेम र पवित्रतालाई बाँड्दै शान्ति र सद्भाव कायम गर्न सक्षम सजीव, ज्ञानी र विवेकशील आत्मतत्व मानव जीवन हो । यो समयको परिवर्तनसँगै गतिशील भइरहने परिवर्तनको सम्वाहक पनि हो ।

विधिको विधानलाई सार्थकता प्रदान गर्ने आधारशीला पनि जीवन हो । त्यसैले जीवनलाई बुझ्ने हरेक दृष्टिकोण र सोचाईलाई पवित्रताको धागोमा गाँस्दै एकअर्काप्रति विश्वास र भरोषा जगाउनु पर्छ । जीवनलाई प्रकृतिको अमूल्य सम्पत्ति मानी मन, वचन र कर्मले धैर्य र सहनशील भई विचारमा पवित्रता ल्याउनु पर्छ । प्रेम जीवनलाई सहज गति दिने मूल आधार भएको यथार्थलाई बुझी प्रत्येक व्यक्ति, समूह, प्रकृतिलगायतलाई प्रेमको डोरीमा बाँधी आस्था र विश्वासका साथ अघि बढ्नु पर्छ ।

सहज र सरल ढङ्गले एकअर्काप्रति समर्पित रहने संकल्पकर्ता पनि मानव जीवन भएकोले सत्यरुपी कर्मलाई जीवनोपयोगी मार्गमा लैजाने इच्छाशक्ति बढाउनु पर्छ । विषय वासनामा नलागी निःस्वार्थ र सन्तुलित जीवन शैली अपनाउनु पर्छ । सिर्जनात्मक प्रतिभाशाली भएर प्रेमको प्रर्याय भई प्रस्तुत हुनु पर्छ । बोलीमा नम्रता र व्यवहारमा शुद्धता ल्याई जीवन प्रेमको सागर हो भनी पहिचान दर्शाउनु पर्छ ।

प्रेम प्रदर्शन जीवनको उद्देश्य मात्र होइन सफलताको कडी पनि हो । जहाँ प्रेम हुन्छ त्यहाँ सोचाई, चिन्तन र हेराईमा सकारात्मकता हुन्छ । सकारात्मकताले धैर्य र सहनशीलतालाई जागृत गर्छ । सहनशीलता मानव जीवनको अमूल्य गहना पनि भएकोले यसलाई एकअर्काप्रति प्रेमको भाव पैदा हुने गरी शान्त स्वरुप आत्माको पवित्रतालाई सर्वत्र उजागर गर्नु पर्छ । एकअर्काबीचको सम्बन्धमा न्यानोपन ल्याई नयाँ परिवेशको उद्घाटन गर्न प्रेम सक्षम रहेको सत्य सबैमा जागृत रहनुपर्छ ।

क्षणिक समयको लागि पाहुना बनेर आएको मानव जीवनलाई प्रेमरसले भरिएको शीतल छहारी बनाउनु पर्छ । ज्ञान र विवेकरुपी प्रेमको डोरी बाँधिई समग्रमा एकताको प्रतीक स्वरुप पारदर्शी चिन्तक बन्नु पर्छ । गर्मी मौसममा खाने तर्भुजा (जो फर्सी आकारमा हुन्छ) जसलाई वाह्य आवरणमा विभिन्न रंगीविरंगी देखिन्छ तर त्यसको भित्री भाग एकैकिसिमको गुणिलो र सबैलाई शीतलता प्रदान गर्ने खालको हुन्छ ।

त्यसरी नै जीवन पनि सामाजिक पर्यावरणअनुसार विविध कर्मले बाँधिएको जस्तो देखिए पनि त्यसको भित्रि उद्देश्य प्रेम र पवित्रता तथा सर्वजनहिताय रहेको कुरा बिर्सनु हुँदैन । बाटो फरक हुन सक्छ, दृष्टिकोण अलग रहन सक्छ तर प्रेमको सागर बनेर आएको आत्माको गुणतत्व कदापि भुल्नु हुँदैन । क्षणिक समयको लागि अवतरित भएको मानव जीवन आज छ भोलि नहुनसक्छ । पञ्चतत्वले भरिएको हाडमासुको लौकीक शरीर कुनै पनि बेला नष्ट हुन सक्छ । हावामा हावा, पानीमा पानी, माटोमा माटो मिलेझैँ यो शरीर पनि जहाँबाट आएको हो त्यही प्रकृतिमा विर्षजन हुनसक्छ ।

