स्थानीय तहमा राजश्व संकलन न्यून

  •   
  •  

अमरराज आचार्य

दाङ, ८ फागुन । जिल्लाका स्थानीय तहहरुमा राजश्व संकलन स्थानीय तहहरुले लिएको लक्ष्यको आधा पनि हुन सकेको छैन । तर स्थानीय पालिकाहरुले भने अवैधानिक कर अशुल्दै आएको पनि अवस्था देखिएको छ, यसको मुद्दा न्यायालयसम्म पनि पुगेको छ । वैधानिक कर व्यवस्थापन गर्न नसक्दा अब पालिकाहरु नै कर विवादको घेरामा तानिन थालेका छन् ।

चालु आर्थिक वर्षको ७ महिना बितिसक्दा पनि स्थानीय तहहरुले लिएको राजश्व संकलन गर्ने लक्ष्यको आधा पनि राजश्व संकलन हुन नसकेको हो । चालु आर्थिक वर्ष २०७७÷०७८ को ७ महिना सकिँदा समेत स्थानीय तहहरुले लिएको राजश्व संकलनकोे आधा पनि राजश्व उठ्न नसक्दा स्थानीय तहहरुले राजश्व संकलनको लक्ष्य पूरा नहुने हो कि भन्ने चिन्तामा स्थानीय तहहरु रहेका छन् । राजपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ को माघ मसान्तसम्म २६ लाख १५ हजार ४० रुपैयाँ राजश्व संकलन गरेको गाउँपालिकाका सूचना अधिकारी महेश थापा ठडीले जानकारी दिए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । जुन पालिकाले लिएको लक्ष्यभन्दा कम रहेको उनको भनाइ रहेको छ । ‘अहिलेसम्म थोरै मात्रामा राजश्व संकलन भएको छ’–सूचना अधिकारी थापाले भने । यसरी हालसम्म राजश्व संकलन कम मात्रामा भएपछि पालिकाले लिएको लक्ष्य पुरा नहुने हो कि भन्ने आशंका गाउँपालिकाले गर्न थालेको छ । भौगोलिक रुपमा समेत पछाडि परेको गाउँपालिकामा राजश्वको स्रोतको पनि कमी रहेको उनको भनाई छ ।

‘हाम्रो पालिकामा राजश्वका स्रोतहरु पनि कम रहेका छन्, त्यसैले अन्य पालिकाको तुलनामा लक्ष्य पनि थोरै रहेको छ’–उनले भने । गाउँपालिकाले अहिले नदीजन्य ठेक्का नलगाएको कारण पनि राजश्व संकलन कम भएको थापाको भनाइ छ । ‘गाउँपालिकाले हालसम्म नदीजन्य वस्तुको ठेक्का लगाइएको छैन, यसैबाट धेरै राजश्व आउने गर्दछ’–सूचना अधिकारी थापाले भने । यसैगरेर कोभिडको कारणले पनि राजश्व संकलनमा कमी भएको उनले बताए । कोभिडको कारणले नागरिकले तिर्नुपर्ने राजश्व पनि सबैले तिरेका छैनन् ।

तुलसीपुर उपमहानगरपालिकामा पनि लक्ष्य अनुसार राजश्व संकलन हुनसकेको छैन । तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ३० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । हालसम्म करिव १० करोड राजश्व संकलन भएको तुलसीपुर उपमहानगरपालिका राजश्व अधिकृत भीमप्रसाद खत्रीले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाले ८ करोड ३१ लाख ४१ हजार एक सय ८८ रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।

मालपोत कार्यालयबाट आउनुपर्ने गरी करिब १० करोड बराबर राजश्व संकलन हुने उनको भनाइ रहेको छ । कोभिडको कारण नागरिकले राजश्व समेत समयमा बुझाएका छैनन् । नगरबासीले तिर्नुपर्ने घरवहाल कर, व्यावसायिक करलगायतका राजश्व पनि नतिरेका कारण राजश्व संकलनमा कमी भएको राजश्व अधिकृत खत्री बताउँछन् । यसैगरेर उपमहानगरपालिकाले नदीजन्य पदार्थहरुको हालसम्म ठेक्का लगाइएको छैन ।

नदीजन्य पदार्थहरुबाट राजश्व धेरै उठ्ने गर्दछ । नदीजन्य पदार्थको ठेक्का लगाउनका लागि आइइई गर्ने कार्य जारी रहेको उनको भनाई रहेको छ । आइइई गरी सकिएपछि नदीजन्य पदार्थहरुको ठेक्का लगाइने उनले बताए । ‘नदीजन्य पदार्थको ठेक्का भएपछि राजश्व पनि बढ्ने छ’–खत्रीले भने । जिल्लाका अन्य पालिकाहरु पनि राजश्व संकलनको अवस्था उस्तै रहेको पालिकाहरुले बताएका छन् ।

अनलाइन सिष्टम नहुँदा समस्या

बबई गाउँपालिकामा अनलाइन सिष्टम अझै हुनसकेको छैन । भौगोलिकका कारणले इन्टरनेटको सुविधा पुग्न नसकेकाले अनलाइन सिष्टम सञ्चालन हुन नसकेको लेखा अधिकृत खिमलाल वलीले जानकारी दिए । ‘सबै वडामा नेट सुविधा नहुँदा अनलाइन सिष्टम लागू हुनसकेको छैन’–उनले भने । आउँदो आर्थिक वर्षदेखि अनलाइन सिष्टम लागू गर्ने योजना रहेको उनले बताए ।

अनलाइ सिष्टम नहुँदा आम्दानी, खर्च के–कति भनेर छुट्याउन समेत धेरै समय लाग्ने उनले बताए । ‘अनलाइन सिष्टम नहुँदा समस्या छ’–वलीले भने । अहिले वडा कार्यालयमा नगदी रसिद काटेर राजश्व लिने गरिएको उनले बताए । यसरी लिएको रकमको बारेमा गाउँपालिकालाई जानकारी दिने गरेको उनी बताउँछन् ।