घोराही, ११ फागुन । बेवारिसे मानवहरूको सेवामा समर्पीत मानव कल्याण सेवा समाज सेवा घरलाई दाङ महिला जेसीजले विभिन्न सामाग्रीहरू हस्तान्तरण गरेको छ ।
मंगलवार सेवा घरमा एक कार्यक्रमको आयोजना गरि सेवा घरकालागी आवश्यक सामाग्रीहरू हस्तान्तरण गरेको हो । दाङ महिला जेसीजका अध्यक्ष ममता विष्टको अध्यक्षता एवं मानव कल्याण समाज सेवा घरका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईको प्रमख आतिथ्यतामा भएको कार्यक्रममा लत्ताकपडा र खाद्यान्न हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने मान्यताकासाथ सामाजिक कार्यमा क्रियाशील जेसिजले मानव सेवा घरका आवश्यक सामाग्री सहयोग गरेकोमा प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कार्यमा क्रियाशीलताको निरन्तरताको शुभकामना व्यक्त गरेका थिए । मानव सेवा घरले दाङमा शाखा स्थापना गरेर सडक मानवको सेवामा समर्पीत भएकोमा खुशी व्यक्त गर्दै सेवा घरलाई निरन्तरताकोलागी सबैको सहयोग आवश्यक भएको उनीहरूको भनाई थियो ।
कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश शर्मा, दाङ महिला जेसिजका निवर्तमान अध्यक्ष जीवा भुषालले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संयोजक दिलु मल्लको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा कोष वृद्धि सभापति सुमीता गिरीले आस्था पाठ गराएकी थिइन ।
कार्यक्रममा सहभागीहरूलाई कार्यकारिणी उपाध्यक्ष जुनु बुढा मगरले धन्यवाद ज्ञापन गरेकी थिइन भने कार्यक्रमको सहजिकरण महासचिव सुनिता थापाले गरेकी थिइन। जसकालागि रेशमराज पाण्डेले ४ थान लत्ताकपडा सहयोग गरेका थिए ।