जीवन नाटकको पात्रझैँ सृष्टिको पात्र पनि हो । यो नाटक सञ्चालन अवधिसम्म मात्र परिचालन भएको हुन्छ । तत्पश्चात ऊ पुनः आफ्नै घरसंसारमा पुग्न वाध्य भएको हुन्छ । यो वाध्यता अरुले गराएको होइन, यो त प्रकृतिको नियम नै हो । त्यसैले शून्यबाट शून्य भएर शून्यमा विलय हुने सत्यलाई बुझी आत्माले चिनारी दिएको प्रेमको पवित्रतारुपी जीवन डुङ्गलाई अरुको सहयोगी र विश्वास पात्र बनाउनु पर्छ । हुन त कतिपयले आदर्श कुरा र व्यवहारमा अन्तर हुन्छ भन्ने गरेको पनि पाइन्छ ।

मनलाई इच्छा र सम्बन्धले भड्काएको हुन्छ भन्ने विचार सम्प्रेषण गरेको पनि पाइन्छ । तर यथार्थमा विवेकी बनेर जीवन प्रेम हो, प्रेम नै जीवनको उद्देश्य हो भन्ने सत्यलाई गहिरिएर बुझ्ने हो भने जीवन प्रेमको अर्को रुप हो भन्ने गरेको पनि पाइन्छ । मानव जीवनले अंगीकार गरेको कर्म र व्यवहार वर्तमान समयसम्म जे भएको छ राम्रै भएको छ र जे हुनेवाला छ त्यो पनि राम्रैको लागि हुनेवाला छ भनी दृढसंकल्परत रहेर बाँच्न र बचाउने आधारमा रहेको प्रेमको कसौटीमा खरो उत्रनु पर्छ । वाह्य आशक्तिमा रमेर होइन अन्तरआत्माको सात्यलाई पहिचान गरी त्याग र समर्पणमा आधारित जीवन चरित्र निर्माणमा सदैव सकारात्मक भएर अभ्यासरत हुनु पर्छ ।

मानव जीवन प्रेम र खुशीको उद्गमस्थल हुनुका साथै विश्वास र भरोषाको सागर पनि हो । जीवनको सहयात्री बनेर प्रकृतिको उपहारलाई आलिंगन गर्दै अघि बढ्ने सत्य पनि हो । अकवरी सूनलाई कसी लगाउनु पर्दैन भनेझैँ प्रेम र सद्भाव बाँड्दै जीवनलाई अघि बढाएको प्रेमको पवित्रतामाथि कुनै पनि प्रश्न उठाउन सकिँदैन । किनकि जीवन प्रकृतिको उपहार मात्र नभएर यावत प्रश्नको उत्तर पनि हो, ज्ञानको भण्डार हो, सहायको सहाय हो, व्यघ्रता र रोगको निदान पनि हो ।

त्यसैले जीवनले निर्वाह गर्न खोजेको गतिलाई प्रेमको कसिलो डोरीले बाँध्दै अन्तर चछुले देखेको सत्य उजागर गर्न सबैले आफूलाई प्रस्तुत गर्ने गराउनु पर्छ । यसो भएमा वाह्य आवरणमा सजाइएको मायाको वहुरुपी जालोलाई सजिलै तोड्न सकिन्छ । क्षणिक मोहले उत्पन्न हुन खोज्ने आवेग र मोहलाई त्याग गर्न सकिन्छ । यदि हामीले वाह्य आवरणमा रहेको भौतिक मोह र मायाको वहुरुपी जाललाई जीवनको उद्देश्यसँग गाँसेर अघि बढ्यौँ भने यसले अन्ततोगत्वा दुःखको भूमरीमा पछार्न पुग्छ, मानव जीवन पीडित बन्न पुग्छ । क्षणिक लालच र आशक्तिले मानव जीवनलाई क्षय बनाउन सक्छ ।

त्यसैले चर्मदृष्टिले देखेको सबै वस्तु सुन्दर हुँदैनन् र सत्य पनि हुँदैनन् भन्ने बुझी क्षणिक मोहले देखाउने मृगतृष्णाप्रति ध्यान दिनु हुँदैन । जीवनलाई पतनको बाटोमा अग्रसर गराउने मायारुपी चिन्तनलाई आफूसँग हिमचिम गराउनु हुँदैन ।

प्रेम जीवनको अर्को रुप सत्य पनि हो । जसको आदि छ न अन्त्य नै छ । यो सबै कालखण्डमा मानवजीवन भित्रको आत्मतत्वसँगै विराजमान भइरहेको हुन्छ । यसैको आधारमा समस्त भूगोल, जीव, चराचर जगत चलायमान भएको हुन्छ । क्षणिक मोहको मायाजालमा फसी कोही कसैले कसैप्रति तिरस्कार गरे पनि प्रेमरुपी जीवनडुङ्गालाई सहज अवतरण गर्न मानिसलाई यसले निर्दिष्ट गरेकै हुन्छ । भूल, पश्चाताप र क्षमा माग्दै एकअर्काप्रति सहयोग र सद्भाव कायम गर्न लागेकै हुन्छ ।

त्यसैले यसको गरिमा र महत्वलाई बुझी प्रेम पवित्रभित्र गतिशील भइरहने जीवनको सत्यतालाई महशुस गर्ने वातावरण बनाउनु पर्छ । सधैँ प्रशन्न र प्रफुल्ल रही अन्तरहृदयभित्र लुकेको ज्ञान सागरलाई अरुको भलाई खातिर समर्पित रहनु पर्छ । वाह्य आवरणमा भड्किरहेको जीवनको तरंग वा समयको परिवर्तनसँगै परिवर्तन भइरहने स्वार्थपरक चिन्तनबाट उब्जिएको विचारलाई बुझी शान्ति र सद्भावमा बाच्न चाहने हृदयभित्रको सत्यलाई पहिचान गर्नु पर्छ । हतास र निराषामा होइन आशा र भारोषाका साथ आफूलाई प्रस्तुत गर्नु पर्छ ।

जीवनमा आइपर्ने चुनौती र समस्यालाई अवसरको रुपमा लिई प्रेम र शान्तिको मूलधारमा रहेको शान्त स्वरुप जीवनको गतिलाई निरन्तरता दिनु पर्छ । स्वार्थ चिन्तनबाट उब्जने परिस्थितिलाई बुझेर प्रेमरुपी जीवनको गतिलाई एक किनाराबाट अर्को किनारामा पु¥याउनु पर्छ । त्याग र समर्पित आत्माले नै सच्चा प्रेमभाव जगाउन प्रेरित गरिरहेको हुन्छ । त्यसैले परचिन्तन गरी वातावरणलाई खराब गरी आत्मसन्तुष्टि लिनु भनेको स्वार्थकेन्द्रित जीवन व्यतीत गर्नु हो । यो सत्यलाई कदापि बिर्सनु हुँदैन ।

तसर्थ, आत्मचिन्तन गरी सत्मार्गको पहिचान गराउने प्रेमको सत्यलाई बुझी आफूले आफैलाई कुरा गर्ने बानीको विकास गर्नु पर्छ । हरेक आत्माप्रति शुभभाव राखेर तथा रचना र रचयिताको ज्ञानको स्मरण गरेर जीवन र जगतलाई हेर्ने दृष्टिकोण जागृत गर्नु पर्छ । समयले यही सन्देश दिन खोजेको छ, चेतना भया ।